सडक निर्माणको आधा बजेट उप्किएको पिच टाल्नमै खर्च

|

इलाम : २०६९ असोज १४ गते मेची राजमार्गको कोल्वुङ–इलाम खण्डमा अकस्मात पहिरो खसेपछि १४ जनाको हेर्दा हेर्दै ज्यान गयो। पहिरो पनि नखसेको र जमिन पनि नधस्सिएको त्यस स्थानमा आधा दर्जन गाडीसहित १४ जनाको ज्यान पहिरोले लिन्छ भनेर चालक, यात्रु, सुरक्षाकर्मी, सडक निर्माणकर्ता कसैले पनि सोचेका थिएनन्।

भारी वर्षाबीच गुड्दै गरेका गाडी एकाएक पासोमा झैँ पहिरोको चपेटामा परे। त्यसयता यस स्थानमा पहिरो खसेको छैन। सडक डिभिजन कार्यालयले सडकको भित्तातर्फ मजबुत पर्खाल बनाएपछि पहिरो नखसेको स्थानीयको भनाइ छ तर अझै जोखिम भने कायम नै छ। झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डमा यस्ता थुप्रै स्थान छन्, जहाँ जुनसुकै बेला पनि प्राकृतिक प्रकोपको खतरा छ। राजमार्गका विभिन्न स्थानमा भौगोलिक कारणले जोखिम बढ्दै गएको छ। डाँडालाई आधार बनाएर बनाइएको यस सडकमा पहिरोको जोखिम पनि उत्तिकै छ।

इलामदेखि पाँचथरको फिदिमसम्म पनि ठूलो पहिरो झर्ने स्थान कम भए पनि सडक भासिने र ढिस्काहरू झर्ने क्रम बढिरहेको छ। 'फिदिमदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म चाहिँ पहरा र पहिरो झर्ने जोखिम बढी छ’, चालक उदय क्षेत्री बताउँछन्। ताप्लेजुङ-पाँचथरको सिमाना काबेली नदीदेखि माथि बहानन्देसम्मको सडकलाई बढी जोखिमपूर्ण मानिन्छ। यो सडक खण्डमा सडक अवरुद्ध नभएको वर्ष छैन।

वर्षातको समयमा ताप्लेजुङ-पाँचथर सडक खण्ड सबैभन्दा बढी अवरुद्ध हुन्छ, त्यसमा पनि बहानन्दे–काबेली सडकख ण्डमा पहरो झरेर १२ घण्टासम्म पनि सडक अवरुद्ध हुने गरेको छ। झापाको चारआलीदेखि ताप्लेजुङसम्मको मेची राजमार्गको इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवालीलगायत क्षेत्र वर्षायाममा वर्सेनि दब्ने समस्या रोकिएको छैन। सडक डिभिजन कार्यालयले वर्सेनि ती स्थानको सडकलाई सामान्य ढंगले मर्मतसम्भार भने गर्दै आएको छ। मुलुकका अन्य राजमार्गभन्दा मेची राजमार्गको बनोट पनि कठिन छ।

अत्यधिक साँघुरा गोलाइ, उकालो र ओह्रालाे, धेरै सवारीको चाप जस्ता कारणले पनि राजमार्गमा जोखिम थपिएको छ। राजमार्गसँग टाँसेर बनाएका संरचना, अव्यवस्थित ढंगले राजमार्गबाट शाखा सडक खोलिनु, राजमार्गमा नै निर्माण सामग्री थुपार्नेजस्ता कारणले पनि जोखिम थपिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख खड्गप्रसाद श्रेष्ठले बताए। राजमार्गको क्षमताभन्दा धेरै भार बोक्ने गाडीका कारण पनि यहाँका पुल र सडकलाई नोक्सानि पुग्दै आएको छ। सडक डिभिजन कार्यालयले मापदण्डभन्दा ठूला साधन गुड्न नदिने, मर्मतसम्भार निरन्तर गर्ने गरेको जनाए पनि प्रभावकारी देखिएको छैन।

जोखिम न्यूनीकरणका लागि नयाँ प्रविधिको पर्याप्त प्रयोग हुन नसक्नु पनि राजमार्गको आयु छोटिनुको कारण बन्दै गएको छ। ‘राजमार्गको धेरै क्षेत्रको पहाड नै चलायमान छ’, श्रेष्ठले भने, ‘केही स्थानमा नयाँ प्रविधिबाट सडक बनाउने काम भइरहे पनि धेरै स्थानमा भने पुरानै शैलीले काम गर्नुपर्ने बाध्यता छ।’ मेची राजमार्ग इलाम खण्डको सबैभन्दा जोखिमपूर्ण क्षेत्र इलाम नगरपालिकाको राजदुवाली हो। यहाँ सडक धस्सिने क्रम रोकिएको छैन। यसअघि मर्मतका लागि जति रकम खर्चंदा पनि प्रभावकारी नभएपछि सडक डिभिजनले अहिले नयाँ प्रविधिबाट काम गरिरहेको बताएको छ। ‘रक एङरिङ’ प्रविधिबाट जोखिमयुक्त १५० मिटर सडक निर्माण भइरहेको डिभिजनको भनाइ छ।

साढे पाँच करोड रुपैयाँको योजनाअन्तर्गत सडकमा तलमाथि नै मजबुत पर्खाल बनाइएको छ। यो प्रविधिअन्तर्गत पर्खालको बीचबीचमा पाइपमार्फत् २५ मिटर भित्रसम्म ३२ एमएमको रड हालिएको छ, जसका कारण सडक भास्सिनबाट जोगाउने श्रेष्ठले बताए। ताप्लेजुङको खहरे, खोक्से र ल्याङवाको भाग चट्टान धेरै खस्न सक्ने भाग हो। यसको बाहिरपट्टि नै चट्टानको पत्र देखिने गरेको छ। पाँचथरको गणेशचोक, भालुचोक र पौवाभञ्याङ क्षेत्रमा पनि ससाना पहिरो र भेलबाढीले वर्सेनि सडक भत्काउने गरेको छ। यस क्षेत्रमा ठूलो पहिरो नगए पनि ढिस्काहरू र भित्तामा अड्किएका ठूला ढुंगा झर्ने हुँदा घण्टौँसम्म सवारी अवरुद्ध हुने गरेको छ।

आधा बजेट उप्किएको पिच टाल्नमै खर्च

मर्मतका लागि आवश्यकताअनुसार रकम नआउने भएकाले पनि समस्या भएको हो। मेची राजमार्ग र आसपासका केही सडकका लागि गत आर्थिक वर्षमा चारआलीदेखि ताप्लेजुङसम्मको २३० किलोमिटर क्षेत्रका लागि छ करोड रुपैयाँ आएको कार्यालयले जनाएको छ। वर्सेनि डिभिजन सडक कार्यालय मातहतबाट तीन करोड बढी रुपैयाँ राजमार्गमा उप्किएको पिच टाल्नैमा खर्च हुने गरेको छ। केही स्थानमा कालोपत्रेसहित रिसोलिङलगायतका काम भएका थिए। ठेकेदारले समयमा र गुणस्तरीय काम नगर्ने कारणले राजमार्गमा समस्या आउने गरेको हो।

जोखिम बढ्दै गएको पुवाखोला पुल भने निर्माण चरणमा रहेको छ। सडक निर्माणसँगै बनेको यस पुलमा क्षमताभन्दा धेरै भार भएका सवारी साधन कुद्ने र पुरानो बन्दै गएकाले जोखिम थपिदै गएको थियो। त्यस्तै, माइखोलको पुललाई पनि नयाँ निर्माण गर्ने श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.