|

बिर्तामोड : जङ्गली हात्तीको आक्रमणबाट झापाको बाहुनडाँगीमा सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ। 

बाहुनडाँगी-२ को चियाबगानमा घाँस काट्दै गरेका स्थानीय ६० वर्षीय मनोहरी ढुंगेलको सोमबार बिहान ७:३० बजे जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। हात्ती आइतबार साँझ नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

‘बिहान प्रहरी र स्थानीयको टोलीले हात्तीलाई लखेट्दै थियो,’ डीएसपी रेग्मीले भने, ‘भाग्दै गरेको हात्तीले घाँस काट्दै गरेका वृद्धलाई आक्रमण गर्‍यो। सायद उहाँले पनि हात्ती आउँदै गरेको थाहा पाउनु भएन।’ 

डीएसपी रेग्मीका अनुसार यसअघि पनि धान र मकै पाक्ने समयमा ५० वटासम्म हात्ती एकैपटक बाहुनडाँगी प्रवेश गर्थे। कात्तिक १२ गते वनमन्त्री शङ्कर भण्डारीले सोलार फेन्सिङ उद्घाटन गरेपछि भने फाट्टफुट्ट मात्र हात्ती आउने गरेको उनले जानकारी दिए। ‘अहिले पनि मेची खोलापारी टन्नै हात्ती छन्,’ उनले भने, ‘ती हात्ती नेपालतर्फ छिर्न खोज्छन्, प्रहरी र स्थानीयको टोलीले रोक्ने गरेको छ, एउटा‍-एउटा चाहिँ रातिको समयमा छिरिहाल्छन्।’

हात्ती रोक्नका लागि विश्व बैङ्कको सहयोगमा निर्मित विद्युतीय तारबार (सोलार फेन्सिङ) उद्घाटन गरेयता झापामा दुईजनाको ज्यान गइसकेको छ। यसअघि सोलार फेन्सिङ उद्घाटन गरेको भोलिपल्टै (कात्तिक १३ गते) हात्तीको आक्रमणबाट झापाको गरामनीमा एकजनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.