|

जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको पर्वको रुपमा मनाइने छठ अन्तर्गत मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महत्त्वपूर्ण पर्वको रूपमा परिचित छ।

छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधि गर्नुपर्ने मान्यता रहेको जनकपुर उप–महानगरपालिका १४ की सुनिता सिंह महतो बताउँछिन्। भगवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा छ।

छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुवाई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ्य अर्थात् ‘सझुका अर्घ्य’ भनिन्छ । 

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । विहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अर्घ्य’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् रूपमा सम्पन्न हुन्छ ।

तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ । दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्त्व रहेको संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्। चैते छठ भन्दा कार्तिक छठ मनाउनेको संख्या अत्यधिक मात्रामा हुन्छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.