|

तनहुँ : भूकम्पले क्षति पुर्‍याएको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरको पुनर्निमाण गरिएको छ। 

आर्थिक वर्ष ०७३\७४ मा पर्यटन मन्त्रालयबाट कुल १४ लाख बजेट र आर्थिक वर्ष ०७४\७५ मा सोही मन्त्रालयबाट थप ८ लाख गरी २२ लाख, भानु नगरपालिकाको ७ नम्बर वडा कार्यालयबाट १ लाख र बाँकी मन्दिरको भेटी तथा चन्दा सङ्कलन गरी ४० लाख रुपैयाँको बजेटमा तिहार अघि नै मन्दिर पुनर्निर्माण गरिएको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए। 

०७३\७४ मा पर्यटन मन्त्रालयवाट प्राप्त १४ लाख विनियोजित रकम अपुग भएपछि  थप आर्थिक सहयोग  प्राप्त भएको समितिले जनाएको छ। निर्माण गरिएको मन्दिरमा तीन ढोका र एक झ्याल छ भने एक आँखीझ्याल निर्माण गरिएको छ। मन्दिरको झ्याल र ढोका कलात्मक छन्। ढोकामा गणेश, कुमार बुद्ध, लगायतका कलात्मक आकृतिमा मन्दिर  निर्माण गरिएको छ। भूकम्पले मन्दिरमा क्षति पुगेपछि पूजा अर्चनाका लागि मन्दिरमा आउने भक्तजनको लागि समेत समस्या भएको र बजेट प्राप्त भएपछि भवन निर्माण सुरु गरिएको वडासदस्य सन्तबहादुुर थापाले बताए।

तिहार अघि नै मन्दिरको पुर्ननिमार्ण गरिएको भएपनि विश्राम स्थल लगायतका सहायक काम भने बजेट अभावले अधुरै छन्। यस्तै भक्तजनले फुलको डोली लिएर मन्दिर परिक्रमा गर्ने बाटोमा छेउ भिर भएकोले त्यसको बार लगाउन समस्या भएको स्थानीय सूर्यबहादुर गोदारले बताए। 

मन्दिरमा भक्तजनलाई पुग्न सहज होस् तथा धार्मिक पर्यटकको सङ्ख्यामा बृद्धि गर्न भानु नगरपालिकाले टुहुरे पसलदेखि थानीथान मार्गको लागि ५० लाख, चुँदी कुमाल गाउँ, बाघको खोर, अर्चले भञ्ज्याङ हुँदै थानीको थान मन्दिर जोड्ने मोटर मार्गको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन्। उपप्रमुख थापाका अनुसार बाईसजाँगर–थानीथान मोटर मार्गको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ रकम निकासा गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.