|

संखुवासभा : निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेका दुई जनामध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एक जना बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको छ। निक साइमन संस्थाले राखेका चिकित्सक डा. युवराज बस्नेतले दशैँअघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका छन्।

प्रसूति सेवा गराउने चिकित्सक व्यवस्थापन नगर्दा जिल्ला अस्पताल खाँदबारीमा पटक पटक प्रसूति सेवा अवरुद्ध हुने गरेको छ। जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४सै घण्टा दिइने प्रसूति सेवा एक साताबाट ठप्प भएको हो। संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्का चिकित्सक डा. शैलिका श्रेष्ठसमेत घर बिदामा बसेकी छन्। चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन्। 

सोमबार मकालु गाउँपालिका- ३ हेदाङनाबाट प्रसूति गराउन आएकी सुधा राईले भनिन्, 'जिल्ला अस्पतालमा २४सै घण्टे प्रसूति सेवा पाइन्छ भनेर आएँ तर एक साताअघिदेखि नै चिकित्सक नभएकाले अब कता जाने भन्ने समस्या भएको छ।' सुधाका श्रीमान अशोकले पैसा हुनेले सुविधा सम्पन्न शहर काठमाडौं विराटनगर, धरान जस्ता शहरमा लाने गरेका तर आफूहरू जस्ता विपन्न वर्गका मान्छेलाई दुई छाक खान नै मुस्किल भएकाले उपचार गराउन त धेरै टाढाको कुरा भएको बताए।

सोमबार नै चैनपुर नगरपालिका- ११ लुहाकोटबाट प्रसूति सेवा लिन आएकी सीता त्रितालले पनि प्रसूति सेवा दिने चिकित्सक नभएकाले समस्या भएको बताइन्। उनले हवाई सेवाबाट जान भनेको बेला टिकट पाउन हाम्रो पहुँचभन्दा टाढाको कुरा भएको र गाडीमा जाने कच्ची सडकमा एम्बुलेन्ससमेत जान नमान्ने गुनासो गरिन्। त्यस्तै, खाँदबारी नगरपालिका- ४ चिप्ले गाउँबाट प्रसूति सेवा गराउन आएका भुवन राईलाई समेत जिल्ला अस्पताल खाँदबारीले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि अलमलमा परेको बताए।

राईले चिकित्सक नभएकाले सुविधा सम्पन्न शहरमा लैजान भने पनि उपचार गर्ने रकम नभएकाले लान नसकेको दुखेसो गरे। उनी मात्र होइन, प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरको उत्तर-पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका पाइएको छ। संखुवासभाको तुम्लिङटार र हिले सडक खण्ड कच्ची र खाल्डो परेकाले हिलोमा गाडी फसेकाले यात्रु घण्टौंसम्म लगाएर जाने गरेका छन्।

चिकित्सक व्यवस्थापनमा बेवास्ता 

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार डा. शैलिकालाई बिदा स्वीकृत नगरेको बताएका छन्। शैलिकाले घरायसी समस्याका कारण जनाउँदै बिदा लिए पनि खड्काले स्वीकृत गरेका छैनन्। तर साताअघिदेखि सेवा प्रभावित भएकामा अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन।

खड्काले उनीहरूको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक व्यवस्थापनका लागि अनुरोध गरिएको तर हालसम्म समस्या समाधान नभएको बताए। यता, अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवा गराउने चिकित्सक चाँडै व्यवस्थापन गर्ने बताए।

जिल्ला अस्पतालमा १२ जना बढी चिकित्सकको दरबन्दी भए पनि केन्द्रबाट चिकित्सक नआएकाले समस्या हुने गरेको स्वीकार गरे। प्रसूति सेवाको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा समितिको बैठक राखेर चाँडै समस्या हल गर्ने अध्यक्ष शाक्यले बताए। तर जिल्ला अस्पतालमा यी र यस्ता समस्या पटक पटक देखापर्ने गरेको छ। केही समयअघि तीन महिनादेखि अस्पतालमा नाभी मह्लम सकिए पनि अस्पताल प्रमुख खड्कालाई जानकारी नभएको बताएका थिए।

सुत्केरी भत्ता, कर्मचारी व्यवस्थापन, कर्मचारीबीच विवादलगायतका कारण जिल्ला अस्पतालमाथि प्रश्न उठ्दै आएको छ तर अस्पताल विकास समिति र अस्पताल प्रशासनले यस्ता समस्या चाँडै समाधान हुने भन्दै आलटाल गर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.