|

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव २०१८ को मंगलबार यहाँ शुभारम्भ गरेकी छन्। 

महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो। सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै पुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताए। 

उनले नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकलाई यहाँ भित्र्याउन सकिने बताए। मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सकिने बताए। 

सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग (बिआरआई) अवधारणाले यिनलाई झन्नजिक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताए। 

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको उल्लेख गरे। दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्यनाटक प्रस्तुत गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.