|

दमक (झापा) : झापाको पुरानो व्यवसायिक केन्द्र गौरीगञ्ज गाउँपालिकामा दुई स्थानमा जग्गा भए पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन।
साविकको खजुरगाछी र हाल  गैरीगञ्ज–६ मा दुई दशकअघिनै जग्गा व्यवस्थापन गरिए पनि पूर्वाधार बनेको छैन। यस्तै, वडा नं. ३ गौरीगञ्जमा पनि झण्डै एक दशकअघि निर्माणको प्रक्रिया थालिए पनि अधुरै छ। 

अतिक्रमणमा बसपार्क

वडा नं. ३ मा ८ वर्षअघि गौरीगञ्जमा सुरु भएको बसपार्क निर्माणले गति लिन सकेको छैन। व्यवस्थित बसपार्क नहुँदा सवारी साधनहरु सडकमा नै पार्किङ गर्ने गरिँदै आएका छन्। सवारी  साधनको चाप बढे पनि व्यवस्थित बसपार्क निर्माणलाई प्राथमिकता दिइएको छैन।

साविक गौरीगञ्ज गाविसको नाममा रहेको हाटखोलाको आठ कट्ठा १० धुर जग्गामा बसपार्क निर्माण गर्न आठ वर्ष पहिले नै सुरु गरिए पनि अहिले बसपार्क निर्माणस्थलनै मानव अतिक्रमणमा परिरहेको छ।

पैदलयात्रीका साथै सवारीका साधनहरु गुड्ने सडकमा नै बस, ट्रक, अटो रिक्सा, सिटिसफारी र मारुती भ्यान लगायतका साधनहरु जथाभावी पार्किङ गर्दा आवतजावतमा समस्या हुनुका साथै फोहोरमैला समेत बढेको स्थानीय व्यापारीहरुको गुनासो छ। बसपार्क निर्माणका लागि उचित स्थानमा सरकारी जग्गा भए पनि सर्वसाधारणहरुले घर बनाएकाले जग्गा खाली गराउन चुनौती रहेको छ।

बसपार्क निर्माण गर्ने क्षेत्रमा रहेका घरहरु हटाई जग्गा खाली गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरिसकेको गाउँपालिकाले जनाएको छ। बसपार्क निर्माण गर्ने प्रक्रिया गाउँपालिकाले सुरु गरिसकेकाले आगामी वर्षभित्र निर्माण प्रक्रिया सम्पन्न हुने वडा नंं. ३ का वडाध्यक्ष मखना महतो बताउँछन्। गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका उनी बसपार्कको अभावमा गौरीगञ्जको व्यवस्थित शहरीकरणमा समस्या भएको स्वीकार्छन्। ‘यो समस्या महसुस भएको छ,’ उनले भने, ‘तर अहिले यही जग्गामै सवारी पार्किङ हुने व्यवस्था मिलाइएकाले केही सहज भने भएको छ।’ बसपार्क  निर्माण गरिने क्षेत्रमा गाउँपालिकाले सार्वजनिक शौचालय समेत निर्माण गरिसकेको उनले जनाए।

दुई दशकदेखि अलपत्र

गौरीगञ्जकै खजुरगाछीमा बसपार्कका लागि दाताहरुले प्रदान गरेको जग्गामा २०५२ सालमा करिब १७ कट्ठा जग्गा बसपार्कका लागि छुट्याएको थियो। तर अहिलेसम्म बस पार्क बन्न सकेको छैन। न त जग्गानै संरक्षण भएको छ।

तत्कालीन समयमा गौरीगञ्जमा उपुयक्त जग्गा नभएको भन्दै हाल रहेको गौरीगञ्ज बजारबाट करिब ५०० मिटर पश्चिम खजुरगाछीमा जग्गा तय गरिएको थियो। यसअघि स्थानीयवासीले प्रदान गरेको जग्गामा निजी संरचनाहरु निर्माण भएकाले हटाउन गाविसले सर्वपक्षीय समिति समेत बनाएको थियो। तर हाल सो जग्गामा बसपार्क निर्माण भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.