|

पर्सा : तराई-मधेशको मुख्य पर्वका रूपमा मनाइँदै आएको छठ पर्व शुरु भएको छ। यो वर्ष कार्तिक २५ गते आइतबार चतुर्थीका दिन नुहाईधुवाई (नहाएखाए) गरी शुरु भएको हो। 

छठ पर्वको सबैभन्दा मुख्य दिन यही षष्ठी तिथिका दिन हुनेछ। यो दिन अर्थात् पर्सी मंगलबार ब्रतालु भक्तजनहरूले नजिकको खोला/नाला वा तलाउमा गई साँझको सूर्यलाई अर्घ दिई मनाउने छन्। त्यसको भोलिपल्ट सप्तमीका दिन बिहानको सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठपर्व सम्पन्न हुने स्थानीय पण्डित ज्योति सम्राट पुरूषोत्तम दुवेले बताए। पात्रोमा पनि पण्डित दुवेले भनेअनुसार नै उल्लेख गरिएको पनि छ। खास गरी यो पर्वमा चतुर्थीदेखि सप्तमीसम्म चारदिन विशेष ब्रत गरी मनाइने चलन छ। 

छठ पर्वमा मुख्य प्रसादका रूपमा स्थानीय किसानले खेतवारीमा उब्जाएका अन्नपात अर्थात अदुवा, केरा, केराउ, विमिरो, नरिवलजस्ता सामग्री विशेष प्रयोग गरिने छन्। शहर बजारका श्रद्धालु भक्तजनलाई पनि यो पर्वमा यही सामग्री आवश्यक पर्ने हुनाले कृषकले खेतवारीमा उब्जाएर यस्ता सामग्रीका साथै माटो र चोयाबाट बनाइएका कलश, दियो, हात्ती, ढाकी (दौरी) ले यतिबेला बजार ढाकेको छ। छठ पर्वको मुख्य दिन षष्ठीको सझिया घाटमा सूर्यलाई अर्घ दिने खोला नाला र तलाउ पनि अहिले सजाउने काम भइरहेको छ। 

पछिल्लो समयमा तराईमा मात्र नभएर पहाड र राजधानी काठमाडाैंमा पनि विशेष रूपले मनाइने पर्व छठको लागि पर्साको वीरगन्जलगायत मध्य तराईका बारा, पर्सा, रौतहट र पूर्वी तराईका धनुषा, महोत्तरी सिराहालगायतका मानिसले छठको सामग्री जोहो गर्न थालेका छन्। छठ पर्व गर्नाले चर्मरोगलगायतका रोगव्याधीबाट मुक्ति मिल्नुका साथै मनले इच्छाएको मनोकामना पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.