|

काठमाडौं : साउन १२ गते प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले रुघाखोकी निको पार्ने औषधि बनाउने स्युडोफेडिन चार सय ९१ किलोग्रामसहित पाँच जना पक्राउ गर्‍यो। जब औषधि बनाउने नाममा लागू औषधको कारोबार भएको थाहा पायो प्रहरी समेत चकित पर्‍यो।

यो कारोबारमा औषधि उत्पादक नै सहभागी भएको रहस्य पनि पत्ता लगायो। संघाई ग्रुपका पवन संघाई, उनका दाजु रतन संघाईले औषधिको आवरणमा लागूऔषधको कारोबार गरिरहेको प्रहरीले पत्ता लगायो।

प्रहरीले यो घटना अनुसन्धानका लागि अपरेसन नै सुरु गर्‍यो। जसको नाम राख्यो अपरेसन स्युडो। लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दलाई कतिपय साथीका छोराछोरी नै लागू औषधको कुलतमा फसेका थिए। चन्दसँग उनीहरुले बारम्बार सहयोग माग्थे - कुलतमा फसेकाहरुलाई सही बाटोमा फर्काउनुपर्‍यो।

‘कतिको घर बिग्रेको देखेका थिए’, उनले भने ‘घरको खुशीनै हराइसकेको देख्थेँ, धेरै साथीहरुको पीडा सुनेको थिएँ।’ उनलाई लागूऔषध कारोबार विरुद्ध केही गर्ने प्रण त्यही साथीहरुको पीडाले दिएको थियो।

कसरी भयो स्युडो अपरेसन?

कानुनको छिद्र खोज्दै नेपालमा धेरै अपराध हुने गरेका छन् भन्नेमा डिआइजी चन्द जानकार नै थिए। तर औषधि बनाउने रसायनकै मिसयुज भइरहेको छ भन्नेबारे भने सामान्य सूचना मात्र थियो। एक महिनाको प्रयासबाट बारा जितपुरको आर्या फर्मा ल्याबमा औषधिको कच्चा पदार्थ र सहायक रसायन नै बिक्री भएको पत्ता लगायो।

चन्दले स्युडोफेडिन किन्ने डिल गर्न आर्या फर्माका मोहित हलानसमक्ष सादा पोशाकका प्रहरी खटाए। सानो परिमाणमा बिक्री नगर्ने भनेपछि उनीहरु ठूलै परिमाणमा किन्न राजी भई फर्किए।

‘हलानले २० किलोसम्म दिने भनेपछि हामीले त्यही अनुसारको पैसा जोहो गर्नतिर लाग्यौ’ चन्दले भने ‘२४–२५ लाख रुपैयाँ जम्मा पारेर स्युडोफेडिन किनेर ल्यायौं। त्यसलाई ल्याब टेस्टमा पठाउँदा लागूऔषध यकिन भयो।’

प्रहरीले मोहित हलानलाई तत्काल पक्राउ गर्‍यो। उनलाई सहयोग गर्ने तीन जना पनि पक्राउ परे। उनीहरुकै बयान लिएपछि पाटनऔद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानाको गोदाममा चार किलो ७१ किलो ८८ ग्राम औषधीजन्य कच्चा पदार्थ फेला पर्‍यो।

त्यो रसायन लागूऔषध हो कि होइन भनेर जाँच गर्दा एक दिन बितिसकेको थियो। त्यतिबेलासम्म आर्या फर्माका सञ्चालक पवन संघाई फरार भइसकेका थिए।

औषधी बनाउने रसायन सरकारको स्वीकृतिमा मात्र ल्याउन पाइन्छ। यस्ता रसायन जति ल्यायो त्यत्ति परिमाणको औषधि बनाउनुपर्ने हुन्छ। यस अनुसार उनीहरुले एक किलोग्राम स्युडोफेडिनबाट हजार ट्याब्लेट औषधि बनाउनुपर्ने हुन्थ्यो।

तर यसरी दुरुपयोग गरेर एम्पिटामाइन भन्ने आइस ड्रग्स् बनाउने गरिन्छ। बजारमा एक ग्रामको २० हजार रुपैयाँ पर्ने ड्रग्स् बनाउन नै यसरी अवैध रुपमा बिक्री वितरण गर्ने गरेको रहेछ। यो नयाँ किसिमको लागूऔषधको पूर्वी एसिया, अष्ट्रेलिया र युरोपमा धेरै माग छ।

अपरेसन स्युडो सञ्चालन गरेपछि प्रहरीले यस घटनामा संलग्न रतन संघाइसहित ४ जनालाई पक्राउ गर्न सफल भयो भने आर्या फर्माका मुख्य सञ्चालक पवन संघाई फरार छन्। पक्राउ परेकाहरुमाथ अनुसन्धान भइरहेको छ।

फितलो कानून कारण

एम्पिटामाइन लागूऔषध कारोबारीलाई हाम्रो देशमा दुई देखि १० वर्षसम्मको सजाय तोकिएको छ। डिआइजी चन्दकानुन फितलो भएका कारण लागू औषध कारोबार बढेको बताउँछन्।‘कानून कडा भएन, अन्य देशमा त मृत्युदण्डसम्मको कानुन हुँदा त अपराध भइरहेका छन्, हाम्रोमा त्यस्तो नहुँदा अपराध मौलाइरहेको छ’, उनले भने।

उनका अनुसार नेपालमा अपराध गरेर पक्राउ परिहाले पनि मर्न चाहिँ पर्दैन भने अर्कोतिर सजाय पनि कम छ। मर्न पनि नपर्ने र सजाय पनि कम हुने ठानेर धेरैले अपराधका लागि नेपाल छान्ने गरेको उनको अनुभव छ।

स्याम्पुदेखि माछाको धागोसम्म कोकिन

डिआइजी चन्द लागूऔषध नियन्त्रण ब्युरो प्रमुख भएको आठ महिना भयो। आठ महिनाको बीचमा उनले अपरेसन आइस सञ्चालन गरेर थाइल्याडमा बसेर लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह चलाइरहेका धर्म पाख्रिनका भाई शुक्र पाख्रिनलाई ५० लाखसहित पक्राउ गर्न सफल भए। पाख्रिन समूहका अन्य दुई जनालाई पनि पक्राउ गरी सञ्जाल भत्काइएको चन्द दावी गर्छन्।

पाख्रिनले स्याम्पुभित्र लुकाएर लैजान लागेको पाँच करोड ४० लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी, अष्ट्रेलिया लान लागिएको मेथाफेटामाइनसहित अष्ट्रेलियन नागरिकसमेत पक्राउ गरेका थिए।

अपरेसन फिस अर्को त्यस्तै घटना हो। माछाको धागोमा लुकाएर दुई किलो छ सय ८३ ग्राम कोकिनसहित एक भेनेजुयलाकी महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी थिइन्। यसको ब्याकग्राउण्ड इन्फर्मेसन थप्नुपर्नेछ।

जसको घरमा मासु चल्दैन

डिआइजी चन्द दशैंमा घर नगएको ३० वर्ष भयो। ‘देश सेवामा लाग्छु भनेपछि चाडपर्वमा घर जान पाइन भनेर के गुनासो गर्नु?’, उनी भन्छन् ‘देशको लागि मैले यत्रो त्याग गरेको छु यसले गर्दा मलाई जीवनमा शान्ति दिन्छ, म आनन्दित हुन्छु।’

विहे गरेको २६ वर्ष भएपनि छुट्टि लिएर पत्नीसँग एक दिन घुम्न नगएको चन्द बताउँछन्। पत्नी शाकाहारी र पूजापाठमा मन लगाउने भएकाले दशैंमा घरमा काटमार चल्दैन। त्यसैले उनी मासु खान मन लाग्दा घर बाहिर नै खान्छन्। ‘मेरो घरमा माछा मासु चल्दैन। पाहुना गए भने छुट्टै बाहिर पकाएर खानुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.