पाँच वर्ष विदेशमा रोजगारी गरेका ऋषिराम भन्छन्, अहिले त सम्झनै मन लाग्दैन

|

पर्वत : स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशिने क्रममा कमी आएको छैन। तर विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर गाउँ फर्किएका पर्वतको बिहादी गाउँपालिका १ वहाकीका ऋषिराम भुसाल धेरैका लागि प्रेरणा बनेका छन्।

४ वर्षसम्म विदेशमा बस्दा पनि आम्दानी र श्रमबाट सन्तुष्ट हुन नसकेका भुसाल अहिले गाउँपालिका भित्रकै नमुना कृषकको रूपमा परिचित बनेका छन्। अर्काको भुमिमा बसेर पसिना बगाउनु भन्दा नेपालमै केही गर्ने भन्दै नेपाल फर्किएका उनले गोलभेँडा खेती शुरु गरे। भुसालले सात वर्षदेखि सात रोपनी जग्गामा गोलभेँडा खेती गर्दै आएका छन्।

गोलभेँडाबाट राम्रो आम्दानी हुँदा र उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएका कारण उनलाई आजभोलि विदेशी भूमि सम्झिन पनि मन लाग्दैन। ‘त्यो ठाउँ सम्झिन पनि मन लाग्दैन। आफ्नै पाराले काम गर्ने अनुमति छैन। अरुको आदेशविना सास फेर्न पनि नपाइने,' विदेशमा भोगेको दुःख पोख्दै उनले भने, ‘गत वर्ष मात्र १० लाखको गोलभेँडा बेचेँ। पाँच लाख रुपैयाँ खर्च कटाएर पाँच लाख बचत भयो।’

खाद्य बालीभन्दा तरकारीमा बढी फाइदा हुँदा मौसमी र बेमौसमी अर्गानिक गोलभेँडा खेती तथा अन्य तरकारी खेतीप्रति आकर्षित भएको उनले सुनाए। उनले उत्पादन गरेको सबै गोलभेँडा गाउँपालिकाभित्रै बिक्री हुन्छ। गोलभेँडाले राम्रो भाउ र बजार पाएका कारण पसिना बगाउँदा मख्ख देखिएका भुसाल भन्छन्, ‘खेती सुरु गर्ने बेलामा त बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो। तर आजभोलि पुर्‍याउन नै मुस्किल हुन थालेको छ।’

गोलभेँडा खेतीबाट खुसी मिले पनि गाउँमा सिचाईँको व्यवस्था नभएका कारण भने उनलाई खेतीमा केही अप्ठ्यारो परेको छ। आवश्यक मात्रामा पानीको मात्रा नपाउँदा भण्डारण गरेको पानीले काम चलाउनु पर्नेसम्मको अवस्था रहेको उनले सुनाए।

रहरलाग्दो र फराकिलो जमिनमा आर्कषक तरिकाले व्यावसायिक गोलभेँडा खेती गदै आएका भुसालले विदेशिएका युवाहरुलाई आफ्नै देशमा पसिना बगाउन सुझाव दिन्छन्। ‘यहाँ साहूसँग चर्को ब्याजमा ऋण लिएर विदेशमा तातो घाममा पसिना बगाउनु भन्दा यही देशमा कृषिमा पसिना बगाउने हो जीवन सार्थक बन्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.