|

सिन्धुपाल्चोक : त्रिपुरा सुन्दरी गाउँपालिका- ६ टेकानपुरकी मैयाँ श्रेष्ठ उमेरले चार बीस (असी) कटिन्। उनको घरमा छोराबुहारी, नातिनातिना सबै छन् तर उनलाई अहिले ठूलो ब्रज्रपात आइपरेको छ।

परिवारको अपहेलनापछि श्रेष्ठको अवस्था दयनीय बन्दै गएको हो। ‘छोराले कुटेर कान्लाबाट तल खसालिदियो', गहभरी आँसु झार्दै उनले भनिन्, ‘अहिले न खान दिन्छ, न त बस्न नै दिन्छ।’

उमेरले असी कटिसकेको तर अझै वृद्धभत्ता पाइन्छ अरे भन्ने सुनेको मात्रै उनले बताइन्। ‘गाउँमै सरकार आएको छ। गाविस (वडा कार्यालय) गएपछि भत्ता पाउँछ भन्ने हल्ला सुनेकी थिएँ। जान्छु भन्दाभन्दै कामले भ्याइनँ, छोराले नागरिकता च्यातिदियो। अहिले बनाउन सदरमुकाम चौतारा जानुपर्छ भन्छन्। खै, कसले लग्दिन्छ र दिन्छ मलाई न्याय?'

सोही ठाउँकी देवकी बोहोराको विवाह भएको बीस वर्ष नाघेको छ तर अहिले उनका श्रीमानले अर्कै श्रीमती च्यापेर हिँडेका छन्। त्यसपछि सुरु भए उनको दुःखका दिन।

'२० वर्षको छोरा र १६ वर्षकी छोरी छन् मेरा। श्रीमानले अर्कै श्रीमती ल्याएर काठमाडौं बस्छन्। पहिले विदेश गएका थिए, आउँदा श्रीमती लिएर आएछन्। खै, कसरी हो, उनी विदेशमै भएको बेलामै विवाह दर्ता गरेको प्रमाण छ, त्यो कसको गल्ती हो कुन्नि', उनले भनिन्।

यी वेदना गत साता प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालले टेकानपुरमा आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायाधीश टीकाराम आचार्यसामु प्रस्तुत भएका हुन्। 

गाउँको विवाद गाउँमै साम्य हुने भएपछि अदालतमा आउने सामान्य खालका मुद्दामा कमी आएको न्यायाधीश आचार्यको भनाइ छ। ‘पहिले सिन्धुपाल्चोकमा धेरै घरेलु र साना खालका मुद्दा आउँथे तर अहिले गम्भीर प्रकृतिका मात्रै अदालतसम्म आउने गरेका छन्’, उनले भने।

गाउँको विवाद गाउँमै मिलाउन आफूहरूलाई ठूलो चुनौती बनेको टेकानपुरका मेलमिलापकर्ता चरित्रबहादुर श्रेष्ठले बताए। स्थानीयले नै विवाद मिलाउँदा विभिन्न खालका धम्कीहरू दिने गरेको समेत उनले बताए।

आफ्नो ठाउँको विवाद आफैँ मिल्न थालेपछि विकास निर्माणको काममा सहज भएको त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठको भनाइ छ। 'पहिले झगडाकै कारणले विकासे बजेटदेखि योजनासम्ममा असहज परिस्थिति सिर्जना हुन्थ्यो तर अहिले गाउँमै मेलमिलापकर्ता भएपछि स्थानीयमा कुनै समस्या छैन', उनले भने।

संयोजक नै बेखबर

गाउँपालिकाका न्यायिक समितिको संयोजकलाई नै गाउँपालिकाको कुनै मेलमिलापको कार्यक्रमको जानकारी नै नहुने त्रिपुरा सुन्दरी गाउँपालिका उपाध्यक्ष दुर्गादेवी नेपालले गुनासो गरिन्। 'पालिकामा यति धेरै मेलमिलापको कार्यक्रम हुँदासमेत मलाई कुनै जानकारीसमेत हुँदैन', उनले भनिन्, ‘मेलमिलापकै कार्यक्रमका लागि प्रत्येक वडामा ५० हजार रुपैयाँ विनियोजन गरेका छौँ तर पालिकामै हुने गरेको न्यायिकसम्बन्धी कार्यक्रमको जानकारीसमेत हुँदैन।’

आफ्नो पालिकामा सबैभन्दा धेरै घरेलु हिंसाका घटना हुने गरेको समेत उनले बताइन्। जनजातिको बाहुल्य भएकै कारणले जाँड-रक्सीको सेवनपछि घरेलु हिंसा धेरै हुने गरेको उनको भनाइ छ। त्यसलाई न्यूनीकरण गर्नका लागि निश्चित समयभित्र मात्रै मदिरा सेवन गर्ने पाउने निर्णय लागू गरेको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.