|

काठमाडौं : तिहारगत्तै षष्ठी तिथिका दिन मनाइने छठ पर्वको तेस्रो दिन मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ। तराईमा मनाइने पर्वमा पहाडी समुदायका मानिसले पनि मनग्ये सहभागिता जनाएका छन्।

घरमा शुद्ध एवं चोखो रूपमा सख्खर (मिठा) ले तयार पारिएको ठेकुवा, भुसुवा, मिष्ठान परिकार, नरियल, केरालगायतका पूजा सामग्रीसहित जलाशयमा पुगेका व्रतालुहरू एकसाथ सामूहिक रूपमा अर्घ दिएका छन्।

विराटनगरस्थित नहरमा छठ मनाइरहेकी कल्पना सरदाले आफूलाई छठ माता साक्षत लागेको बताइन्। उनले छठ व्रत लिएपछि सन्तान पाएको र आफूले चिताएको पुगेको पनि बताइन्। यस्तै विराटनगर ११ तीर्थेन्द्र न्यौपानेले पनि छठ आफूलाई साक्षत लागेको बताए। छठ पर्वको अवसरमा नहर तथा खोलामा देखिएको सर्वसाधरण व्रतालुको भीडले पनि यही पुष्टि भएको उनको भनाइ छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफैँ पनि २५औँ पटक छठको व्रत बसेका छन् भने १५ पटक दण्डप्रणाम गरेको बताइका छन्। पराजुलीले मंगलबार दण्डप्रणाम गरेका हुन्। उनले छठ साक्षात रहेको र मनोकांक्षा पूरा हुने पनि बताए। विराटनगरबासीको सुख समृद्धि र प्रगतिका लागि आफूले ब्रत लिएको पराजुलीको भनाई छ। विराटनगरका केशलीया, सिंघीया खोला, नहर, तथा विभिन्न तालमा छठको भव्य मेला लागेको छ।

त्यस्तै गरी धनुषामा पनि धुमधामका साथ मंगलबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। त्यस्तै पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने छ। भागवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ।

त्यस्तै झापाको दमकस्थित रतुवा किनारामा सयौं श्रद्धालूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। अघिल्लो वर्षको भन्दा यस वर्ष पूजाका लागि घाट निर्माणको संख्या समेत बढेको र श्रद्धालूहरुको संख्यामा पनि बृद्धी पाइएको मैथिली समाज सेवा समिति दमकका सचिव विक्रमकुमार साहाले बताए।

दमक नगरपालिका कार्यपालिका सदस्यसमेत रहेका उनले छठ पूजालाई व्यवस्थित र नमूना बनाउने प्रयासस्वरूप यस वर्ष खोला किनारमा नै प्राथमिक उपचार, सरसफाईलगायतको व्यवस्था गरिएको छ। आपत्कालीन सेवाका लागि दमक नगरपालिकाको दमकल तथा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको उनले बताए। उनका अनुसार यस वर्ष रतुवा किनारामा साढे पाँच सय घाट बनाइएको छ।

त्यस्तै छठ पर्वको तेस्रो दिन मंगलबार हेटौँडामा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ। छठ तराईमा मनाइने पर्वको रुपमा मानिए पनि पहाडी समुदायका मानिसले पनि उत्साहजनक सहभागिता जनाएका छन्। छठ पूजाको उद्घाटन प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले गरेका थिए। घरमा शुद्ध एवं चोखो रूपमा सख्खर (मिठा) ले तयार पारिएको ठेकुवा, भुसुवा, मिष्ठान परिकार, नरियल, केरालगायतका पूजा सामग्रीसहित जलाशयमा पुगेका व्रतालुहरू एकसाथ सामूहिक रूपमा अर्घ दिएका हुन्।

जिल्ला समाचारदाताको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.