|

काठमाडौं : पछिल्लो क्रममा नेपाली लोकदोहोरी क्षेत्रमा चर्चामा छन्, वसन्त थापा। उनको संगीतमा रहेका  'सालको पात टपरी दुना' र 'गाउँले ठिटो' गीत हरेक वर्गका व्यक्तिले सायदै नसुनेका होलान्। वि.सं. २०५९ मा गायक बन्न बाग्लुङको गलकोटबाट काठमाडौं आएका उनी गायक, संगीतकार र कलाकारको रूपमा परिचित भइसकेका छन्।

फरक विषयवस्तु र ग्रामीण बोलीचालीका शब्दलाई आफ्ना गीतमा टपक्क खिप्न खप्पिस उनी अहिलेका व्यस्त सर्जकमध्येका एक हुन्। लोक संगीतमा लामो समयदेखि नजिक रहेका उनी यो क्षेत्र आफ्नो बाँच्ने आधार रहेको बताउँछन्। गीत संगीतलाई आफ्ना दैनिक जीवनमा आइपर्ने विभिन्न तनावलाई कम गराउने ‌‌‌अौषधिको रूपमा लिन्छन्। आत्मसन्तुष्टिका लागि गीत गाउँछु भन्न रुचाउने उनी गीत संगीतमा रमाउन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छन्। गीत सुन्नु भनेको आफ्नो छुट्टै संसारको निर्माण गरेर रमाउनु हो भन्ने लाग्छ उनलाई। उनले रचना गरेर बजारमा आएका गीतहरू प्राय: चर्चामा आउने गर्छन्। यसको मुख्य कारण नै अध्ययन, मिहिनेत र धैर्य रहेको बताउँछन् उनी।

अहिलेको पुस्ताले पश्चिमा र मोडर्न शैलीको गीतलाई अलिक बढी रुचाउने गरेका देखिन्छ। आधुनिक शैलीमा धेरै सर्जकहरू लागिपरेको देखिँदै आइएको छ तर उनी लोकगीतमा नै रमाइरहेका छन्। लोकदोहोरीमा भने जिम्मेवार व्यक्तिहरूको लगाव पहिलेको तुलनामा कम हुँदै गएको र हाम्रा सामाजिक मूल्य र मान्यताहरूलाई भत्काएर गीत संगीत रचना गरेर छिट्टै चर्चामा आउने पछिल्लो केही पुस्ता देख्दा आफू अवाक् भएको बताउँछन् थापा।

लोकसंगीत समाजको एेना भएको र हाम्रा मौलिक संस्कृतिलाई बिथोल्ने, भत्काउने कार्यलाई निरूत्साहित गर्नुपर्ने उनी सुनाउँछन्। आफूलाई फरक फरक शैलीमा गीत रचना गरेर बजारमा ल्याउने रहरका बाबजुद पनि लोकदोहोरी क्षेत्रमा नै केही गर्छु भन्ने मनसायले आफू यसै क्षेत्रमा लागेको बताउँछन् उनी। अन्य शैलीका गीतहरू थोरबहुत पढ्न पाए पनि लोकदोहोरीका बारे त्यति धेरै खोज नभएको दुखेसो पनि पोख्छन् उनी। 'लोकदोहोरी त आफैँ अध्ययन गर्ने विधा हो जस्तो भएको छ। लोकदोहोरीको छुट्टै पाठ्यक्रमसमेत छैन', उनी भन्छन्। लोकदोहोरी माध्यमबाट नै हाम्रो समाज र संस्कृति बुझ्न सकिने हुँदाहुँदै पनि यसतर्फ अहिलेसम्म कसैको ध्यान जान सकेको छैन। लोकदोहोरी गहिरो विषय रहेको उनको ठम्याइ छ। यस क्षेत्रमा सबैले मजा नमान्ने तर जो यस क्षेत्रमा पस्छ, त्यो व्यक्ति सजिलै बाहिर निस्किन नसक्ने उनको दाबी छ।

सुरुवाती चरणमा उनले गीतका शब्द लेख्थे। शब्दमा उनी रमाउँथे। विस्तारै उनले गाउन थाले। स्वरमा पनि उनले आफूलाई सफल बनाए, यद्यपि, उनी आफूलाई पूर्ण गायक मान्दैनन्। अहिले उनी आफ्ना गीतमा अभिनय पनि गर्छन्। 'राम्रो गायक राम्रो पर्फमर नहुन सक्छ। राम्रो पर्फमर राम्रो गायक नहुन सक्दोरहेछ। म दुवै चिजमा पूर्ण हुन चाहन्छु', उनी भन्छन्, 'गायन सँगसँगै अभिनय गर्दा आफ्ना शब्दहरूमा अझ जीवन्तता भेट्टाएको महसुस गरेको हुनाले पनि आफ्ना गीतमा अभिनय गरेको हुँ।'

आज उनी लोकदोहोरी क्षेत्रमा स्थापित छन्। यसको श्रेय उनी आफ्नो गाउँलाई दिन्छन्। आफू जन्मेको बाग्लुङको गल्कोट सम्झन्छन्। आफू डुलेको वनजंगल सम्झन्छन्। आफू पढेको स्‍कुल सम्झन्छन्। कला क्षेत्रमा लाग्नुपर्छ भनेर सधैँ हौसला दिने बाबुआमा, साथीसंगी सम्झन्छन्। त्यसभन्दा बढी आफ्ना गीतलाई मनपराइदिने श्रोताहरू सम्झन्छन्।

उनी पहिलोपल्ट राजधानीमा गीत रेकर्ड गर्न आउदाँको प्रसंग सुनाउँछन्। ०५९ सालको चिसो दिनमा उनी आफ्नो गीतको डमी बोकेर काठमाडौंको रात्रिबस चढे। जनयुद्धले जर्जर भएको त्यस अवस्थामा उनलाई धादिङको नौबिसेमा सेनाले कब्जामा लियो। एउटा सामान्य गाउँको मान्छेलाई सेनाले माओवादी हो भनेर समातेको सम्झन्छन् उनी। उनलाई सेनाले सोधपुछ गर्‍यो। उनले आफू माओवादी नभएको तर्क पेस गरे। सेनाले पत्याएन। अन्त्यमा गीत रेकर्ड गर्न काठमाडौं हिँडेका उनले आफ्ना गीतको डमी बजाएर सुनाए। थापाका सबै गीत सुनेपछि सेनाले उनलाई अर्को गाडीमा चढायो।

उनले आफ्नो अतीत संझिए, 'मसँग यो दिन गीतको डमी नभएको भए…!'  उनले पहिलो पटक 'पश्चिमाञ्चल तिमीलाई देखेर मन भो चंचल' भन्ने बोलको गीत आफ्नै आवाजमा आरआरसी रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरे। त्यसको मास्टर कपी बोकेर धेरै कम्पनीमा चहारे। त्यसबेला कम्पनीले नयाँ मान्छेको गीतलाई पत्याइहाल्ने अवस्था थिएन। उनको गीत वितरण गर्ने कोही नभएपछि उनी विक्षिप्त जस्तै बने। एउटा युवा, जसले गीत संगीतमा केही गर्छु भनेर उच्च मनोबलका साथ आउँदा कसैले आफ्नो मिहिनेतको महत्त्व नदिदाँ विक्षिप्त हुनु स्वाभाविक नै थियो।

त्यसबेला उनको कला देखेर सर्जक ईन्द्र जिसीले उनलाई साथ दिए। लगत्तै उनले शिला क्यासेट सेन्टरबाट 'नीलो फेवाताल' रेकर्ड गरे। त्यसपश्चात उनलाई यस क्षेत्रमा मलाई बुझ्ने मान्छे पनि रहेछन् भन्ने महसुस भयो। जब कुनै क्षेत्रमा आफ्नो पनि स्थान छ भन्ने महसुस हुन्छ, तब थप ऊर्जा आउँछ। उनको उत्साह थपिँदै गयो। उनले 'सालको पात टपरी दुना'सम्म आइपुग्दा ५०० बढी गीत बजारमा ल्याइसकेका छन्। आफैँले गाएको गीतको संख्या भने १०० हाराहारीमा पुगेका छन्।

हरेक सिर्जना चर्चित हुनुपर्छ भन्दा पनि राम्रो हुनुपर्छ भन्ने मान्यता छ उनको। इमान्दारीसाथ काम गर्दा हरेकलाई मनपर्ने उनी दाबी गर्छन्। हरेक मान्छेले आफ्नो परिचय आफैँ बनाउँदै जान्छ। लोकसंगीतबाहेक उनी सामाजिक कार्यमा पनि लागिपरेका छन्। विभिन्न संस्थाले गर्ने सामाजिक कार्यका लागि गर्ने च्यारिटी कार्यक्रममा पनि उनी बिना पारिश्रमिक गाउँछन्। उनी उत्साहित हुँदै भन्छन्, 'एउटा सर्जक, सर्जक मात्र हुँदैन, ऊ समाजको हिस्सा पनि हो। समाजले अपेक्षा गरेको कुरा र आफूले पूरा गर्न सक्ने कामको जिम्मेवारी लिन जरुरी छ।' आज उनीसँग नाम छ। थोरबहुत परिवार पाल्ने आर्थिक आधार छ। प्रशंसक छन् तर आफ्ना बाल्यकालमा खेलेका साथीहरू छैनन्। उनको चर्चासँगै उनका बाल्यकालका साथीहरू टाढिँदै गएको महसुस हुन्छ थापालाई। उनी भन्छन्, 'हामी बचपनमा जसरी बोल्थ्यौँ, उसैगरी बोल्न मन छ। जसरी हिँड्थ्यौँ उसैगरी हिँड्न मन छ तर साथीहरू बोल्नुहुन्न, सायद एकअर्कामा थपिएको परिचयले हाम्रो मित्रतामा कुनै अवरोध खडा भयो कि भन्ने लाग्छ।'

अहिलेको लोकदोहोरी क्षेत्रमा प्रवेश गर्ने पुस्ताले नयाँ चिजको उत्खनन् गर्न सकेका छैनन् भन्ने लाग्छ उनलाई। सिर्जना नयाँ हुन जरुरी छ। आफ्नो सिर्जनामा अर्को सर्जकको अनुहार देखिने परिपाटी छ। यस्तो खाले सिर्जनाले कोही पनि कतै पुग्न सकिँदैन भन्छन् थापा। उनी यसतर्फ पनि सोच्नुपर्ने बेला आइसकेको बताउँछन्। नेपाली लोकदोहोरी क्षेत्र एक उद्योग भएको र यसमा अर्बौं रुपैयाँ लगानी हुँदाहुँदै पनि अस्तव्यस्त भएकाले यस क्षेत्रलाई व्यवस्थित गर्ने सरकारी निकायले कुनै पनि भूमिका नखेलेको उनको गुनासो छ। 'यसले गर्दा पनि सर्जकले गीत गाएर दैनिक जीवन धान्न मुस्किल छ', उनी भन्छन्, 'एक-दुई जनाको जीवनस्तर हेरेर समग्र कलाकारको जीवनयापन राम्रो छ भन्ने आँकलन गलत छ।'

रोयल्टीका कुराहरू पनि बोलीमा सीमित भएका र पुरस्कार वितरणमा समेत व्यापार चल्ने भएकाले यस क्षेत्र भद्रगोल देख्दा आफू दुखी हुनुपरेको बताउँछन् उनी। कुनै पनि क्षेत्रमा आफू स्थापित हुन सबैभन्दा ठूलो कुरा परिवारको हात हुनुपर्ने बताउँछन् उनी। सुरुवाती चरणमा बाआमाले यस क्षेत्रलाई अँध्यारोको संज्ञा दिने गरेको सम्झन्छन् थापा। विस्तारै अँध्यारोलाई छल्दै उज्यालो किरण देखापरेपछि बाबुआमाको बोली बन्द भएको थियो। उनको एक छोरा छ। गीत गाउँदा आफ्ना गीतलाई मनपराएर धेरै युवतीहरू प्रपोज गर्छन् रे उनलाई। उनी लामो हाँसो हाँस्दै भन्छन्, 'अरूको बगैँचाको फूल राम्रो छ। मनपर्छ भन्न त पाइन्छ तर टिपिहाल्न पाइँदैन।' हाँसोमय वातावरणमा थापाले यसो भनिरहँदा नजिकै उनका कुरा सुनिरहेकी उनकी श्रीमती राधा मल्ल थापा मुसुक्क हाँसिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.