|

बाग्लुङ : उपल्लो मुस्ताङमा अवैध रुपमा प्रयोगमा रहेका मोटरसाइकल नियन्त्रणको प्रयास थालिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रण थालेको हो। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङमा चिनियाँ मोटरसाइकल अवैध रुपमा भित्रिने गरेका छन्।

चीन र नेपालको सिमानामा रहेको कोरल्ला नाकाहुँदै भित्रिने मोटसाइकल प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। अवैध रुपमा भित्रिने मोटरसाइकलको नियन्त्रणका लागि छिमेकी तिब्बतको डोङवासेन जिल्लासँग सहकार्य गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए।

उपल्लो मुस्ताङमा वर्षौदेखि अवैध रुपमा भित्राइएका चिनियाँ मोटरसाइकल प्रयोग भइरहेका छन्। भारतबाट ल्याइएका मोटरसाइकल उपल्लो मुस्ताङ पु¥याउन कठिनाइ रहेकाले पनि चिनियाँ मोटरसाइकलको प्रयोग बढेको स्थानीयको भनाइ छ। मुस्ताङका चिनियाँ सीमा क्षेत्र छोसेर, लोमन्थाङ, छोन्हुप, चराङ, घमीलगायतका क्षेत्रका नागरिकले अवैध चिनियाँ मोटरसाइकलको प्रयोग गर्दै आइरहेका छन्।

यस क्षेत्रमा चीनसँग व्यापारिक सम्बन्ध स्थापित नहुँदा चिनियाँ मोटरसाइकलको दर्ता, भन्सार नहुँदा अवैध रुपमा भित्रिने मोटरसाइकललाई कारवाही गर्न नसकिएको प्रहरीले बताएको छ। उपल्लो मुस्ताङ तथा तिब्बतको डोङवासेन जिल्लाबीच एकापसमा व्यापार व्यवसाय गर्ने उद्देश्यले वर्षको दुईपटक लाग्ने व्यापार मेलाबाट नेपालीले चिनियाँ मोटरसाइकल खरिद गरेर ल्याउने गर्दछन्। तिब्बती क्षेत्रमा लाग्ने उक्त व्यापार मेलामा नेपालीहरुले २० देखि ५० हजार रुपैयाँमा मोटरसाइकल खरिद वा घोडा, याक, भेडा, च्याङ्ग्रासँग साट्ने गरेका छन्। यसरी ल्याइएका मोटरसाइकल उपल्लो मुस्ताङ क्षेत्रको करिब ४२ किलोमिटर क्षेत्रमा प्रयोग गरिँदै आइएको छ।

‘उपल्लो मुस्ताङमा मात्रै अहिले २०० भन्दा धेरै मोटरसाइकल अवैध रुपमा प्रयोग भैरहेका छन्’ जिल्ला प्रहरी प्रमुख खड्काले भने, ‘स्थानीय सरकार, जिल्ला प्रसाशन र यहाँका माननीयहरुसँग कुराकानी गरेर नियन्त्रणको प्रक्रियामा ल्याउने प्रयास थालेका छौं।’ कष्टकर जीवन बिताइरहेका उपल्लो मुस्ताङका सर्वसाधारणलाई सहज हुने हिसावले कानुनी प्रक्रियामा ल्याइने खड्काले बताए।

मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित प्रेमप्रसाद तुलाचनका अनुसार आफ्नै मुलुकको बजारभन्दा तिब्बती बजारको भर पर्नु परेकाले उपल्लो मुस्ताङवासीले चिनियाँ मोटरसाइकल प्रयोग गर्दै आएका छन्। चीनले नेपालको सीमासम्म सडक सञ्जाल जोडेकाले यस क्षेत्रमा चिनियाँ मोटरसाइकलको संख्या बढ्दै गइरहेको उनको भनाइ छ। 

सांसद तुलाचनका अनुसार यस क्षेत्रमा प्रयोग भएका मोटरसाइकल चोरीका नभई किनेरै ल्याइएका हुन्। त्यसैले त्यसलाई वैधानिकता दिई नयाँ आयातमा रोक लगाउन जरुरी रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.