समाज

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै उल्लासका साथ छठ पूजा (फोटो)
SHARES

कात्तिक २७, २०७५

    काठमाडौं : छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासका साथ मनाइएको छ। छठ पर्वका लागि कपिलवस्तुका छवटा छठ तटसहित तराईका क्षेत्रमा धुमधामका अस्ताउँदो सूर्यलाई एकसाथ अर्घ्य दिइएको हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व समापन हुन्छ। विगत वर्ष झैँ यो वर्ष पनि जिल्लाका ऐतिहासिक रामघाट नदी, जमुवार नदी, सिसई नदी, कृष्णनगर नगरपालिकाको पार्कको तलाउ र शिवराज नगरपालिकाको नौडिहवा पोखरीमा ब्रतालुहरूको घुइँचो लागेको छ।

    आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान् सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ। त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ।

    छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ। कपिलवस्तु नगरपालिका१ स्थित जमुवार नदीतटमा यस वर्ष १५ हजार बढीले छठको मेला भर्ने अनुमान छठ पूजा मुल समारोह समितिका संयोजक गणेशलाल कर्णले बताए।

    यता पवित्र रामघाट नदीतटमा करिब एकहजार हिन्दू धर्मावलम्बीहरूले छठ्ठीमाताको पूजाआजा गरेको स्थानीय संजय मिश्रले बताए। जिल्लाका अन्य छठस्थलमा उल्लेख्य मात्रामा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको जनाइएको छ। पछिल्लो समय यो पर्व पहाडी, मधेसी तथा मैथिली समुदायमा प्रख्यात बन्दै गएको छ।

    अस्ताउँदो सूर्यलाई अर्घ्य  दिँदै छठ पूजा

    त्यस्तै, सिरहामा पनि सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन मंगलबार कार्तिक शुक्ल षष्ठी तिथिको साँझ नदी, तलाउ पोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

    व्रतालुहरूले माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पाना लगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरी लगायतका परिकारहरु राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पर्‍याउने त कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्ने बताएका छन्।

    सुरक्षा व्यवस्था कडा

    छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाको सुरक्षा वयवस्था कडा बनाएको जनाएको छ। सिरहा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार तराइ मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ  पर्वलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी नायव उपरीक्षक खरेलले छठको घाट बनाइएका पोखरी, तलाउ, जलाशय क्षेत्रमा सादा पोशाककासहित आठ सय ५० जना प्रहरी परिचालन गरिएको बताए।

    जिल्लाको लहान, सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरको कमला लगायतका ठाउँका जमघट बढी हुने घाटहरुमा घाटहरुमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक खरेलले उल्लेख गरे। सिरहाका १७ स्थानीय तहका करिब एक सय ५९ ठाउँमा बनाइएका छठका घाटहरूमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

    मेची नदी किनारमा पनि हर्सोउल्लासका साथ छठ मनाइयो

    त्यस्तै झापाको भद्रपुरस्थित मेची नदीको किनारमा पनि अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै हर्सोउल्लासका साथ छठ पर्व मनाइएको छ। नेपाल भारतको सीमावर्ती नाकामा पर्ने मेची नदीमा नेपाल तथा भारत गरी दुवै देशका ब्रतालु परिवारले एक साथ छठ हर्सोउल्लासका साथ मनाएका हुन्।

    नेपालको जनकपुरपछिको दोस्रो स्थान ओगटन सफल भद्रपुरको मेची नदीमा यस वर्ष पनि व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो। नदी वारीपारी गरी करिब ५ हजार पूजास्थलमा पूजा सामग्री राखेर ब्रतालुहरूले पानीमा ओरलिएर गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार चढाएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए।

    यस नदीमा मधेशी समुदायबाहेक अहिले नेपाली, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायले पनि छठ पर्व मनाएका छन्। यस मेची नदीमा झापा जिल्ला मात्र नभएर नेपाल तथा भारतका विभिन्न जिल्लाबाट ५० हजार बढी भक्तजनहरुले छठ हेर्न आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए।

    जिल्ला समाचारदाताहरूको सहयोगमा

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]