मुख्यमन्त्री भन्छन् : सोडारीमा पदीय मर्यादा र कार्यकुशलता देखिएन

|

कैलाली : सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई सपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुखको उपस्थितिमा सुवेदीलाई सपथ गराइएको हो। सपथग्रहण पछि नवनियुक्त मन्त्री सुवेदीले आफ्नो जिम्मेवारी कुशलता पूर्वक बहन गर्ने बताएका छन्। ‘मलाई ठूलो जिम्मेवारी आएको छ। मैले त्यसलाई सफल ढंगले निभाउने छु’, नवनियुक्त मन्त्री सुवेदीले बताए।

मुख्यमन्त्री भट्टले यसअघि सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरेर सुवेदीलाई नियुक्त गरेका हुन्। मन्त्री सोडारीले पदीय मर्यादाविपरीत काम गरेको आरोप लागेको छ। ‘पदीय मर्यादा र काममा कुशलता नआएपछि उहाँलाई हटाइएको हो’ मुख्यमन्त्री भट्टले सोडारीलाई हटाउनुको कारण बताए।

पूर्वमन्त्री सोडारीले गत वर्ष फागुन ३ गते सामाजिक विकासमन्त्रीको सपथग्रहण गरेका थिए। मन्त्री सोडारी बेलाबेलामा अन्तरिक विवादमा तानिदै आएका थिए। २४ गते भाइटीकाको दिन सोडारीले चढ्दै आएको सरकारी गाडी दुर्घटना पछि उनी झन् विवादित भएका थिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा से ३ प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा एकजना घाइते भएका थिए।

नवनियुक्त मन्त्री सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने पूर्वमन्त्री सोडारी सोही क्षेत्रको ‘क’बाट निर्वाचित हुन्।

पढ्नुहोस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.