|

काठमाडौं : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। सोडारीको काममा कुशलता नदेखिएको र विवादमा आएका कारण उनलाई पदमुक्त गरिएको भट्टको सचिवालयले बताएको छ। 

मंगलबार बिहान सोडारी पदमुक्त भएका हुन्। सोडारी निकट स्रोतले भने पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण पदमुक्त गरिएको दाबी गरेको छ। पूर्वएमालेका कैलाली जिल्ला अध्यक्ष रहेका सोडारी नेकपाका नेता माधवकुमार नेपाल निकट नेता हुन्। 

केहीदिन अघि नै सोडारीलाई हटाउन संघीय सरकार र नेकपाको उच्च तहबाट मुख्यमन्त्री भट्टलाई दबाब दिइएको थियो। तिहार अगाडि नै हटाउन दबाब दिइए पनि मुख्यमन्त्री भट्टले कुनै निहुँ नपाएकाले सोडारीलाई बर्खास्त गर्न सकेका थिएनन्। यसैबीच भाइटीकाका दिन सोडारी चढेको सरकारी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। सोही निहुँमा सोडारीलाई पदमुक्त गरिएको हो। सोडारीमाथि आर्थिक चलखेल लगायत अन्य आरोप पनि लगाइएका छन्।

सोडारीलाई हटाउने निर्णय भने मंगलबार बिहान मात्रै भएको हो। नेपाल कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, सचिव लक्ष्मणदत्त जोशी तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभावशाली नेता लेखराज भट्ट लगायत मुख्यमन्त्री त्रिलोचन भट्टसहितको बैठक बसेको थियो। रावल लगायत नेताहरूले सोडारीलाई हटाउनुपर्ने भनेपछि मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री भट्टले मन्त्रीबाट सोडारीलाई बर्खास्त गरेको केही समयमा नै मन्त्रिपरिषद् बिस्तार पनि गर्ने भएका छन्। सोही बैठकबाट सोडारीले सम्हालेको मन्त्रालयमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ 'ख'बाट प्रदेशसभामा निर्वाचित कृष्ण सुवेदीलाई मन्त्री बनाउने पनि निर्णय भएको अध्यक्ष कर्ण थापाले जानकारी दिए। मन्त्रीबाट हटाइएका सोडारी सोही क्षेत्रको 'क'बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

पढ्नुहोस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.