खानेपानी, सञ्चार र विद्युतको प्रमुख समस्या

|

उदयपुर : खोटाङ, सिन्धुली, ओखलढुंगा र उदयपुरको आमुन्ने सामुन्ने पर्ने सुनकोसी नदी। त्यही नदी किनारमा घुर्मी र हर्कपुर बजारले अहिले नयाँ सहरको स्वरूप लिन थालेको छ। पलास्‍टिकको छानो हालेका झुप्रेघरहरु पक्की बन्न थालेका छन्। कुनै वेलाको कोसी गढतिरको गहत, जुनेलो, धान र मकै फल्ने पाखोमा अहिले घना मानवबस्ती छ। जुन मानवबस्तीले हर्कपुर र घुर्मीलाई परिचय बदल्दै बजारबाट सहरमा बनाउँदै छ।

ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलाई राजधानी र तराईसँग जोड्ने हर्कपुर र घुर्मी हो। उदयपुरको कटारी नगरपालिका १४ नम्बर वडामा घुर्मी पर्छ भने ओखलढुंगाको मानेभन्याभज्याङ गाउँपालिका ७ मा हर्कपुर छ। ०५७ बाट सिरहाको मिर्चैयाबाट उदयपुरको कटारी हुँदै घुर्मी भएर ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग सञ्चालनमा आएपछि घुर्मी हर्कपुरको बजार क्षेत्र बन्दै अहिले सहरमा रूपान्तरण हुन गएको हो।

पक्की पुल बनेपछि सहर

हर्कपुर र घुर्मीको बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल बनेपछि दुवै बजार सहरको परिचय बनाउन लागिपरेको स्थानीय कुमार धमला बताउँछन्। ‘सिद्धिचरण लोकमार्गले जोडिएपछि दुवै गाउँ बजार क्षेत्रमा परिणत हुँदै सहरीकरण हुन थालेको छ,’ उनले भने, ‘सुनकोसी नदीमा पक्की पुल बनेपछि एक अर्काका परिपूरक भएका छन्।’

यो स्थान पूर्वी नेपाल र भारतबाट समेत पूर्वकै पशुपतिनाथ भनेर चिनिने खोटाङ हलेसी जाने तीर्थयात्रीको पनि मुख्य मार्ग हो भने ओखलढुंगा, खोटाङ र सोलुखम्बुलाई राजधानी काठमाडौंसँग जोड्ने मध्यपहाडी लोकमार्गले हर्कपुर घुर्मी बजारलाई समेटेर सहरमा बदल्दै लगेको छ।

घुर्मी हर्कपुरका समस्या

घुर्मी हर्कपुरले व्यापारी केन्द्रको अनुहार लिएको झण्डै दुई दशक पुग्न लागेको छ। दुवै बजार क्षेत्र सहरी क्षेत्र बन्दै जाँदा खानेपानी, सञ्चार, विद्युत् र व्यवस्थित बजार क्षेत्रको सडक छैन। ‘टेलिफोन सेवा छ, नेटवर्क भनेको वेला पाइँदैन,’ घुर्मी बजार बजार व्यवस्थापक समितिका अध्यक्ष भिमबहादुर मगरले भने,  ‘दुवै बजार क्षेत्रमा खानेपानी, टेलिफोन, बजार व्यवस्थित ढलनाला, फोहोर फ्याँक्ने ठाउँ छैन।

बजारवासीले नै १५ लाख बजेट संकलन गरेर ६० किलोवाटको सोलारबाट विद्युतको आपूर्ति गर्दै आइरहेको र स्थानीय खोलाखोल्सीबाट पानीको आपूर्ति गर्दै आइरहेको अध्यक्ष मगरको भनाइ छ। ‘घुर्मी हर्कपुर बजारलाई एकीकृत सहरको रूपमा विकास गर्न सकिन्छ,’ मगरले पुन भने, ‘स्थानीय सरकार, प्रदेश र संघीय सरकारकै प्रथामिकतामा परेन।’ दुवै बजार क्षेत्रलाई जग्गा दलालहरूले मात्र प्लानिङ गरेका छन् भने व्यवस्थित बजार क्षेत्र निर्माणमा सरकारी निकायले ध्यान दिएको छैन। सुरक्षाको लागि एक प्रहरीचौकी घुर्मीमा छ। स्वास्थ्य क्षेत्रमा कुनै पनि सरकारी स्वास्थ्यचौकी छैन। निजी क्लिनिक मात्र छन्।

घडेरीको भाउ आकाशियो

बजार क्षेत्र हुँदै सहरी क्षेत्रमा फड्को मार्दै गरेको हर्कपुर घुर्मीमा घर जग्गाको मूल्य आकाशिँदै गएको छ। घुर्मीका ८० वर्षे स्थानीय धनपति धमलाले २० वर्ष अघिको जग्गाको मूल्य र अहिलेको जग्गाको मूल्यमा लाखौँ फरक आएको बताए। ‘२० वर्ष अघि १५ हजार रोपनी पर्ने जग्गा अहिले ३ लाख आना पुगेको छ,’ उनले भने, ‘गहत, मकै, धान, कोदो फल्ने खेतबारी अहिले घडेरी बनेका छन्।’

सुनसकोसी गढतिरमा पर्ने घुर्मी हर्कपुरमा काठमाडौं, विराटनगर, कटारी लगायतका घर जग्गा कारोबार गर्ने व्यवस्यायीहरूले एकमुष्ट लिएर प्लानिङ गरिरहेका छन्। जुन प्लानिङले व्यवस्थित सहर स्थापना गर्नुको साटो कुरूप सहर निर्माण गर्दै गरेको स्थानीय बुद्धिजीवीको भनाइ छ। ‘घर जग्गा कारोबारीले नाफाको लागि प्लानिङ गरिरहेका छन्,’ स्थानीयले भने, ‘सरकारी निकायबाट प्लानिङ भएको धेरै राम्रो हुने थियो भन्ने लाग्छ।’

जनप्रतिनिधिको बेवास्तामा घुर्मी हर्कपुर

उदयपुरको कटारी नगरपालिका १४ र ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका ७ मा पर्ने हर्कपुर जनप्रनिनिधिको नजरमा नपरेको सर्वसाधरणको गुनासो छ। दुवैतिरको बजार क्षेत्र सहरी रूपमा परिणत  हुँदै गए पनि जनप्रतिनिधिले विकास निर्माणमा चासो नदेखाएको स्थानीय कुमार धमला बताउँछन्। ‘दुवैतिरका जनप्रतिनिधिले खानेपानी, सञ्चार, पिच सडक, सहरको प्लानिङमा कुनै पनि योजना बनाएको देखिँदैन,’ उनले भने, ‘सिद्धिचरण लोकमार्ग, मध्पहाडी लोकमार्ग र निर्माणाधीन सुनकोसी करिडोरसम्मको संगमस्थलमा नयाँ सहर स्थापना गर्न सरकारी निकायबाट कुनै योजना ल्याइएको छैन।’

ओखलढुंगा मानेभञ्‍ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले हर्कपुरलाई वडामा छुट्याउने बजेटभन्दा अन्य बजेट नछुट्याएको बताए। ‘गाउँपालिकाको कुनै पनि बजेट विनियोजन गर्न सकिएन,’ उनले भने, ‘हर्कपुर र घुर्मीलाई एकीकृत सहरको रूपमा विकास गर्ने गरी प्रदेश र संघीय सरकारले ठोस योजना ल्याए धेरै राम्रो हुने थियो।’

उदयपुरको कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले नगरपालिकाकाले आगामी आर्थिक वर्षमा ठोस योजना ल्याउने गरी गुरु योजना बनाउन लागि परेको बताए। ‘कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ठोस योजना ल्याउने तयारी गरेको छ,’ उनले भने, ‘हर्कपुर घुर्मीलाई एकीकृत गर्ने गरी माथिल्ला सरकारबाट योजना ल्याउन पाए धेरै राम्रो हुने थियो।’

घुर्मी हर्कपुरको सम्भावना 

हर्कपुर घुर्मीको बीचमा सङ्लो सुनकोसी नदी सलल बगेको छ। नदीमा पानीजन्य उद्योगहरू खोल्ने प्रशस्त सम्भावना छ भने नदीमा र्‍याफटिङ सञ्चालन गरे पर्यटन उद्योगसमेत सञ्चालनमा ल्याउन सकिन्छ। ‘सुनकोसी नदी र घुर्मी पर्यटन, औद्योगिक क्षेत्रको विकास गर्ने प्रमुख आधार बनाउन सकिन्छ,’ स्थानीय विष्णु खत्रीले भने, ‘त्यसको लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले ध्यान दिए धेरै राम्रो हुने थियो।

सुविधासम्म होटलहरू खोले सोलुखम्बुमा रहेको सगरमाथा र पूर्वको हलेसी घुम्न आउने पर्यटनकलाई घुर्मी र हर्कपुरमा राख्न सकिने स्थानीय व्यापार व्यवसायीको भनाइ छ। ‘सडक मार्ग भएर सगरमाथा र खोटाङ हलेसी जाने पर्यटक यही बजार हुँदै जान्छन्,’ स्थानीय प्रकाश पोखरेलले भने, ‘त्यसका लागि सुविधासम्पन्न होटलहरू हुने भए धेरै राम्रो हुने थियो।’ घुर्मी सिरहाको मिर्चैया हुँदै ओखलढुंगा जोड्ने सिद्धिचण लोकमार्ग, मध्यपहाडी लोकमाग र निर्माणधीन अवस्थामा रहेको घुर्मी चतरा कोसी करिडोरको संगमस्थल हर्कपुर घुर्मी बजार  पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.