राष्ट्रपति पोल्यान्ड जाने, विदेशी विशिष्ठ पाहुना नेपाल आउने

|

काठमाडौं : नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढिलाइ गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। तर, उनले ढिलै भए पनि भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन्।

दुवै देशका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका र राजनीतिज्ञ सम्मिलित प्रबुद्ध समूहको प्रतिवेदन तयार भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नबुझिरहेको अवस्थमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो। बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले इपिजीको प्रतिवेदनले नेपाल र भारतबीच देखिएका समस्याहरू समाधान गर्न र सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण उपाय सुझाएको भन्दै मोदीले उक्त प्रतिवेदन बुझ्न ढिलाइ गरे पनि मोदीले उक्त प्रतिवेदन बुझ्नेमा आफू विश्वस्त रहेको बताए।

'प्रतिवेदन बुझ्ने क्रममा अलिकति ढिलाइ भएको देखिन्छ', मन्त्री ज्ञवालीले भने, 'भारतीय पक्षले अहिलेसम्म भनेको प्रधानमन्त्रीज्यू (नरेन्द्र मोदी)को व्यस्तता हो। ठूलो देशका ठूला प्रधानमन्त्रीको व्यस्तता हुने कुरा स्वाभाविक पनि होला, त्यसमा हामीले अन्यथा लिने कुरा भएन।' उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त प्रतिवेदन बुझ्ने कुरातर्फ संकेत गर्दै थपे, 'म पूर्ण विश्वस्त के कुरामा छु भने यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीज्यूले बुझ्नु पनि हुनेछ र दुवै प्रधानमन्त्रीज्यूको नेतृत्वमा यो कार्यान्वयमा पनि जानेछ।'

नेपाल र भारतबीच लामो समयदेखिका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीद्वय ओली र मोदीको पहलमा इपिजीको गठन भएको थियो। उक्त समितिले प्रतिवेदन तयार पारेको छ। नेपालका प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न कुनै बाधा नभए पनि भारतीय पक्ष प्रतिवेदनप्रति असन्तुष्ट रहेको सार्वजनिक भएको छ। प्रतिवेदनमा नेपालको चासो बढी सम्बोधन भएको भारतीय पक्षको आरोप रहेको इपिजीमा रहेका नेपाली प्रतिनिधिले बताउने गरेका छन्, जसका कारण भारतका प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न चासो नदेखाएको नेपाल पक्षको आशंका छ।

प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझेपछि सार्वजनिक गर्ने भनिए पनि त्यसका केही कुरा भने आफूलाई जानकारीमा आएको मन्त्री ज्ञवालीको भनाइ थियो। उनले उक्त प्रतिवेदन कार्यान्वयन भए नेपाल-भारत सम्बन्ध २१औँ शताब्दी सुहाउँदो हुने दाबी गरे। 'इपिजी नेपाल-भारत सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन थालिएको निकै राम्रो पहल हो', मन्त्री ज्ञवालीको दाबी थियो, 'इपिजीले नेपाल-भारत सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन ब्लू प्रिन्ट तयार गरेको छ। प्रतिवेदन कार्यान्वयन हुँदा हामीबीचका सम्बन्ध प्रगाढ र साँच्चै समस्यारहित बन्छन्।'

इपिजीमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ रहेका थिए। भारतका तर्फबाट संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सदस्यमा डा. बिसी उप्रेती, जयन्तप्रसाद र महेन्द्र पी. लामा थिए। इपिजीले नेपाल-भारतबीच भएका विभिन्न सन्धि सम्झौतालाई समयानुकूल परिमार्जन गर्न गठन गरिएको थियो। जसमा १९५० को मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न  सन्धि–सम्झौतामा नेपाल र भारतमा छलफल भएको थियो। इपिजीमा सीमा सुरक्षा र व्यवस्थापनबारेका एजेन्डामा पनि छलफल भएको थियो। इपिजीले यि विषयमा छलफल गरेर प्रतिवेदन तयार गरेको थियो।

राष्ट्रपति भण्डारी पोल्यान्ड भ्रमणमा जाने

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन मंसिर तेस्रो साता पोल्यान्ड भ्रमणमा जाने बताए। संयुक्त राष्ट्रसंघको आयोजनामा पोल्यान्डको क्याटोवाइसमा आयोजना हुने समारोहमा सहभागी हुन राष्ट्रपति मंसिर १५ देखि १९ गतेसम्म पोल्यान्डको भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपालले जलवायु परिवर्तनबाट भोग्नुपरेका समस्या राख्ने तय भएको ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीले छिट्टै हुन लागेको आफ्नो जापान र थाइल्यान्ड भ्रमणको बारेमा पनि जानकारी गराएका थिए। उनले मंसिरमा गर्न लागेको जापान भ्रमणका क्रममा नेपालमा लगानीका लागि आग्रह गर्ने बताए। जापानले नेपालमा लगानी गर्दै आएको र थप लगानीका लागि वातावरण बनाउने उनको भनाइ थियो। जापान भ्रमणमा नेपालमा लगानी ल्याउनेबारे छलफल आयोजना गरिन लागेको उनले जानकारी दिए। जापानका लगानीकर्ता पनि उक्त छलफलमा सहभागी हुने कार्यक्रम तय भएको ज्ञवालीले बताए। जापान भ्रमणमा त्यहाँ नेपाली कामदारका लागि श्रमका क्षेत्र खोजिने उनको भनाइ थियो।

'विदेशी शीर्ष तहका नेताहरूको भ्रमण तयारी भइरहेको छ'

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा छिट्टै विदेशी मुलुकका शीर्ष नेतृत्वको भ्रमण तयारी भइरहेको जानकारी दिए। उनले नेपालबाट विदेशमा धेरै भ्रमण भएको तर विदेशी नेताहरू नेपाल भ्रमणमा नआएको भन्ने जिज्ञासामा मन्त्रालयले विदेशी शीर्ष नेताहरूको भ्रमणको तयारी तीव्र पारेको बताए। उनले चीनलगायतका देशबाट नेपालमा शीर्ष तहबाटै छिट्टै भ्रमण हुने जानकारी दिए। कुन तहको भ्रमण हुन लागेको र कहिले भन्ने कुरा नखुलाए पनि उनले विकासमा साझेदार गर्ने देशका प्रमुख र चीनलगायतका देशबाट शीर्ष तहको भ्रमण हुन लागेको संकेत गरे।

मन्त्री ज्ञवालीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको नेपाल भ्रमण तय भएको र अन्य देशका नेताहरू पनि नेपाल भ्रमणमा आउने बताए। नेपालको परिवर्तनलाई नजिकबाट नियाल्न र विकासको गतिमा गइरहेको कुरा हेर्न विदेशी शीर्ष नेतृत्वको नेपाल भ्रमण हुन लागेको मन्त्री ज्ञवालीको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.