|

जनकपुरधाम : कठोर एव्म निष्ठाको पर्व छठको दोस्राे दिन आज घर-घरमा विधि गरिने भएको छ। चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको दोस्रो दिन छठ ब्रतालुको साँझमा ‘खरना’ पूजा गरिन्छ।

पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै मीठा (सख्खर) बाट बनेको तयार गरी चढाउँछन्। सोही खिरलाई प्रसादको रुपमा ग्रहण गरी ब्रत बस्ने गर्छन्। छठको खरना विधिका लागि नवनिर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती ‘चढावा’ तयार गरिन्छ। ब्रतालुले घर मूल कोठा वा कूल देवतालाई लिपपोत भूइँमा केराको पात फिजाएर त्यसमाथि खिर पुरी र केरा राखेर पूजा गर्छन्।

धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पूजा गर्छन्। घरको आँगन र बरण्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पूजा समाप्तिको प्रतीक्षा गरिरहेका हुन्छन्। घरमा पूजा नहुने विवाहित छोरी चेली पनि यतिखेर माइत आउँछन्। टाढा घर भएका आफन्तजन एवं मित मितिनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन्।

यो पूजा सम्पन्न भएपछि व्रतालुले सबैभन्दा पहिले प्रसाद खान्छन्। त्यसपछि उपस्थित सबैलाई बाँडछन्। छठ पूजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो। यो पूजापछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.