|

मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सुचीलाई दिएको सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ।

नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो। त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा थिइन्। सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका सन्दर्भमा सुचीले चालेको कदम निराशाजनक रहेको जनाएको छ।

एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराएका हुन्। पत्रमा सुचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ।

रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको व्यवहारले आफूहरु उहाँलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ। योसँगै उनले आफ्नो कदम सच्याउने अपेक्षासमेत एमनेस्टीले गरेको छ। सूची नजरबन्दबाट रिहा भएको अाठ वर्ष पुगेकै दिन एमनेस्टीले उनलाई दिएको सम्मान फिर्ता गरेको हो।

क्रुर सैन्य शासनविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमै रहेर संघर्ष गरेकी सूचीलाई एमनेस्टी इन्टरनेसनलले सन् १९८९ मा राजनीतिक बन्दी घोषित गरेको थियो। यसअघि एमनेस्टीले यो सम्मान नेल्सन मण्डेलालाई पनि दिएको थियो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.