|
फाइल तस्बिर

डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ मंसिर ६ लाग्ने भएको छ।  उग्रतारा क्षेत्र विकास समितिको बैठकले उग्रतारा मेला ‘देहिजात’ मंसिर ५ गते (रतेडी) र ६ गते (दिउसेडी) लाग्ने निर्णय गरेको हो। छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि 'दिउसेडी' मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको मेला व्यवस्थापन समितिका संयोजक लोकबहादुर पालले बताए। परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ।सुदूरपश्चिमको प्रसिद्ध शक्तिपिठ उग्रतारा मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ लाई यो वर्षदेखि धार्मिक तथा पर्यटकीय महोत्सवको रूपमा गर्ने गत वर्ष घोषणा गरेको भए पनि गर्ने सकेको छैन।

उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेलाा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य वस्तु बिक्री तथा वितरणमा रोक लगाउने समितिको निर्णय छ। यदि मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा वितरण तथा सेवन गरी होहल्ला गर्ने, उश्रृंखल क्रियाकलाप गरेको पाइएमा समितिले नगद रु. ५ हजार तथा बिक्री वितरण गर्नेलाई दश हजार जरिवाना गर्ने निर्णय गरेको छ।

भगवती माताको पूजा

बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने पण्डित भोजराज भट्टले बताए।

‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजे पछि पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ ।’ पण्डित भट्टले भने।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जन विश्वास छ। वर्षमा एकपटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.