|

इलाम : जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको निर्माणाधीन काबेली कोरिडोरको काम अन्तिम चरणमा पुगेको छ। इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा भएको जग्गा विवाद स्थानीय तह र प्रशासनको पहलमा सुल्झिएसँगै अहिले तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ। पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्ने आयोजना दुई महिनामा सकिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए।

काबेली प्रसारण लाइन आयोजनाअन्तर्गत इलामको गोदक, पाँचथरको अमरपुर र झापाको लखनपुरमा सब–स्टेसन निर्माण भई दुई वर्षअघि नै चार्ज गरी सञ्चालनमा आएका छन्। पहिलो चरणको काम दुई वर्षअघि नै सकिएको कोरिडोरको काम जग्गाको मुआब्जाका कारण स्थानीयले असहमति जनाएपछि दोस्रो र तेस्रो चरणको काम अघि बढ्न सकेको थिएन।

जग्गा मुआब्जाको समस्या हल भएपछि अहिले प्रशारण लाइनको दोस्रो र तेस्रो खण्डमा अहिले धमाधम काम भइरहेको छ। दोस्रो खण्डको १२५ वटामध्ये १० वटा टावरको मात्रै फन्डेसनको काम बाँकी रहेको आयोजना प्रमुख द्विवेदीले बताए। दोस्रो खण्डमा १० वटा टावरको फन्डेसनको काम सकेर ११ किलोमिटर तार तान्न मात्रै बाँकी रहेको उनको  भनाइ छ।

‘इलामको सिद्धिथुम्का, चमैता र पाँचथरको जोरसाल खण्डमा पर्ने १९ वटा टावरमा जग्गा विवादका कारण काम रोकिएको थियो,’ उनले भने, ‘अहिले त्यही खण्डमा टावर ठड्याउने, तार टाङ्नेदेखि तारको बाटोमा सफाइ गर्ने काम हुँदैछ।’ उनका अनुसार मंसिर अन्तिमसम्म आयोजनाको सबै काम सकिन्छ र विद्युत सप्लाइको काम पूर्ण रुपमा सम्पन्न गरिनेछ। तेस्रो खण्डमा ४० वटा टावर रहेकोमा सबैको फन्डेसनको काम सकिएको र ११ किलोमिटर तार तान्ने काम मात्रै बाँकी छ। 

द्विवेदीका अनुसार मंसिर अन्तिमसम्म सबै काम सम्पन्न गर्न लागि टावरको फन्डेसन गर्ने दुई वटा, तार तान्नका लागि चार वटा र झाडी सफा गर्न दुई टोली निर्माण कम्पनीको तर्फबाट परिचालन भइरहेको छ। दोस्रो र तेस्रो खण्डअन्तर्गत इलाम, पाँचथर र तेह्रथुमको आठराई खण्डमा १६५ वटा टावर निर्माण भइसक्नेछन्। पाँच वर्षदेखि सुरु भएको आयोजनाको काम तोकिएको समयमा पूरा नभएपछि यसअघि डेढ वर्ष म्याद थप गरिएको थियो। अब भने तोकिएको समयमा आयोजना पूरा हुने प्रमुख द्विवेदीले बताए।

कोरिडोर निर्माण सम्पन्न हुनेसाथ पाँचथरको ६० मेगावाट र इलामको ७० मेगावाट विद्युत यो आयोजनामार्फत विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। अहिले इलाम–झापा खण्डमा रहेको कोरिडोरको काम सकिएकाले इलामका खोलामा उत्पादन भएको ७० मेगावाट विद्युत केन्द्रीय प्रशारणमा जोडिएको छ। 

प्रदेश १ मा विद्युत अभाव नहुने

२०० मेगावाट विद्युत प्रशारण गर्ने कोरिडोरको क्षमता रहेको आयोजना सञ्चालनमा आएपछि प्रदेश १ मा विद्युतको अभाव नहुने आयोजना प्रमुख द्विवेदीले बताए। झापाको दमकदेखि पाँचथरको अमरपुर जोड्ने काबेली कोरिडोरको ९१ किलोमिटर विद्युत प्रशारण लाइनमा जम्मा २६२ वटा विद्युतीय पोल रहनेछन्।

विश्व बैंकको दुई अर्ब ५८ करोड रुपैयाँको लगानीमा नेपाल विद्युत प्राधिकरणले कोरिडोर निर्माणको काम गरिरहेको द्विवेदीले बताए। उनका अनुसार कोरिडोरमा २९ मेगावाटको सानिमा माई हाइड्रोेपावर, ६ दशमलब २ मेगावाट क्षमताको पुवाखोला,  पञ्चकन्या माई हाइड्रोको १८ दशमलब १ मेगावाट, हिमाल दोलखा ४ दशमलब ५, जोशी हाइड्रो पावरको ३ दशमलब ५ मेगावाट, हिमाल दोलखा हाइड्रो ८ मेगावाट, पुवाखोला एकको ३ दशमलब ५ मेगावाट र पाँचथरमा निर्माणाधीन हेवाखोला ए को १५ मेगावाट विद्युत जोडिसकिएको छ।

इलाम खण्डमा निर्माण गरिएका विद्युत आयोजनको सिधै कोरिडोरमा जोडिएको छ भने पाँचथर खण्डका विद्युत आयोजनाले भने ३३ केभी प्रशारण लाइनमार्फत कोरिडोरको सबस्टेसनमा विद्युत जोडेका छन्। कोरिडोर निर्माण सम्पन्न हुनेसाथ काबेली ए को ३७ मेगावाट काबेली बि वानको २५ मेगावाट इलामको सिद्धिखोलामा निर्माण सुरु भएको १० मेगावाटको सिद्धिखोला जलविद्युत, इलाम नगरपालिका–५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७ दशमलव ८ मेगावाटको सुपरमाई जलविद्युत जोडिनेछ।

यस्तै, इलामकै सुम्बेकमा ९ दशमलब १ मेगावाटको सगरमाथा जलविद्युत आयोजना पुवाखोलामा चार मेगावाटको पुवाखोला दुई र माइबेनीमा ९ दशमलब २ मेगावाटको आयोजना पनि काम सुरु गर्ने तयारी भएकाले त्यो पनि निर्माण भएपछि कोरिडोरमा जोडिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.