|

भारतको गुवाहाटीमा हुने पाँचौँ संस्करणको भेट्रान फुटबल प्रतियोगिताका लागि नेपाली भेट्रान टोली बुधबार त्यसतर्फ जाँदैछ। नेपालको तर्फबाट सिएमजी भेट्रान क्लबले प्रतिस्पर्धा गर्न लागेको हो।

सीएमजी क्लब नेपालका कप्तान उपेन्द्रमान सिंहले भेट्रान फुटबल सकरात्मक भएको भन्दै निरन्तर अभ्यास हुँदै आएकाले जित निकाल्ने विश्वास व्यक्त गरे। क्लबका प्रबन्ध निर्देशक नरेन्द्र साह र पूर्व राष्ट्रिय खेलाडी तथा ‘ए’ डिभिजन लिगका संयोजक विज्ञानराज शर्माले विदाइ गरे। प्रबन्ध निर्देशक साहले खेलाडीलाई जितको शुभकामना दिँदै भेट्रान टोलीलाई आफू रहेसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

भेट्रान टोलीका कप्तान तथा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सिंहले भेट्रान टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगिताकै लागि भन्दै यू–१६ टोली र महिला राष्ट्रिय टिमसँग अभ्यास खेल खेलेको बताए। ‘सबै फुटबल खेल्दाका साथीहरू भएकाले रमाइलोसँगै समन्वय पनि मिल्छ भने विश्वास छ’, उनले भने। उनले टोली च्याम्पियन भएर फर्किने विश्वास व्यक्त गरे।

युनाइटेड ब्रदर्श क्लबको आयोजनामा हुन लागेको पाँचौ संस्करणको भेट्रान फुटबल प्रतियोगिता १५ देखि १८ नोभेम्बरसम्म चल्नेछ। प्रतियोगितामा नेपालसहित, भारतको मणिपुर, कोलकाता, नयाँदिल्ली, भुटान र बंगलादेशका क्लबहरूले सहभागिता जनाउने छन्। प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ, जसमा सहभागी अाठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। हरेक टिममा कम्तीमा ४५ वर्षका तीन खेलाडी हुनुपर्ने प्रावधान छ भने सबै खेलाडी ४० वर्षमाथिका हुनेछन्।

प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले आकर्षक उपहार प्राप्त गर्नेछन।

नेपाली टोली सदस्य

उपेन्द्रमान सिंह (कप्तान), राजेश मानन्धर, बाल गोपाल महर्जन, राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यन्जनकार, चेत नारायण श्रेष्ठ, शुक्र तामाङ, रविन मान व्यन्जनकार, विजय श्रेष्ठ, एस्ट कुमार कवे, सुविन शाक्य, कर्मा छिरिङ गुरुङ, आकाश गुरुङ, उज्वल श्रेष्ठ, छन्नुराम चौधरी, सरोज कुमार थापा, नरोत्तम गौतम, सन्जित सिंह र विजय शाही।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.