|

संखुवासभा : संखुवासभाको मादी नगरपालिकाको चिराइतेमा जन्मिएका २७ वर्षीय सूर्य कार्की सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा सक्रिय छन्। सूर्य शिक्षा नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताउँछन्। शिक्षाबिना जीवन अन्धकार छ भन्ने धारणा छ उनको। 

सूर्यले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत हालसम्म २६ वटा विद्यालय निर्माण गरिसकेका छन् भने नौवटा विद्यालय निर्माणको चरणमा छन्। सन् २०२५ सम्म १५० वटा सामुदायिक विद्यालय निर्माण गर्ने लक्ष्य बोकेको उनले बताए। सूर्यले अन्तर्राष्ट्रिय दाताहरूको सहयोगमा पहिलो चरणमा ३५ वटा विद्यालय निर्माण सम्पन्न गरिसकेका छन्। 

बाल्यकाल र पढाइ

मादी नगरपालिकाको चिराइतेमा सामान्य परिवारमा जन्मिएका सूर्यले नौ वर्षसम्मको बाल्यकाल गाउँमै बिताएका थिए। उनले गाउँकै छत्रेश्वरी प्राथमिक विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरे। विद्यालय घरबाट दुई–तीन घण्टा पैदल दूरीमा थियो। गरिबीका कारण घरमा के खाऊँ, के लाऊँको अवस्था थियो। सूर्यका बुबाले दोस्रो विवाह गरेपछि परिवारलाई हेर्न छाडेको उनले बताए। 

सूर्यको परिवारमा एक भाइ, एक बहिनी र आमा गरी चार जनाको परिवार छ। एक्ली आमाले कष्टपूर्ण रूपमा आफूहरूलाई हुर्काएको उनी बताउँछन्। गरिबी भएर पैसा नभएका कारण सूर्यका एक भाइ पाँच वर्षको हुँदा बिते। उनले भने, ‘आमासँग उपचार गर्ने पैसा नभएकै कारण भाइ गुमाउनुपर्‍यो।’ 

सूर्यले कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढे। नौ वर्षसम्मको बाल्यकाल गाउँमै बिताए। प्लस टु (कक्षा १२ सम्म) बूढानीलकण्ठमा विज्ञान संकाय पढे। त्यसपछि तीन वर्ष छात्रवृत्तिमा भेनेजुयलामा कृषि पढे। त्यसपछि अमेरिकामा तीन वर्ष अर्थशास्त्र पढे। त्यसपछि नेपाल फर्किएर फ्रि स्कुल संचालन गरेपछि चीनबाट स्नातकोत्तर गरेका छन् उनले।

पुरस्कार 

आफ्नो कर्मबाट अविचलित रहेका सूर्यले सन् २०१४ मा बेलायतका राजकुमार प्रिन्स चाल्र्सको हातबाट विश्वका प्रभावशाली उद्यमीको पुरस्कार हात पारेका छन्, जसमा विश्वभरका सात जना पुरस्कृत भएका थिए। इन्टरनेसनल युथ फाउण्डेसनले हरेक वर्ष विश्वका २० जना युवालाई पुरस्कृत गर्ने गर्छन्। सन् २०१५ मा पेरुमा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो। यस्तै, विश्वको चर्चित पत्रिका फोब्र्सले सन् २०१७ मा ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा सूर्यको नाम पनि प्रकाशन गरेको छ, जुन सूचीमा नेपालबाट पाँच जनामा उनीसमेत परेका थिए।  

सूर्यको पढाइको सुरुवात 

गरिब परिवारमा जन्म भएका सूृर्यलाई उनका काकाले काठमाडौंको बूढानीलकण्ठमा छात्रवृत्तिको कोटामा पढ्ने व्यवस्था मिलाइदिएको उनी बताउँछन्। काठमाडौं गएपछि सूर्यलाई बूढानीलकण्ठको छात्रवृत्तिमा एक वर्ष पढेपछि निकालेर ड्याफोडिल स्कुलमा १२ कक्षासम्म पढ्न काकाले भर्ना गरिदिए। सूर्यले कक्षा १२ सकेपछि एक साता आमालाई भेट्न गाउँ आएको बताए। 

विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेपछि सूर्यले इन्जिनियर पढ्नका लागि अमृत साइन्स क्याम्पसमा तयारी गर्दै गरेको अवस्थामा युनाइटेड वल्र्ड कलेज भेनेजुयलामा छात्रवृत्ति पाए, जुन छात्रवृत्ति नेपालको पहिलो गभर्नरसमेत रहेका हिमालयशमशेर राणामार्फत् पाएका हुन्। त्यसपछि साढे दुई वर्ष कृषि व्यवस्थापन अध्ययनका लागि भेनेजुयला गएको सूर्यले बताए।

भेनेजुयलाबाट नेपाल फर्किएपछि सूर्यले अमेरिकाबाट फर्किएका साथीहरूसँग मिलेर प्राइभेट फ्रि स्कुल संचालनको अवधारणा अघि सारेको बताए। सूर्यले त्यसपछि कृषि र शिक्षालाई संयोजन गरेर फ्रि स्कुल उदयपुर, स्याङ्जा र तनहुँमा संचालन गरेको बताए। फ्रि स्कुलमा अभिभावकले महिनाको दुई पटक कृषि फार्ममा काम गरेपछि मात्र छोराछोरीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवधारणा ल्याएको सूर्यको भनाइ छ।  

सामुदायिक विद्यालय निर्माण कार्यको सुरुवात

सूर्य अमेरिकाबाट पढाइ सकेर फर्किएपछि सन् २०१४ को अन्त्यतिर दुर्गम ग्रामीण भेगमा पुग्ने गरी शिक्षा दिने इच्छा पलायो। कसरी काम गर्ने भनेर एक दुई जनालाई सुनाए। संस्था दर्ता गरेर गर्नुपर्छ भनेर सुझाएपछि युनाइटेड वल्र्ड स्कुल्स नेपाल नामक संस्थाको स्थापना गर्ने अवधारणा अघि बढेको उनी बताउँछन्।

सुरुमा सूर्यलाई संस्था दर्ता गर्न धेरै गाह्रो भयो। संस्था दर्ता गर्न संखुवासभाको जिल्ला प्रशासन कार्यालयदेखि समाज कल्याण परिषद् र सिंहदरवार भित्रका मन्त्रालय धाउँदा सबैले आफ्नो शिरदेखि पाउसम्म हेर्ने गरेको उनी सुनाउछन्। भर्खरैका २३ वर्षे युवालाई कसैले पत्याएनन्। जसोतसो संस्था दर्ता गरे। आँट गरेपछि हुनेरहेछ भन्ने लाग्यो उनलाई। अहिले संस्था संचालन भइरहँदा गर्व लागेको सूर्यले बताए। 

‘मैले अमेरिकामा रहेको सिटिसी फाउण्डेसन र युनाइटेड कलेज युकेका दाताहरूलाई १५० वटा विद्यालयको प्रपोजल इमेल गरेँ। ३५ वटाका लागि सहयोग गर्ने दाताले सहमति जनाए’, सूर्यले भने।  

आफ्नो जन्मथलो संखुवासभाका सामुदायिक विद्यालय निर्माण गर्ने सोच बनाए एकातिर भने पश्चिमतिर खोज्दै जाँदा गुल्मी जिल्ला छनोट गरेको उनले बताए। संस्थाको मुख्य कार्यालय संखुवासभाको तुम्लिङटारमा छ भने शााखा कार्यालय गुल्मीमा पनि रहेको छ। 

सुविधा सम्पन्न भवन 

संस्थाले सरकार र समुदायको सहकार्यमा सन् २०१६ बाट सामुदायिक विद्यालय निर्माण गर्दै आएको छ। यसमा सरकार र समुदायको सीमित लगानी रहेको छ। संस्थाले हालसम्म संखुवासभामा २१ र गुल्मीमा पाँचवटा विद्यालय निर्माण गरी संचालनमा ल्याएको छ। समुदायको मागमा नयाँ विद्यालय पनि निर्माण भएका छन् भने पुरानै विद्यालयलाई नयाँ बनाइएको छ। ३० प्रतिशत समुदायको लागतमा अन्य दातृ निकायको सहयोग जुटाएर ५, ६, ७, ८, ९ कोठाको एक तले भूकम्परहित २५ लाख रुपैयाँमा पक्की भवन बनाइएको सूर्यले बताए। 

स्थानीय सरकारको सहकार्यमा बालमैत्री फर्निचर निर्माण गरेर रंगीन कक्षाकोठा बनिरहेका छन्। फराकिलो खेलमैदान, शैक्षिक सामग्रीको पूर्ण व्यवस्थापन, अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने प्राथमिक तहको विद्यालयमा संस्थाले शैक्षिक र नेतृत्व विकास, शैक्षिक वातावरण निर्माणका निमित्त तालिमप्राप्त एक जना फेलोलाई एक विद्यालयमा खटाएको छ। संस्थामार्फत् सामुदायिक विद्यालयमा काम धमाधम भइरहेको उनले बताए। 

त्यसै क्रममा सन् २०१६ को जुलाईमा एक वर्षे मास्टर्स अध्ययनका लागि सूर्य चीनको चिङ गुवातर्फ गए। त्यसमा स्वारजमेन स्कलर्स नामक छात्रवृत्तिमा अध्ययन गर्नका लागि विश्वभरबाट आठ हजारदेखि १२ हजार जनाले आवेदन दिएका रहेछन्। विश्वका १०० जना उद्योगी, नेतालगायतले अध्ययन गर्न पाउने उक्त छात्रवृत्तिमा नेपालबाट अध्ययनका लागि जाने हालसम्मका भाग्यमानी एक मात्र व्यक्ति सूर्य कार्की मात्रै हुन्। 

गुल्मी र संखुवासभामा बनाएका सामुदायिक विद्यालयहरू

गुल्मीको बडागाउँ, छापाहिले, वाग्ला र साउने तथा संखुवासभामा रहेका विभिन्न नगरपालिका र गाउँपािलकाभित्रका तामाफोक, मुडे, हुर्पा, कल्लेरी, सिद्धकाली, राम्बेनी, नुम, गुराँसे, हेलुवाबेसी, मझुवा, नागीडाँडा, उम्लिङ्ग, गुफा, होक्से, लेबराङ्ग, खराङ्ग, मूलखर्क र बागामा निर्माण सम्पन्न भइसकेको सूर्यले बताए। 

नेपालकै माटोमा बसेर केही गर्ने विचार पलाएकै कारणले विदेश छाडेर नेपाल आएको उनको भनाइ छ। ‘कृषकलाई रोजगारी दिने कारखाना खोल्ने सोचमा छु। त्यसमा अलैँची, कफी र कागती खेती व्यावसायिक रूपमा पर्ने सोचमा छु। नवलपरासीमा तीन जनाको सहकार्यमा पाँच–छ महिनामा एउटा कृषि कारकाखाना बन्दै छ’, उनले भने, ‘त्यहाँ हाल दुई–तीन सय जनालाई रोजगारी दिन सकिन्छ।’ सन् २०२५ सम्ममा दैनिक पाँच हजार जनालाई दैनिक रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको सूर्यले बताए। उनले नेपालमा रहेका मकालु एड्भेन्चर, डेलिस डेरिज तथा अमेरिकामा रहेको समर टाइम फुटेजमा शेयर भएको बताए। 

‘शिक्षा नै मानिसको ज्योति हो’ 

मानिसको ज्योति भनेकै शिक्षा हो। शिक्षाबिना कुनै पनि व्यक्ति उज्यालो दिन नसक्ने भएकाले आफूले शिक्षालाई प्राथमिकतामा राखेको सूर्यले बताए। उनले सन् २०२५ सम्म १५० वटा विद्यालय निर्माण गरेर हस्तान्तरण गर्ने संकल्प लिएको संस्थामा ११० सदस्य रहेको बताए। उक्त संस्थाको संस्थापक अध्यक्ष तथा राष्ट्रिय निर्देशक सूर्य आफैँ हुन्।

दक्ष जनशक्तिले देशको कृषि तथा अर्थतन्त्रमा परिवर्तन गर्ने संस्थाको विश्वास रहेको सूर्यको भनाइ छ। सस्ंथाबाट करिब १५ हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य छ। ८ कक्षासम्म अध्यापन हुने विद्यालयहरूमा सरकारी पाठ्यक्रम पढाइ भए पनि शिक्षण सिकाइ गर्ने शैली भने नयाँ र फरक भएको  सूर्य बताउँछन्।

सूर्यको विवाह र जीवन

जिन्दगी एउटा संघर्ष र कहिल्यै एकनास नहुने चलायमान भएको भन्दै कामको व्यस्तताले गर्दा वैवाहिक जीवनको बारेमा सोची नसकेको सूर्यले बताए। जीवनमा थुप्रै उतारचढाव आए पनि तर पनि कहिल्यै त्यसबाट टाढा नभागेको सूर्यको भनाइ छ। दुःखलाई नजिकबाट चिनेका सूर्य शिक्षाले जीवन परिवर्तन गर्ने सक्ने बताउँछन्। 
युवालाई भावी पुस्ता होइन, अहिलेको जिम्मेवारीबोध गर्ने व्यक्तिको रूपमा बुझ्न उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.