|

भक्तपुर : दिनप्रतिदिन क्यान्सरका बिरामीको संख्या बढ्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बदलिँदो जीवनशैली, खानपान र रहनसहनले क्यान्सरका बिरामीहरूको संख्या दिनप्रतिदिन वृद्धि भएको भन्दै सर्वसाधारणलाई सचेत रहन सुझावसमेत दिएका छन्।

क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाले प्रकाशन गरेको आशा स्मारिकाको १३औं अंक विमोचन कार्यक्रममा सहभागीहरूले पछिल्लो समय क्यान्सर रोगले भयावह रूप लिन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे।

स्मारिका विमोचन गर्दै प्रतिनिधीसभाका सांसद महेश बस्नेतले क्यान्सरले भयावह रूप लिन थालेको भन्दै समयमा उपचार गरे निको हुने रोगलाई हेलच्यक्राई गर्ने बानी त्याग्न आग्रह गरे। उनले भने, समयमै क्यान्सर रोग पत्ता लागेको अवस्थामा नेपालमै उपचार सम्भव छ।’ उनले नेपालीहरुको दैनिक जीवनशैली बदलिदैँ गएको र खानपान तथा रहनसहनले क्यान्सर रोगीहरूको संख्या दिनानुदिन बढ्दै गएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। क्यान्सरको उपचारका लागि सरकारले सहुलियत दिए पनि त्यो अप्रयाप्त रहेको भन्दै सांसद बस्नेतले क्यान्सरको उपचार प्रणालीलाई प्रभावकारी बनाउन महँगा उपचार सामग्रीमा सरकारले सहुलियत दिएर सस्तोमा उपचार गर्ने व्यवस्था गर्नुपर्ने बताए।

अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव बिमल कुमार होडाले सरकारले दिँदै आएको सहुलियत रकम वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। सो अवसरमा भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले क्यान्सर रोगीहरूको संख्या दिनानुदिन बढ्दै गएकोले उपचारात्मकभन्दा पनि जनसचेतिकरण अभियानलाई बढी सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले उपचार सामग्री र औषधीहरू महँगो हुँदा क्यान्सर रोगीलाई उपचार गर्न महँगो पर्ने मात्र नभई उपचार गर्नसमेत समस्या रहेको बताए।

कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक धनमान श्रेष्ठले आशा स्मारिकाको माध्यममार्फत् जनचेतना अभिवृद्धि गर्ने कार्य प्रभावकारी रूपमा गरिएको भए पनि खानपान, आहारबिहार र अहिलेको प्रतिकूल वातावरणका कारण क्यान्सर रोग भयावह बन्दै गएको बताए। उनले स्मारिकामा क्यान्सरका विज्ञ तथा वरिष्ठ डाक्टरहरू, क्यान्सरबाट प्रभावित बनेका चर्चित कलाकार, स्थानीय जनप्रतिनिधिलगायत सामाजिक अभियन्ताहरूको जानकारीमूलक लेख, रचना समावेश गरिएको उल्लेख गर्दै क्यान्सरसम्बन्धी जनसचेतिकरण अभियानलाई थप प्रभावकारी बनाउन प्रत्येक नगर र वडामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

संस्थाका सभापति श्रीधर राठौरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. रत्नकमल वैद्य, संस्थाका केन्द्रीय कोषाध्यक्ष अनन्तप्रसाद धौभडेल, उपसभापति सहना पसखल, सदस्य शिवहरी केसीलगायतले क्यान्सर रोग निवारणमा संस्थाले खेलेको भूमिका र स्मारिका प्रकाशनले पारेको प्रभावका बारेमा चर्चा गरेका थिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.