|

बैतडी : विद्यालयको आर्थिक स्थितिलाई सुधार र विद्यार्थीहरुले पेसागत दक्षताका लागि पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माविका विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका छन्। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले विद्यालयमै मैनबत्ती उत्पादन गरेका हुन्।

पेसा तथा व्यवसाय विषयको प्रयोगात्मक समयमा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए। उक्त प्रयोगात्मक कक्षाबाट उत्पादन भएको मैनबत्तीबाट विद्यालयलाई राम्रै आर्थिक लाभ भएको अध्यक्ष भाटको भनाइ छ। 

विद्यालयका आठ जना शिक्षकलाई निजी स्रोतबाट तलब दिइँदै आइएको छ। विद्यार्थीहरुले उत्पादन गरेका मैनबत्ती बिक्रीबाट आएको रकमबाट निजी शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिले बताएको छ।

पेसा तथा व्यवसाय विषय अध्यापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकारी प्रयोगात्मक सिकाइबाट विद्यार्थीहरुले सात प्रकारका मैनबत्ती बनाउन सिकेको प्रधानाध्यापक नरेन्द्र भट्टले बताए। मैनबत्ती बनाउन विद्यालयले चार वटा साँचोसँगै सवा क्विन्टल मैन, धागो, रङ, प्लाष्टिक लगायतका सामानहरु खरिद गरिदिएको हो। विद्यालय सञ्चालन भएको दिन प्रयोगात्मक कक्षामा दैनिक एक घण्टा मैनबत्ती उत्पादन गर्ने गरेका उनीहरुले सार्वजनिक बिदाको दिन भने दिउँसोभर नै मैनबत्ती बनाउँदै आएका छन्।

५१ हजार आम्दानी

विद्यालयमा विद्यार्थीहरुले दशैंपछि मैनबत्ती बिक्री गरेर ५१ हजार रुपैयाँ आम्दानी गरेका छन्। त्यहाँ उत्पादित मैनबत्ती विद्यालयबाटै बिक्री हुने गरेको बताइएको छ। यसबाहेक जिल्लाका पाटन, खोडपेलगायत अन्य स्थानीय बजारहरुमा बिक्री गरिएको विद्यालयले जनाएको छ। 

अहिलेसम्म एक हजार ४०० प्याकेट मैनबत्ती बिक्री भएको प्रधानाध्यापक भट्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.