|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेको खेमाका नेताहरू पुनः एकजुट हुन थालेका छन्। २० कात्तिकमा भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले प्रक्रियाविपरीत विजयकुमार गच्छदारलाई उपसभापति बनाएको भन्दै असन्तुष्ट बनेका इतरका नेताहरू एक ठाउँमा जुटेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, डा.शेखर कोइराला, सुजता कोइराला, डा. रामशरण महतले ‘लन्च’सँगै छलफल गरेका हुन्। सुजता कोइरालाको निवास मण्डिखाटारमा भएको ‘लन्च’ छलफलमा सभापतिको खरो विरोध गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएनन्। उनी झापामा भएका कारण बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए।

लन्च छलफलमा सभापतिको पछिल्लो गतिविधिको विषयमा छलफल भएको छलफलमा सहभागी नेता केसीले जानकारी दिए। ‘विधि र प्रक्रिया एकातिर छ। पार्टी संस्थागत ढंगले चलेन’, उनले भने, ‘सभापति आफैँ चल्नुभएको छ। यो विषयमा हामीले छलफल गर्‍यौं।’

छलफलमा अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि कुरा भएको बताइएको छ। सभापतिले विधि र प्रक्रियाविपरीत उपसभापति मनोनीत गरेपछि महासमिति बैठकका लागि पनि इतरका नेताहरूले धारणा बनाइरहेको बताइएको छ। देउवाइतर समूहका नेताहरू महासमिति बैठकमा सभापति देउवालाई जसरी पनि कमजोर देखाउने पक्षमा छन्। यसका निम्ति उनीहरू आफू निकटका नेता तथा केही सिनियर महासमिति सदस्यहरूसँग पनि छलफल गरिरहेका छन्।

‘लन्च’ बैठकमा नेपाल विद्यार्थी संघको विषयमा पनि छलफल भएको थियो। मंसिर २ गते कार्यकाल सकिँदै गरेको नेविसंघमा अब के गर्ने भन्नेबारे पनि छलफल भएको थियो। नेताहरूले नेविसंघमा अब समानान्तर समिति बनाउने चेतावनीसमेत दिएका छन्। संस्थापन समूहले पेलेर आफू निकटका विद्यार्थी नेताको नाम टाँसे समानान्तर समिति बनाउने छलफल गरेका थिए। ‘नेतृत्वले पेलेर आफ्ना मान्छेको नाम टाँसेर नेविसंघ बनायो भने देशभरका विद्यार्थी साथीहरू सहेर बस्दैनन्’, केसीको भनाइलाई उदृत गर्दै बैठकमा सहभागी विद्यार्थी नेता निरञ्जन थापाले भने, ‘यस्तो अवस्थामा समानान्त समिति बने त्यसको जिम्मेवारी वर्तमान पार्टी नेतृत्वले लिनुपर्छ।’

‘लन्च’ छलफलसँगै सुजता कोइराला पनि देउवासँग असन्तुष्ट खेमासँग नजिक भएकी छन्। यसअघि उक्त समूहमा कोइराला परिवारमाध्ये डा. शेखर कोइराला मात्र सहभागी हुँदै आएका थिए। सुजता र शशांकले पनि देउवाको विरोध गर्दै आए पनि देउवाविरुद्ध बनेको समूहमा भने सहभागी हुने गरेका थिएनन्।

शशांकको सक्रियता

कुनै समय पार्टीभित्र मध्यस्तर कर्ताको भूमिकामा रहेका महामन्त्री डा. शशांक कोइराला देउवाविरुद्धको क्याम्पमा सक्रि हुन थालेका छन्। यसअघि देउवाविरुद्ध लागेको समूहलाई आफ्नै निवासमा बैठक बोलाएर औपचारिक रूपमा उक्त समूहमा उनी नजिक भएका थिए।

उक्त छलफलपछि सोमबार सुजता निवासमा भएको ‘लन्च’ बैठकमा समेत सहभागी भएका हुन्। यसअघि उनी १४औँ महाधिवेशनका लागि सभापतिको विकल्प आफूबाहेक अरू नभएको बताउँदै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.