|

पाँचथर : उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेलले १६ औँ राष्ट्रिय विभूती तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनलाई महामानव भनेका छन्। लिङ्देनको १३४ औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समाज सुधारक, किरात धर्म दर्शनका प्रचारक, मातृभाषा शिक्षाको अगुवा भन्दै लिङ्देनलाई महामानव भनेका हुन्।

उनले लिङ्देन स्वर्गवास भए पनि उनको विचार, सत्कर्म र सत्यधर्म मुचुल्का समाजमा रहेको बताए। ‘समाजमा अहिले पनि धर्मधर्मबीच आगो सल्काउने, जाति जातिबीच लडाउने तत्त्वहरू पनि छन्’ उनले भने, ‘महागुरु लिङ्देन जस्ता महामानवहरूको मुलुकलाई आवश्यकता परेको छ,तर पनि उहाँ नभए पनि उहाँका विचार,सत्कर्म र सत्यधर्म मुचुल्का हामी माझ छँदैछ।’

उनले लिङ्देनको जन्मजयन्ती समारोहमा सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई शुभकामना पनि व्यक्त गरे। फरक प्रसङ्गमा मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनु पर्नेमा जोड दिए। बहुमत प्राप्त दल सत्तामा रहे पनि एक्लैले मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने उल्लेख गरे। ‘निर्वाचनको बेला जनताबाट विश्वासको मत प्राप्त गर्ने विजयी हुन्छ, प्राप्त नर्गे पराजय। यो निर्वाचनको कुरा छाडेर मुलुकको आर्थिक समृद्धिमा एकाकार भएर सबै दल जोडिनुपर्छ’ उनले भने। उनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) निर्वाचनको क्रममा व्यक्त गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्न नचुक्ने पनि दावी गरे।

लिङ्देनको जन्मजयन्ती समारोहलाई नेकपा नेता सुबासचन्द्र नेम्बाङले पनि सम्बोधन गर्दै आफूले लिङ्देनले समाज सुधार, किरात धर्म दर्शनलगायत क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै राष्ट्रिय विभूतीका लागि अगुवाई गरेर र अन्ततः सरकारले राष्ट्रिय विभूती घोषणा गरेर उनलाई उच्च सम्मान दिएको बताए।

किरात धर्म गुरु आत्मानन्द लिङदेनले फाल्गुनन्द लिङदेनलाई युगले जन्माएको धार्मिक र सामाजिक अगुवा भएको बताए। जन्मजयन्ती समारोह पहिले लिङ्देनको फिदिमको गडीमा रहेको मेची इङलिस बोर्डिङ स्कुलको प्राङ्गण निर्माण गरिएको शालिकको किरात धर्म गुरु आत्मानन्द र फिदिमकै शनिबारेमा निर्माण गरिएको शालिकको अनावरण उपप्रधानमन्त्री पोखरेलले गरेका थिए। जन्मजयन्ती र शालिक अनावरण कार्यक्रममा नेपालसहित भारत, अमेरिका, हङ्कङ, युके, भुटान, अष्ट्रेलियालगायत देशबाट किरात धर्मावलम्बी भक्तजनहरू सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.