|

सिन्धुपाल्चोक : निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आइपिओ) बिहिबारदेखि खुला हुने भएको छ। आयोजनाले एक करोड ४४ लाख कित्ता सेयर जारी गरेको हो। जसबाट एक अर्ब ४४ करोड रुपैयाँ लगानी जुट्ने आयोजनाले लक्ष्य राखेको छ। जुन कम्पनीको कुल जारी पुँजीको २४ प्रतिशत हो।

सेयर कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता खुला गरिएको आयोजनाको प्रमुख सुनिल लामाले जानकारी दिए।

पहिलो चरणमा कर्मचारी संचयकोषका सञ्चयकर्ताहरुले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १८ देखि २६ सम्म आवेदन दिन सक्ने आयोजना प्रमुख लामाले जानकारी दिए।

आयोजनामा संस्थापक सेयरधनी रहेको चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु भोटेकोसी हाइड्रोपावर कम्पनीका कर्मचारीले सेयर आवेदन दिन सक्ने जनाइएको छ।

यस्तै, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई ६० लाख कित्ता र अन्तिम चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्कासन गरिने जनाइएको छ। आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ।

हालसम्म पाँच अर्ब ९१ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको हालसम्म करिब ४२ प्रतिशत काम सम्पन्न भएको बताइएको छ। २०७६ असार १६ देखि आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.