|

बाल्टिमोर : डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बनेका छन्। भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल भएका हुन्।

रासससँगको कुराकानीका क्रममा भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताए।

भण्डारीको जीत सम्भव हुनुमा उनको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउँछन्।

उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए। गौलीले अगाडि थपे, “अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाउनुभएको छ।” 

मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन्। 

भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताए। मेरिल्याण्डमा नै बसोबास गर्दै अाएका  नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताए।

पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट विसं २०३४ मा जन्मनुभएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.