|

पर्वत : पर्वतको बिहादी गाउँपालिकास्थित रानीपानीकी बालिका पराजुलीले १० बर्ष अघिसम्म झण्डै दुई रोपनी खेतमा अनदी धान रोप्ने गर्थिन्। तर आजभोलि उनको घरमा यो जातको धानको बीउसम्म पनि छैन्।

पराजुली जस्तै फलेवास नगरपालिका ३ शंकरपोखरीका रामबहादुर भण्डारीले पनि ४ वर्ष अगाडिसम्म चाडपर्वमा मिठो मानिने धान झिनुवा लगाउँदै आएका थिए। तर आजभोलि उनको घरमा पनि झिनुवा जातको बीउ पनि छैन्। पछिल्लो समय हाईब्रिड धान रोप्ने चलन बढ्दै जाँदा गाउँघरमा चल्दै आएका पुराना धानका जातहरू हराउँदै गइरहेका छन्। जसका कारण पर्वतमा रैथाने जातका धान पाउनै मुस्किल बन्दै गएको छ। असारमा रोपेको धान थन्क्याउन देशैभरिका किसानलाई यतिबेला भ्याई नभ्याई छ।

किसानले भकारीमा भर्न लागेका अधिकांश धानका जातहरू भने नयाँ छन्। विकासे धान पनि भनेर चिनिने हाईब्रिड जातको धानको प्रयोग बढ्दै जाँदा अहिले अनदीसहित अन्य बहुउपयोगी र स्वादिला स्थानीय जातका धानहरू झिनुवा, गौरीया, कन्जिरा, आँगा, मन्सरा, थापाचिनी जस्ता धान फल्ने फाँटहरूमा उन्नत जातका धानहरू फलिरहेका छन्। रानीपानीकी बालिका पराजुली भन्छिन, ‘गाउँका सबैले विकासी धान धेरै फल्छ। छिटो पाक्छ फाइदा हुन्छ भनेर लोकल धान रोप्न छोडेँ। मैले पनि अनदी लगाउन छोडेर अहिले विकासी धान लगाएकी छु।’

गाउँमा अस्पताल र नजिकमा डक्टर नहुने दुर्घटनामा परेर, लडेर वा अन्य कारण हातखुट्टाका हड्डी सट्कीँदा, मर्किँदा, चर्किँदा वा भाँचिदा पनि अनदीको चामल प्रयोगमा आउने गरेको थियो। अनदीको पिठो खाएमा र हड्डी भाँचिएको ठाउँमा लेप लगाएमा हड्डी निको हुन्छ भन्ने विश्वास छ। झिनुवा चाडवाडमा मिठो खानको रुपमा खाने धान हो। आंगा, मन्सरा, थापा चिनी, जेठो बूढो, पहेँले जस्ता धानहरू मगमग बसाउने, थोरै खाए पनि अघाउने र स्वास्थ्यका लागि पनि राम्रो हुने गरेको पाका पुस्ताको अनुभव छ।

हिजोआज धेरैजसो कृषकले हाईब्रिड जातका धान धेरै फल्ने सुनेर रैथाने धान छोडेर हाईब्रिड अर्थात विकासे धान रोप्ने गरेको कृषकको भनाई छ। ‘लोकल जातको धान थोरै फल्ने र ढिलो पाक्ने गरेका कारण हाईब्रिड बिउ लगाएको हो’ कुश्मा नगरपालिका ९ कटुवाचौपारीका कृषक बिष्णु अधिकारीले भने। उन्नत प्रविधिको खेतीको नाममा कृषि कार्यालय र विभिन्न सरकारी तथा अन्य गैर सरकारी संघ संस्थाहरूले बिदेशी र नयाँ नयाँ जातका धानहरू सिफारिस गर्न थालेपछि गाउँ गाउँमा रोपिने रैथाने धान हराउँदै जान थालेका हुन्।

पछिल्ला वर्षमा खुमल ४, ८ र १०, लोकतन्त्र, रामपुर मन्सुली, राधा ७ र ९, हजिनाथ १ लगायतका धानको माग बढी हुन थालेको कृषि प्राविधिकहरू बताउँछन्। परम्परागत धानका जातहरू हराउनुको मुख्य कारण हाईब्रिड धान धेरै फल्ने, छिटो पाक्ने भएको कृषि ज्ञान केन्द्र पर्वतकी बागवानी विकास अधिकृत सोनी रानाले बताइन्।

उन्नत जातका धानले धेरै उत्पादन दिए पनि रासायनिक मलका धेरै आवश्यकता पर्ने र घरमै फलेको धानको बीउले काम नगर्ने समस्या किसानले भोग्दै आएका छन्। तर बहुउपयोगी मानिने रैथाने धानका बीउ संरक्षणमा स्थानीय तहले कुनै पनि चासो नदिएका कारण स्थानीय रैथाने धानका जात र बीउ लोप हुने अवस्थामा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.