|

जनकपुरधाम : तराई मधेशको मिथिला महिलाहरूले मनाउने सबैभन्दा लोकप्रिय एवं धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रूपमा मनाइने छठ मनाइँदैछ। मंगलबार छठ पर्वको तेश्रो दिन साँझ सूर्यास्तसँगै दिइने अर्घको तयारी स्वरूप जनकपुरधामका विभिन्न पोखरी, तलाउ, कुवाँ तथा ईनारहरूमा छठका सामग्रीसहित ब्रतालु भक्तजनहरूको घुइँचो लागेको छ। 

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई-मधेश मात्र नभई पछिल्लो समयमा देशकै महत्वपूर्ण पर्वको रूपमा परिचित हुँदै गएको छठअन्तर्गत मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुभक्तजनहरू छठ घाटमा गएका छन्। छठ चैत र कार्तिकमा मनाइने भएपनि कार्तिकमा हुने छठको विशेष महत्व रहेको छ।

मूल छठ कार्तिक महिनामा मनाउने गरिए पनि त्यसको अर्को रूप चैत महिनामा समेत मनाइने परम्परा रहेको संस्कृतिविद् तथा पूर्व प्राज्ञ रामभरोष कापडी भ्रमरको भनाइ छ। चैते छठ गर्ने श्रद्धालुहरू बिहानको समयमा जनकपुरका पवित्र तलाव तथा सागरहरूजस्तै गंगासागर, धनुषसागर, दशरथ तलाउ, अंगराजसर (अरगज्जा)मा, रत्नसागर, रुकमिनीसहितका पोखरीहरूमा पूजा गर्ने गर्दछन्। धार्मिक आस्थाका साथै छोराछोरी, नातिनातिनालगायत घरपरिवारको दीर्घायुको कामनासहित चैते छठ मनाउने गरेको जनकपुरधाम बस्ने मीना कर्ण बताउँछिन्।

श्रद्धा र निष्ठाका साथ मनाइने चार दिवसीय छठको तेश्रो मंगलबार अस्ताउदो सूर्यलाई अर्घ दिइनेछ भने बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुन्छ। बिहानदेखि जनकपुरको प्रमुख एतिहासिक तथा धार्मिक पोखरीहरूमा श्रद्धालुहरूको भीड लागेको छ।

यसअघि गए राति ब्रतालुहरूले खरना सम्पन्न गरेका थिए। सूर्यलाई अर्घ दिनुभन्दा एक दिन अगाडि श्रद्धालुहरूले आफ्नो इष्ट देवलाई पूजा गर्ने परम्पराअनुसार खरना गरेका हुन्। खरनामा मीठा (सख्खड)मा बनाइएको खीर, केलालगायतका मिष्ठानहरू चढाउने गरिन्छ। जनकपुरधामको घाटहरू पोखरी तथा जलासयहरू छठ पर्वको लागि बेहुली झैँ सिगारिएको छ रातभर जाग्रामका लागि धार्मिक मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.