|

उदयपुर : त्रियुगा नगरपालिका १० का वडाध्यक्षको सिफारिसमा विदेशीलाई नागरिकता दिइएको रहस्य खुलेको छ। भारतको मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमतीलाई वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफारिसमा नागरिकता दिएको रहस्य खुलेको हो।

त्रियुगा नगरपालिका १० बस्ने दिल मोहमदकी छोरी ३१ वर्षीया लजिना खातुनलाई त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष खड्काको सिफारिसमा नागरिकता दिइएको रहस्य जिल्ला प्रशासन कार्यालयबाटै बाहिरिएको हो।

नेपालको संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वतः विदेशी हुने व्यवस्था भएपछि भारतीय नागरिकसँग बिहे गरी गएकी महिलालाई नागरिकता दिलाएका हुन्,जसमा अविवाहित भनिएको छ,’ जिल्ला प्रशासन स्रोतले भन्यो।

स्रोतका अनुसार अविवाहित भनेर नागरिकता दिलाइएकी लजिनाका दुई सन्तान छन्। २०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी लजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर १८ गते ०५२३० नम्बरको नागरिकता प्रदान गरेको हो।

२०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नागरिकता जारी गरेका छन्। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालयको सेटिङमा विदेशीलाई नागरिकता दिइएको स्थानीयको आरोप छ।

गाईघाट बोक्सेस्थित ससुरालीमै बस्दै आएका नसरुल मियाँ भारतीय नै भएको ससुरा दिल मोहमद  बताउँछन्। ‘मैले ज्वाइँको नागरिकता त बनाइदिएको होइन। छोरीको मात्र हो', उनले भने, ‘छोरी मेरो हो वडाको सिफारिस, प्रहरी सर्जमिन मुचुल्का र अविवाहित सिफारिस राखेर मैले छोरीलाई नागरिकता बनाइदिएको हुँ।’

यसो भन्छन्, प्रजिअ र वडाध्यक्ष

स्थानीय दिल मोहमद अपाङ्गता भएकी आफ्नी छोरीको नागरिकताको सिफारिस माग्न आएपछि आफूले नागरिकताको सिफारिस गरिदिएको त्रिनपा १० का वडाध्यक्ष प्रकाशकुमार खड्काले बताए। ‘गत मंसिरमा बाबु दिल मोहमद छोरीको नागरिकता बनाउन सिफारिस माग्न आएका थिए,’ उनले भने, ‘मैले बुझ्दा दिल मोहमदकै छोरी भएपछि नागरिकताको सिफारिस गरिदिएको थिए।’

पछि भारतीय नागरिकसँग विवाह गरी गएको थाहा पाएपछि लजिना खातुन विवाहित जिल्ला प्रशासन कार्यालयमा नागरिकता रद्द गर्न पत्र पठाएको वडाध्यक्ष खड्काको भनाइ छ।

नेपाली चेलीले विदेशीसँग विवाह गरेर गएपछि स्वतः विदेशी हुने प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए। ‘भारतीय नागरिकसँग विवाह गरेरपछि नेपाली नागरिता लिएको थाहा पाएपछि नागरिकता रद्दको प्रक्रिया अघि बढाएको छु,’ प्रजिअ कार्कीले भने, ‘विदेशीलाई नागरिकता दिएको बारेमा के भएको भनेर जिल्ला प्रशासन कार्यालयले छानविन सुरु पनि गरेको छ’, प्रजिअ कार्कीले भने। 

छानविनबाट दोषी ठहरे संलग्नलाई कानुन अनुसार कारबाही  हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.