|

दमक : ‘जान्नँ म त गोर्खा भर्ती मलाया छाउनीमा’ यो गीतले किशोरावस्थाका हेमकुमार लावतीलाई विक्रमको २०४० को दशकमा यति धेरै प्रभाव पार्‍यो कि बेलायती सैनिकका छोरा उनले कहिल्यै लाहुरे हुने सपना नै देखेनन्। तीन दशकपूर्वका धेरै बेलायती सेनाका सन्तानहरूमा लाहुरे बन्ने सपना हुन्थ्यो। यसलाई गर्व र शानको विषय पनि बनाइन्थ्यो। तर उनी योभन्दा फरक देखिए। यसको कारण उनका बुबा पनि थिए। 

बेलायती सेनाका रूपमा हङ्कङ्मा खटिएका उनका बुबा दुर्गा लावती पनि परायाको दास हुनु भन्दा आफ्नै देशको कमारो हुनु बेस ठानेर बीचमै फर्किएका थिए। त्यसैले दुर्गा र विष्णुमायाका एक्ला छोरा उनले कहिल्यै गोर्खा भर्तीको सपना नै देखेनन् बरु बिरोध गरेर हिँडे। ‘गोर्खाभर्तीविरुद्ध त विद्रोह नै गरेर हिँडियो नि! राज्यले यसलाई रोक्नुपर्छ पनि भन्दै हिँडियो’, लाहुरे मोह नजाग्नुको कारण उनले थपे, ‘सबल युवाजति विदेशीको दास हुन पठाएर यो देशको समृद्धि संभव छैन भनेर हामीले त्यस बेला भनेका हौँ। के गर्नु, अवस्था त अझै उही छ।’

२०२४ सालमा पाँचथरमा जन्मिए पनि उनी सानै छँदा परिवार झापाको लखनपुर बसाइँ सर्‍यो। उनको प्रारम्भिक शिक्षा स्थानीय विष्णुकट्ठाको सिंहदेवी प्राविबाट सुरु भयो। त्यसपछि वाणी मावि हुँदै दमकको हिमालय माविबाट २०४२ सालमा एसएलसी पास गरे।

थाहै नपाई जनसांस्कृतिक अभियानमा

किशोरावस्थामा उनलाई खासै राजनीतिक चेत थिएन। तर स्वभावचाहिँ अन्याय नसहने प्रकारको थियो। मावि पढ्दा पढ्दै उनको स्वभावका कारण वामपन्थीहरूसँग संगत बढ्यो। त्यसपछि उनी तत्कालीन मालेको विद्यार्थी संगठनको प्रारम्भिक कमिटीमा सामेल भए। ‘गाउँमा आफूले जान्ने सुन्ने ठानेका सबै वामपन्थी रहेछन्’, झन्डै चार दशकअघिको सम्झना सुनाए उनले, ‘उहाँहरूले भनेको मानियो। गीत गाउने, नाच्ने खुब रहर थियो, त्यतै लागियो। पछि पो थाहा पाइयो, पत्तै नभई जनसांस्कृतिक अभियानमा लागिएछ।’ 

तर जनसांस्कृतिक अभियानमा लागेकैले उनले रुचिअनुसारको क्षेत्रमा काम गर्न पाए। ‘पंचायतकालमा सिधै पार्टीको कुरा गर्न सकिँदैनथ्यो, त्यसैले जनतामा पंचायतविरुद्ध जागरण ल्याउन नाटक र गीत संगीतको साथ खोजिन्थ्यो’, घरघरबाट तन्ना ल्याएर स्टेज बनाउँदै रातारात नाटक देखाएका दिन संझँदै उनले सुनाए, ‘एउटा नाटकको नाम नै हर्के साहु थियो, साहुलाई शासकको पक्षधरको प्रतीक बनाएर नाटक देखाइयो। त्यस बेला को निर्देशक, को कलाकार केही फरक हुने थिएन। सबै टिममै सल्लाह हुन्थ्यो, टिममै नाटक देखाइन्थ्यो।’

समय याद भएन उनलाई, पंचायतको अन्त्यको काल थियो वा प्रजातन्त्रको सुरुवाती चरण, पार्टीले नै नाटक तयार पारेको थियो– हवाईको कथा, फूलबारीको व्यथा। त्यसमा वैदेशिक रोजगारी, गोर्खा भर्तीले राष्ट्रियतामा पारेको असर देखाइएको थियो। झलनाथ खनाल (पूर्वप्रधानमन्त्री) नेतृत्वको टोलीले विभिन्न ठाउँमा उक्त नाटक देखायो। उनी पनि त्यही टोलीमा सामेल भई नाट्ययात्रामा लागे।

पहिलो नाटक, पहिलो चलचित्र

एसएलसी सकेपछि उनी कानुन पढ्न काठमाडौँ हानिए तर काठमाडौँ छिर्नुअघि नै उनमा कलाकारिताको भुत सवार भएको थियो। भर्खरै देशमा प्रजातन्त्र आएको त्यस बेला जातीय जागरण, भाषा, संस्कृतिप्रतिको चेतना प्रस्फुटन हुन थालेको थियो। त्यही बेला उनको संगत निर्देशक प्रताप सुब्बासँग भयो। उनी लिम्बू भाषाको पहिलो सार्वजनिक नाटकको तयारीमा थिए। ‘पंचायतको दमन भएको बेला जातीय तथा मातृभाषाका नाटकहरू देखाउने अवस्था नै थिएन, त्यसैले प्रजातन्त्र आएपछि मात्र यो क्रम सुरु भयो’, जातीय संस्कृति प्रस्फुटनको सुरुवाती दिन सम्झँदै उनले भने, ‘त्यही बेला प्रताप दाइ लिम्बू भाषाको पहिलो नाटक ‘कुसङ् सेमी’को तयारीमा हुनु हुँदोरहेछ। म पनि त्यसमा सामेल हुन पाएँ। नाटक त्यस बेलाको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा देखाइयो। उक्त नाटक नेपालको भाषिक, सांस्कृतिक आन्दोलनको एउटा कोशेढुंगा थियो।’

‘जनवादी स्कुलिङबाट आएको कलाकारलाई कहिल्यै पनि लोकप्रिय हुने र कमाइ हाल्ने सपना हुँदै हुँदैन’, आफ्नो सांगीतिक रुचि प्रस्ट्याउँदै उनले थपे, ‘गीत त समाज सुहाउँदो, जीवन सुहाउँदो, दर्शन भएको पनि हुनुपर्‍यो! मनोरंजन मात्रै लिने त अरू पनि उपाय छन् नि!’

लिम्बू भाषाको पहिलो नाटक ‘कुसङ् सेमी’को सहायक निर्देशक नवीन सुब्बा थिए। नाटकपछि नवीनले पहिलो लिम्बू भाषाको चलचित्र ‘तरेवा’को तयारी गरे। हेमकुमारको प्रतिभा नवीनले नाटकमै पहिचान गरेका थिए। लिम्बू भाषाको पहिलो चलचित्रका सहनायक हेमकुमारले संयोग सुनाए, ‘कस्तो भएछ संयोग भने लिम्बू भाषाको पहिलो नाटकमा पनि म समावेश भएँ, त्यसपछि नवीनजीले तरेवा बनाउनुभयो, त्यसमा पनि सहनायकका रूपमा म समावेश भएँ। तर त्यसलाई निरन्तरता दिन भने सकिएन।’

नाटकपछि चलचित्र

नाटकमा राम्रै छाप छाडेपछि उनी केही विज्ञापनहरूमा देखिए। टेलिभिजनको सुरुवाती दिनमा त्यसमा देखिने विज्ञापनमा देखिनु पनि ठूलो उपलब्धि हुन्थ्यो। प्रताप सुब्बा हुँदै नवीन सुब्बा र नवीन सुब्बा हुँदै उनको भेट राजेन्द्र सलभ र देशभक्त खनालसँग भयो। कुरा २०५० सालतिरको हो। त्यस बेला सलभको निर्देशनमा चलचित्र परिभाषाको तयारी हुँदै थियो। नेपाल ल क्याम्पसमा पनि सलभसँग भएको चिनजान र नवीनको सिफारिसले उनले ठूलै जिम्मेवारी पाए, निर्माण संयोजकको।

कलाकार हुने हुटहुटी भएका उनी सानो अभिनयमा पनि देखिए। तर जिम्मेवारी अभिनयभन्दा निर्माताको प्रतिनिधि भएर संयोजनको काम थियो। त्यसै बढी समय दिए। ‘२०५० सालतिर सिनेमा क्षेत्रमा एउटा शब्द थियो– सदेन। त्यो भने राजेन्द्र सलभको स, देशभक्त खनालको द र नवीन सुब्बाको न हो। उहाँहरू तीनै जनासँग एउटै काम गर्ने भएकाले कतिपय चलचित्रका लेखकको नाम पनि सदेन थियो। परिभाषामा पनि यस्तै थियो। चलचित्र औसत भयो तर उनलाई बढ्दै गएको पारिवारिक जिम्मेवारीले चलचित्र क्षेत्रमा रहिरहन दिएन, त्यसैले २०५१ सालमा वैदेशिक रोजगारीका लागि उनी दक्षिण कोरिया पुगे।

बाँच्न काम, जिउन गीत–संगीत

कोरिया बसाइ लामो भएन। एक वर्षकै बीचमा उनी हङकङ आए। अझैसम्म उनी हङकङमै छन्, नेपाल आउजाउ भइरहन्छ। तर उनी हङकङमा रोजगारीसँग साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि सक्रिय छन्। ‘बाँच्ने मेलोका लागि काम त गर्नै पर्‍यो तर जिउनका लागि साहित्य र संगीतले हुँदैन’, उनले भने। त्यसैले हङकङको बसाइकै क्रममा पनि उनले गीत संगीतको मोह भने त्याग्न सकेनन्। तीन वर्षअघि ‘निभाउन नआउनू आगो’ एल्बमका गीतकार बनेर उदाएका उनले फेरि अर्को एल्बम तयार पारेका छन्–‘पलहरूको जिन्दगी।’ 

लोकप्रियता र मनोरंजन भन्दा पनि जीवन र दर्शनका लागि साहित्य र संगीत छाड्न नसकेको उनको भनाइ छ। ‘जनवादी स्कुलिङबाट आएको कलाकारलाई कहिल्यै पनि लोकप्रिय हुने र कमाइ हाल्ने सपना हुँदै हुँदैन’, आफ्नो सांगीतिक रुचि प्रस्ट्याउँदै उनले थपे, ‘गीत त समाज सुहाउँदो, जीवन सुहाउँदो, दर्शन भएको पनि हुनुपर्‍यो! मनोरंजन मात्रै लिने त अरू पनि उपाय छन् नि!’

केही वर्षपछि स्वदेशमै फर्कने योजना रहेको उनले बताए छ। सन् १९९० मा हङकङ बसाइकै क्रममा मुना मादेनसँग वैवाहिक जीवनमा जोडिएका उनका दुई छोरा उतै पढ्दै हुर्किंदै छन्। अब भने उनलाई स्वदेश फर्किएर विदेशमा सिकेको सीप र ज्ञान उपयोग गर्ने रहर जागेको छ। सुरुङ तथा पुल निर्माणको क्षेत्रमा रहेका उनी हङकङको प्रविधि नेपालमा पनि विस्तार गर्न अब स्वदेशमै आउने तयारीमा रहेको बताउँछन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.