|

रामेछाप : जिल्लाको लिखु तामाकोशी गाउँपालिका–३ की झलकमाया श्रेष्ठको हत्या अभियोगमा स्थानीयले मृतकका श्रीमान् धननारायण श्रेष्ठ र छिमेकी गोपिनी कार्कीको नाममा किटानी जाहेरी दिएका छन्। 

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काको नेतृत्वमा करिब ३००को संख्यामा नाराजुलुससहित आएका स्थानीयले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गराएका हुन्। 

झलकमायाको शव कात्तिक १९ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो। झलकमायाले आत्महत्या गरेको नभई श्रीमान् र छिमेकी कार्कीले नै हत्या गरेको दाबी गर्दै दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्। 

झलकमायाको शव पोष्टमार्टम गर्दा आत्महत्या गरेको रिपोर्ट आएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम गर्दा आत्महत्याको रिपोर्ट आएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएर शवको पुनः पोष्टमार्टम गरिएको थियो। 

शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्ट पनि आत्महत्या गरेको भनी आएपछि पोष्टमार्टमको रिपोर्ट गलत आएको भन्दै लिखु तामाकोशीका स्थानीय आन्दोलित भएका हुन्। किटानी जाहेरी दिन आएका स्थानीयले मंगलबार साँझ नाराजुलुससहित मन्थलीको देवकोटाचोकमा कोणसभा समेत गरेका थिए। 

कोणसभालाई सम्बोधन गर्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले  झलकमायाको सुनियोजित ढंगले हत्या गरिएको आरोप लगाए। मृतककी छोरी तारा श्रेष्ठले समेत आमाले अत्महत्या गरेको नभई बुबा र कार्कीले मिलेर हत्या गरेको दाबी गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.