|

भरतपुर : गजलकार धनराज गिरीको गजल संग्रह जरुवाजलको गृह विमोचन गरिएको छ। गजल मञ्च चितवनको आयोजनामा सगुन पार्टी प्यालेसमा कृतिको विमोचन गरिएको हो।

कवि तथा गजलकार गोविन्दराज बिनोदी, एलबी क्षेत्री र प्रभाकर पण्डितले संयुक्तरूपमा कृतिको विमोचन गरे। विमोचन कार्यक्रममा श्रष्टा गिरीले केही गजल पनि सुनाए। विभिन्न चरणमा गरेर उनले सस्वर वाचन गर्नुका साथै केही गजल गाएर प्रस्तुत गरे।

कृतिका सन्दर्भमा रहेर समालोचक रमेश प्रभातले कृतिको चिरफार गरे। 'गिरी उमेरले पाका भए पनि उनले तन्नेरी गजल लेखेका छन्,' रमेश प्रभातले भने  'समाजशास्त्रीय कोणबाट उनका गजल अझै अब्बल छन्। गजलकार गिरी चितवनमा मात्रै नभएर देशैभर प्रसिद्ध छन्। व्यवहारमा जस्तै लेखनमा पनि विशेषगरी ठट्यौली पाराका उनलाई विदेशमा रहेका नेपाली श्रष्टाले पनि उत्तिकै रूपमा चिनेका छन्।'

'धनराज मित्रताको लामो लहरा भएका मान्छे हुन्,' समालोचक रमाकान्त सापकोटाले भने,  'धनराजको साथी बन्न पाउनु जो कोहिका लागि पनि सुखद पक्ष हो।'

कवि एलबी क्षेत्रीले गिरी धेरै गजल लेख्ने स्रस्टा भए पनि उनका केही गजलमा काव्यिक सौन्दर्यताको चेत भएको दाबी गरे। कवि गोविन्दराज बिनोदीले गिरी आशुकवि भएको बताए। 'गिरीमा कुनै पनि सन्दर्भमा तुरुन्तै कविता, गजल लेख्न सक्ने क्षमता छ,' बिनोदीले भने 'उनले लेखेका गजल करेक्सन गर्न नपर्ने खालका उत्कृष्ट हुन्छन्।'

कार्यक्रममा किसान प्रेमी र द्वारिका नेपालले पनि उनका गजलमाथि बोलेका थिए। मञ्चका संस्थापकको गजल संग्रह विमोचन गर्न पाउनु संस्थाको ठूलो उपलब्धि भएको कार्यक्रमका सभापति प्रभाकर पण्डितले बताए। गजलकार गिरी गजल मञ्च चितवनका स्थापनाकालीन अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.