|

काठमाडौं सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य तथा नेता दीर्घ सोडारी पार्टीबाट पनि निष्कासित भएका छन्। नेकपाको सुदूरपश्चिम कमिटीको मंगलबार साँझ बसेको बैठकले सोडारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।

सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल, सहइन्चार्ज मेटमणी चौधरी, अध्यक्ष कर्ण थापा र सचिव लक्ष्मीदत्त जोशी रहेको नेकपाको प्रदेश पदाधिकारी बैठकले पार्टीमा सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध परेका उजुरीबारे छलफल गर्दै उक्त निर्णय गरेको हो। अध्यक्ष थापाका अनुसार सोडारीले मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरेको, आचरण राम्रो नभएको र आर्थिक चलखेलका विषयमा उजुरी परेका थिए। 

अध्यक्ष थापाले थाहा खबरसँग कुरा गर्दै भने, 'उहाँको व्यक्तिगत आचरणका बारेमा पार्टीमा उजुरी परेकाले प्रदेश कमिटीको पदाधिकारी बैठकले पार्टीको साधारण सदस्यममेत नरहने गरी निस्कासन गरेको हो।' उनले थपे, 'यसमा कुनै राजनीतिक आग्रह छैन। यो उहाँको नितान्त व्यक्तिगत मामिलाका आधारमा पार्टीले गरेको निर्णय हो।'

मंगलबार बिहान बसेको प्रदेश कमिटी बैठकले मन्त्री पदबाट हटाउन मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्देशन दिएको थियो। मंगलबार नै उनलाई हटाएर मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरेका छन्। मंगलबार दिउँसो मुख्यमन्त्रीले भट्टले उनलाई सपथ ग्रहण गराइ सकेका छन्।

सोडारी प्रदेशसभा सदस्य भने कायम नै रहने छन्। उनी कैलाली क्षेत्र नम्बर ४ 'क' बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् भने नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदी सोही क्षेत्र 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.