|

उदयपुर : रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एल्जिना हत्याको अनुसन्धान गर्न प्रहरी र चिकित्सकको टोली घटनास्थल पुगेपछि प्रहरीले यस्तो बताएको हो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत घटनास्थल लगेर अनुसन्धान अगाडि बढाएको छ।

गत शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव आइतबार (२५ गते) फेला परेको थियो। एल्जिनाको मुखमा हात पुछ्ने कागज (न्याप्किन) खादेको अवस्थामा शव फेला परेको थियो।

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बलात्कारपछि हत्या भएको भन्ने सर्वसाधारणको आशंका भएकाले घटनास्थलमा चिकित्सक र प्रहरीको तालिम प्राप्त कुकुर पठाइएको बताए। ‘बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ’, उनले भने, ‘शव भएको स्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृतहरू जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएका छन्।’

प्रहरीले पनि एल्जिना हत्याको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ। घटनास्थल पुगेका प्रहरीले पनि बलात्कारपछि हत्या भएको भनेका छन्, के भएको भन्ने बारेमा अनुसन्धान नभइकन भन्न मिल्दैन।’

शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला जंगलमा मृत फेला परेकी थिइन। साँझसम्म एल्जिना घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्छ।

'शवको प्रकृति बलात्कारपछि हत्याको'

शव भेटिएको ठाउँमा पुगेका स्थानीयले एल्जिनाको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। घटनास्थलमा पुगेका रौतामाई गाँउपालिका ३ लाफागाँउका स्थानीय राजकुमार राईले भने, 'घाँटी, थिचेको, मुखमा केही कपडाले मुख थुनेको, कपडा खोलिएको जस्तो देखिएकाले बलात्कारपछि हत्या भएको देखिन्छ।’ यता रौतामाई गाँउपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले पनि शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिने बताए। ‘हामी सबै घटनास्थलमै छौँ’, उनले भने, ‘के भएको भन्ने कुरा प्रहरीले भन्ने हो, हामीले शव शेर्दा हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ।’

यस्तो छ, घटनाको प्रकृति

जनता मावि, लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना खड्का शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन्। दिदीभाइले भैँसी र घरको काम गर्ने भनेपछि माइली एल्जिना बाख्रा चराउन गएको परिवारले बताएको छ।

मृतक बालिकाका बुबा दुर्गाबहादुर भने मोटरसाईकल दुर्घटनामा परेकाले त्रियुगा नगरपालिका ७ चुहाडेको घरमा आराम गरेर बसेका थिए। आमा तिहारको भाइटीका लगाउन लाफागाउँमै रहेको माइती घर गएकी थिइन्।

गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउमा खरबारी भएकाले कसैलै पनि चासो दिएका थिएनन्। त्यहिँ खरबारी, जहाँ सडकबाट २०० मिटर पर रहेको सालको रुखमुनी एल्जिना मृत फेला परेकी थिइन्। साँझसम्म नआएपछि सबैले खोजतलास गरे तर कसैले फेला पारेनन्। आइतबार ठुलो बुबा वडाध्यक्ष दुर्गाराज सहितको टोलीले खोजतलास गर्दा उनी मृत फेला परेकी हुन्।

उदयपुरमा बलात्कारका घटना बढे

आर्थिक वर्ष २०७४/७५ मा उदयपुरमा बलात्कारका २९ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्। जसमा ३१ जना पक्राउ परेका छन् भने ७ जना अभियुक्त अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

चालु आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखाकी प्रमुख प्रहरी सहायक निरीक्षक उमा गुरुङका अनुसार १९ वटा बलात्कारका घटना भएका छन्। उनका अनुसार त्यस्ता घटनाका पीडित बढीजसो बालिका रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.