'नेपालकै झण्डा भएको पानीजहाज हुने'

|

काठमाडौं : अपेक्षित काम गर्न नसकेर आलोचना भइरहेका बेला भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठले एकदर्जन भन्दा बढी आयोजनाको डेडलाइन तोकेका छन्। विभिन्न कारणले गर्दा अपेक्षित काम गर्न नसकेको स्वीकारेका मन्त्री महासेठले सोमबार सडकमार्ग, रेलमार्ग, जलमार्गका साथै यातायात क्षेत्रका आयोजनाहरूको डेडलाइन तोकेका हुन्।

उनले एकदर्जन बढी आयोजनाहरूकाे एकवर्षे, दुईवर्षे, तीनवर्षे र चारवर्षे गरी चार प्रकारका डेडलाइन तोकेका छन्। नागढुंगा-कलंकी सडकखण्ड र जोरपाटी -चावहिल सडक खण्डको अपेक्षित काम नभएका कारण सरकारले बढी आलोचना खेप्नु परेको मन्त्री महासेठले बताए। रित्तो ढुकुटी भएको समयमा वर्तमान सरकार आएको र छोटो समयमा महत्वपूर्ण काम गरेको पनि उनको दाबी रहेको छ।

'हामी रित्तो ढुकुटी भएका बेला सरकारमा प्रवेश गरेका हौँ। पुराना योजना पनि हामीले एकसाथ अघि बढाएका छौं भने नयाँ योजना पनि अघि सारेका छौं'  मन्त्री महासेठले भने, 'चार वर्षमा छदेखि आठ हजार किलोमिटर सडक कालोपत्रे हुने छ। रेलमार्गको लागि २८०० किलो मिटरमा डिपीआर तयार हुने छ भने भने मंसिर भित्रमा जनकपुर-जयनगर रेल संचालन हुने छ।'

मन्त्री महासेठले मंसिरसम्म जनकपुर-जयनगर-कुर्था रेल आगामी डेढ वर्षमा वर्दिवासम्म आउने र चार वर्षमा नीजगढसम्म रेल संचालन हुने बताए। वर्दिवास-नीजगढसम्मकाे ५० प्रतिशत रेलमार्ग निर्माणको काम सकिएको मन्त्री महासेठको दाबी रहेको छ। 'केपी ओलीको सरकारलाई विगतमा कागजको रेल बनाएर झिस्क्याउनेहरूलाई दुई महिनामा जवाफ दिँदै छौँ'' मन्त्री महासेठले भने।

नीजगढदेखि लुम्विनी रेलमार्गको डिपीआर अन्तिम तयारीमा रहेको उनले बताएका छन्। त्यसैगरी उनले झापाको बाहुनडाँगीदेखि डडेलधुरासम्मको सडकमार्ग आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भएको बताए। हुलाकी राजमार्ग पनि आगामी चार वर्षमा तयार हुने हुनेको दाबी छ।

'आउने चुनावसम्ममा हुलाकी राजमार्ग सम्पन्न हुने छ' महासेठले भने। उनले केरुङ-काठमाडौं र रक्सौल-काठमाडौं रेलमार्गको डिपीआर पनि अन्तिम छलफलमा रहेको बताए। मन्त्री महासेठले आगामी डिसेम्वरमा काठमाडौं-केरूङ रेलमार्गको डिपीआरमा अन्तिम छलफल हुने पनि बताए। पुष्पलाल राजमार्ग आगामी तीन वर्ष बन्नेछ त्यस्तै धरान-चतरा राजमार्ग पनि आगामी तीन वर्षमा सम्पन्न गर्ने दाबी गरेका मन्त्री महासेठले पथलैया आइसिपी सडकखण्ड चालु आर्थिक वर्षमा र विर्तामोड भद्रपुर छ लेनको सडकखण्ड बैशाखसम्ममा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्। उनले तातोपानी भन्सार आगामी फेव्रुअरी महिनामा र केरुङ-ठोरी रेलमार्ग आगामी दुईवर्षमा सम्पन्न हुने पनि बताए।

मन्त्री महासेठले किमाथांका-धनकुटा-विराटनगर सडकखण्ड आगामी निर्वाचनमा सम्ममा सम्पन्न हुने र बेनी-जोमसोङ सडकखण्ड तीन वर्षभित्र पूरा हुने बताए। मन्त्री महासेठले सरकारले संचालन गर्ने आयोजनाहरूमा एशियाली विकास बैंकको दरमा दुईदेशीय ऋण खोज्ने र इपिसिएफ मोडलेमा अघि बढाउने तयारी गरिरहेको पनि जानकारी गराए।

मन्त्री महासेठले सरकार गठन भएको करिव नौ महिनाको अवधिमा दुईतिहाइ समय तीन तहका सकारकारलाई आवश्‍यक पर्ने नीति नियम बनाउन लागेको बताउँदै अबका दिनमा महसुस हुने गरी काम हुने दाबी गरेका छन्।

नेपाली झण्डा सहितको पानीजहाज

मन्त्री महासेठले नेपाली झण्डा सहितको पानी जहाज कुदाउनका लागि नेपाल-भारतबीच तयारी भइरहेको बताएका छन्। उनले भारतको झारखण्डको साहेवगन्जबाट विराटनगर जोड्ने गरी पानी जहाज संचालन गर्ने तयारी भएको बताएका हुन्। यो बीचको दूरी जम्मा १५० किलोमिटर रहेको हुँदा यसले नेपालको व्यापार सहजीकणमा सहयोग हुने बताए। यस विषयमा दुईदेशबीच सहमति भइसकेको मन्त्री महासेठले बताए। उनले नेपालको पानीजहाज किन्ने वा लिजमा पानीजहाज लिने जुन छिटो हुन्छ त्यही गर्नको लागि प्रधानमन्त्रीले निर्देशन दिएको समेत बताए।

लिजमा लिँदा वा नयाँ किन्दा नेपालको झण्डासहित हुने उनकाे भनाई रहेको छ। साहेवगन्जबाट पाँचहजार मेट्रिकटन सामान बोक्ने जहाज नेपालले संचालन गर्ने पनि मन्त्री महासेठले जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.