फिचर

मनासलु पदमार्ग जाने सिजन, यति लाग्छ खर्च
SHARES

तस्बिर : नरेन्द्र लामा
कात्तिक २८, २०७५

    पोखरा : मनासलु पदमार्ग क्षेत्रका विभिन्न ठाउँहरु अहिले विदेशी तथा स्वदेशी पर्यटकहरुले भरिभराउ भएका छन्। घुमघामको सिजन भएकाले अहिले मनासलु पदमार्गका विभिन्न क्षेत्रमा हालसम्मकै धेरै पर्यटकहरु आएका हुन्।

    मनासलु पदमार्गमा पर्ने चुमभ्याली, लार्केपास, रुपिनाला पास पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए। ‘मनासलु घुम्न आउने पर्यटकहरुको संख्या बर्सेनि बढ्दो छ,’ लामाले भने, ‘यस वर्षको सिजन अझै केही समय बाँकी छँदै पर्यटकहरुको संख्या उकालो लागेको छ।’ यसवर्ष अक्टुबरको अन्तिमसम्म मनासलु घुम्ने पर्यटकहरुको संख्या पाँच हजार ३७७ जना पुगिसकेको छ।

    लामाका अनुसार सबैभन्दा धेरै लार्केपास गर्ने पर्यटकहरुको संख्या बढेको छ। यस वर्ष लार्केपास मात्रै चार हजार १५६ जना पर्यटकले गरिसकेका छन्। चुमभ्याली जाने १९० जना विदेशी छन्। लार्केपास र चुम दुवै ठाउँ पुग्ने पर्यटकहरु एक हजार २५ जना छन्। रुपिनाला पास गरेर चुम र जगतसम्म पुग्ने पर्यटकहरुको संख्या भने छ जना रहेको छ।

    एम्क्यापले विभिन्न तीन वटा पक्षलाई सुधार गरेपछि मनासलु आउने पर्यटकहरुको संख्यामा बढेको जनाएको छ। ‘पहिलो त यहाँ प्रचारप्रसारका काम गरियो, पदमार्गको पूर्वाधार सुधार गरियो,’ लामाले भने, ‘स्थानीयको सहयोगमा नयाँ पदमार्गको खोजी गर्‍यौँ। त्यस्तै यहाँको संस्कृतिले पनि पर्यटकहरुलाई लोभ्याउन थालेको छ।’ मनासलु क्षेत्रमा सुविधा सम्पन्न होटल, रेष्टुरेण्टहरु समेत खुलिसकेका छन्। केही निर्माणाधीन छन्।

    २०१६ मा मनासलु घुम्ने पर्यटकको संख्या चार हजार ८७२ थियो। उक्त संख्या बढेर २०१७ मा करिब सात हजार पुगेको एम्क्यापको तथ्यांकमा उल्लेख छ।

    बलिरहित क्षेत्र

    मनासलु क्षेत्रमा घुम्न आउने पर्यटकको सजिलोका लागि मनासलु क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ– माथिल्लो मनासलु क्षेत्र र तल्लो मनासलु क्षेत्र। अहिले तल्लोभन्दा माथिल्लो मनासलु बढी चर्चामा छ। जहाँ हिंसा नहुने चुम भ्याली छ। त्यसमा पनि हार मिलेर टलक्क टल्किएका हिमाल, मनासलुको हिउँ पग्लेर बनेको वीरेन्द्र ताल, काल ताल, गुम्बा, माने, चैत्य र हरिया खर्कले पर्यटकको मनलाई फुरुङ्ग पारिदिने गर्दछ।

    विशेष गरेर मनासलु हिमाल आरोहण गर्ने र लार्के भञ्याङ पास गर्ने पर्यटकहरु मात्रै उत्तरी गोरखा घुम्न पुग्ने गरेका छन्। त्यहाँ भएका अन्य पर्यटकीय क्षेत्रहरुबारे जानकारी कम भएर र रेस्टिकेट क्षेत्र भएकाले पनि पर्यटकहरु कम आउने गरेका हुन्। तिब्बतसँग जोडिएको रुइला भञ्याङ पनि गोरखामै पर्छ।

    मनासलु क्षेत्रमा तीन हजार ६०० मिटरभन्दा बढी उचाइमा थुप्रै तालतलैयाहरु छन्। विदेशीहरु विशेष गरेर हनिुमन मनाउन मनासलु हिमालको काखमा आउने गर्छन्।

    यहाँका मुख्य घुम्ने ठाउँ

    करिब १०० वर्षदेखिको जीवजन्तुको काटमार नै नहुने क्षेत्र पनि यहीं पर्छ। जसलाई चुमभ्याली भनिन्छ। यहाँ राजेन गुम्बा, मु गुम्बा, मिलारेपा थिरन् फु, रहेका छन्। उता नुब्रीमा पनि उत्तिकै मनमोहक ठाउँ छन्।

    गोम्बालोम्टाङ गणेश हिमालको बेसक्याम्प नजिकै धोरचोङ पास, कुताङ क्षेत्र, सेराङ, कालताल, इनाङ गुम्बा हिमाल चुली हिमालको फेदमा पुंगेन ग्यासियर, मनासलु बेस क्याम्प, रुइला पास, लार्के पास, काल ताल र यहाँका खर्कहरु घुम्ने मुख्य ठाउँहरु हुन्। हिउँमुनिबाट बुढी गण्डकी लुकेर बगेको दृश्य पनि उत्तिकै लोभ लाग्दो देखिन्छ।

    यस्तो छ रुट

    मनासलु क्षेत्र गोरखाको आरुघाट क्षेत्र हुँदै र लम्जुङबाट मनाङको भिम्थाङ निस्किएर लार्के पिक ५१६५ मिटर उचाइ  पास गरेर जान सकिन्छ। यसबाहेक अन्य रुटहरु पनि छन्। थोरै समय हुने जस्तै एक साता समय र त्योभन्दा बढी घुम्ने ठाउँहरुका लागि पनि रुट रहेकोे छेमकम्पारका पर्यटन व्यवसायी धावा लामाले बताए।

    काठमाडौंबाट आउनेहरु गोरखाको आरुघाट बजार वा सोती खोलामा पहिलो दिनको बास बस्छन्। त्यसपछि लापुबेंशी वा  माछाखोलामा। त्यस्तै अर्काे रुट भनेको बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला नै मिसन्छ। अर्काे धादिङकोे फुलखर्क हुँदै गोरखाको केरौँजा यार्साबाट माछा खोला नै झर्ने रुट छ। माछाखोलाबाट  दोभान पुग्न सकिन्छ।

    अर्काे दिन जगत वा फिलिम पुगेर बास बस्नुपर्ने हुन्छ। त्यहाँबाट चुमभ्याली जानेहरु लोक्पामा बास बस्ने, अर्को दिन चुम्लिङ पुगेर छेकम्पार वा राजेन गुम्बा घुम्न सकिन्छ। केही पर्यटकहरु त्यही दिन निलेमा झेरेर बास बस्न पनि सक्छन्। कोही लोक्पा भएर ड्याङबाट मनासलु विशेष क्षेत्र छिर्छन्। 

    गपबाट सुरु हुने सो क्षेत्रजानेहरु कोही ३६ सय मिटर उचाइमा रहेको काल ताल जान्छन्, कोही सेराङ। त्यस्तै ल्होबाट स्याला पनि पुग्छन्। ल्होबाट र सामागाउँबाट फरक फरक ठाउँ तर पुंगेन हिमालकै ग्ल्यासियर हेर्न एकाबिहानै पर्यटकहरु उठ्ने गर्छन्। सामागाउँबाट वीरेन्द्र ताल हुँदै मनासलुको पहिलो बेसक्याम्प घुम्न जानेहरुका लागि पनि बाटो छ। बेसक्याम्प नजानेहरु तिब्बतसँग सिमाना जोडिएको गोरखाको अन्तिम गाउँ साम्दोमा बस्न सक्छन्। त्यहाँबाट रुइला पास जान सकिन्छ। रुइलाबाट तिब्बतको कुम्दाङ बजार केही घण्टामै पुगिन्छ। त्यहाँबाट फर्केर साम्दो नै आएर धर्मशाला बास बसी भोलि लार्केपास गरेर मनाङको भिम्थाङ, धारापानी हुँदै लम्जुङ निस्किन सकिन्छ। पर्यटकलाई आकर्षण गर्ने यहाँको महत्त्पूर्ण विशेषता भनेको संस्कृति, पाहुनाको सत्कार, हिमालको दृश्य हन्।

    कति छ शुल्क ?

    चुमभ्याली जाने विदेशी पर्यटकलाई सिजनमा प्रतिव्यक्ति ३५ डलरले आठ दिनको यात्राको खर्च पुग्ने छ। अफ सिजनमा भने आठ दिनका लागि १५ डलर भए पुग्छ। 

    मनासलु घुम्न दुई जनाभन्दा कम व्यक्ति आउन सक्दैनन्। विदेशी पर्यटकका लागि दुई जना भन्दा कम भए रुट अनुमति दिइँदैन। मनासलु क्षेत्रको रेष्टिकेट क्षेत्रमा पर्यटकले एक साताको अक्टुबर महिनामा ७० डलर र त्यसबाहेकको महिनामा ३५ डलर शुल्क तिर्नुपर्छ। त्योभन्दा धेरै बसे प्रतिदिन १० डलर थप गर्नुपर्ने हुन्छ। अफ सिजन ५० डलरले विदेशी पर्यटकले एक साता मनासलु घुम्ने खर्च पु¥याउँछन्। त्यस्तै, चुमभ्यालीको रेष्टिकेट क्षेत्रमा अक्टुबरमा एक साताको प्रतिव्यक्ति ३५ डलर र अन्य समयमा २५ डलर बुझाउनु पर्छ। विदेशीहरुले मनासलु क्षेत्र घुमेबापत प्रतिव्यक्ति मनासलु संरक्षण क्षेत्र आयोजनालाई ३००० रुपैया तिर्नुपर्ने हुन्छ।

    मनासलु क्षेत्र घुम्न नेपाली नागरिक करिब ३५ हजार रुपैयाँले पुग्ने त्यहाँका होटल ब्यवसायीहरुले बताए। विदेशीलाई एक छाक खानाको ३५० देखि एक हजार रुपैयासम्म पर्छ। नेपालीलाई भने २०० रुपैयाँदेखि माथि रेट रहेको छ। रुम शुल्क भने एक रातको २०० रुपैयाँ लाग्छ। मनासलु क्षेत्रमा ठाउँठाउँमा सुविधा सम्पन्न होटलहरु पाइन्छ।

    मनासलु पदमार्गमा भारत, जापान, बेलायत, इजरायल, चीन, अमेरिकाका पर्यटकहरु बढी आउने गर्दछन्। यस पदमार्गमा फुलेका रङ्गीबिरङ्गी हिमाली फूल र त्यसको बास्नाले पर्यटकलाई झनै मोहित पार्ने गर्दछ। हिमालप्रतिको मोह, पहाडका रमणीय दृश्य र हिमालका अनुपम रंगहरूको फोटो सुट गर्न पाउँदा पर्यटक निकै खुशी हुने गर्दछन्।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]