|

काठमाडौं : नेपाल प्रहरीका एक अधिकारीसँग लेनदेनमा विवादपछि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंको हिरासतमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले मृतकका परिवारलाई गुपचुप रुपैयाँ दिएर शव बुझ्न लगाएको छ। 

प्रहरी हिरासतमा मृत्यु भएका काठमाडौं तारकेश्वर नगरपालिका ११ का रवीन्द्रकुमार ढुंगानाको परिवारलाई प्रहरीले २७ लाख रुपैयाँ सुटुक्क 'क्षतिपुर्ती' दिएर मिलाएको पाइएको हो। 

प्रहरी अस्पताल महाराजंगमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्की मिटर ब्याजमा रुपैयाँ लगाउने काम गर्थे। त्यहिँ क्रममा कार्कीसँग ढुंगानाले पाँच लाख रुपैयाँ ब्याजमा लिएका थिए। उक्त रकमको ब्याज नपाएपछि असई कार्कीले ढुंगानासँग केहीदिन अघि चेक काट्न लगाएको र सोही चेक बाउन्स गराएर ढुंगानालाई पक्राउ गरेका थिए।

कात्तिक १८ मा प्रहरी अस्पताल महाराजगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्कीसहित बालाजु प्रहरी वृत्तले ढुंगानालाई पक्राउ गरेको थियो। उनलाई घरबाटै पक्राउ गरिएको थियो। ढुंगाना १९ गते महानगरीय प्रहरी परिसरको हिरासतमा बिरामी परेका थिए। उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो जहाँ उनको मृत्यु भयो।

सुरुमा रवीन्द्रको मृत्यु रहस्यमय भएको आरोप लगाउँदै उनको परिवारले शव बुझ्न मानेका थिएनन्। शव शिक्षण अस्पताल महारागंजमा राखिएको थियो। तर, आइतबार प्रहरी परिसर काठमाडौंमा असई कार्कीले २७ लाख रुपैयाँ क्षतिपुर्ती दिने गरी सम्झौता गराएर परिवारलाई शव बुझ्न लगाइएको छ। रवीन्द्रको परिवारले पनि आइतबार नै शव बुझ्ने गरी सम्झौता गरेको प्रहरी परिसर स्रोतले जानकारी दियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले भने जाहेरीकर्ता सुरेन्द्र कार्की र पीडितपक्षबीच के सहमती भयो भन्नेबारे प्रहरी परिसरलाई जानकारी नभएको बताए। ‘कार्तिक १८ गते नेपाल प्रहरी अस्पतालमा कार्यरत असई कार्कीको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा रवीन्द्रकुमार ढुंगानालाई प्रहरीले पक्राउ पुर्जी लिएर नै पक्राउ गरेको हो। उनको हृदयघात भएर वीर अस्पतालमा मृत्यु भएको हो। यसमा प्रहरीको कुनै कमजोरी छैन’, प्रवक्ता बोगटीले थपे, ’हिजो अस्तिसम्म परिवारमा प्रहरीको लापरबाहीका कारण ढुंगानाको मृत्यु भयो भन्ने लागेको थियो, आज सबै कुरा बुझाउँदा उनीहरू सहमत भएपछि पीडितले शव बुझेका हुन्।’

प्रहरी परिसर स्रोतका अनुसार आइतबार पीडित पक्ष र असई कार्कीलाई काठमाडौं परिसरमै बोलाएर क्षतिपूर्तीमा बार्गेनिङ गरेर मिलापत्र गराएको थियो। यसअघि असई कार्कीका कारण रवीन्द्रकुमार ढुंगानाको मृत्यु भएको भन्दै मृतकका आफन्तले काठमाडौं प्रहरी परिसरमा जाहेरीसमेत दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.