|

काठमाडौं : देश विकासका लागि वैदेशिक लगानीको आवश्‍यकता राज्‍यका निकायहरूले महसुस गरेको लामो समय भएको छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)लाई आवश्‍यक पर्ने नीति नियममा पनि सरकार केन्द्रित भएको छ। विगतको तुलनामा धेरै सुधार भएको लगानीकर्ताहरू बताउने गर्छन्। तर नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भने अपेक्षित आउन सकेको छैन।

गैरआवसीय नेपालीको लगानीलाई पनि सरकारले उनीहरूको मागबमोजिम प्रत्यक्ष वैदेशिक लगानीको सुविधा दिएको छ तर एनआरएनहरूबाट पनि अपेक्षित लगानी आउन नसकेको बताइन्छ। अहिले एनआरएनको नेपालमा कति लगानी छ भन्ने सवालमा आधिकारिक तथ्यांक नभए पनि नेपाल आर्थिक पत्रकार समाजले गरेको एक अध्‍ययनअनुसार नौ जिल्लामा करिब नौ अर्ब रुपैयाँको लगानी देखिएको थियो।

प्रत्यक्ष लगानी मात्रै नभई बहुराष्ट्रिय कम्पनीहरूमा पनि नेपाली व्यवस्थापकहरू रहेका छन् भने बौद्धिक क्षेत्रमा समेत नेपालीहरूको उपस्थिति बाक्लो रहेको छ। उनीहरूको ज्ञान र सीपको प्रयोग नेपालको विकासमा लगाउन सकिने भएर पनि लगाउन नसकिएको एकथरी टिप्पणी रहेको छ। यसै सवालमा एनआरएनएले गत असोजमा नेपालमा पहिलो पटक विज्ञ सम्मेलन पनि आयोजन गरिसकेको छ। नेपालमा एनआरएनको सीप लगानी र दक्षताको सन्दर्भ र एफडिआई भित्र्याउन गर्नुपर्ने पहलका सम्बन्धमा थाहाखबरका लागि गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी जीवा लामिछानेसँग भागवत भट्टराईले गरेको कुराकानीको सार ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) र त्यसको नेतृत्वलाई व्यवसायीहरूको क्लव भन्ने आरोप लगाइयो। विगतमा एनआरएनएले काठमाडौंमा विज्ञ सम्मेलन गरिसकेको छ। यसले यो आरोपलाई चिर्न सकेको जस्तो लाग्छ?

हो, एकथरीको भनाइ यस्तै थियो। व्यवसायमा आवद्ध रहेकाहरू मात्रै संस्थाको नेतृत्व पंक्तिमा रहे भन्ने गुनासो पनि आएको थियो। एनआरएनएमा नासामा काम गर्ने, माइक्रोसफ्टमा काम गरेका लगायतको विदेशमा सिकेको सीप र दक्षता रहेको छ। यसलाई पनि नेपालको विकासमा लगाउन सकिन्छ भन्ने विषयमा विगत एक दुई वर्षदेखि छलफल भएको थियो। अहिलेको नेतृत्वमा रहनुभएका साथीहरूको मिहिनेतले अहिले नेपालमा एउटा विज्ञ सम्मेलन सम्पन्न भइसकेको छ।

धेरै क्षेत्रमा काम गरेका साथीहरू यो सम्मेलनको क्रममा आउनुभयो। सबैलाई आफ्नो संस्थाप्रतिको अपनत्व हुने नै भयो। यो सम्मेलनको कारण दूरगामी परिणाम आउनेछ भन्ने अपेक्षा राखिएको छ।

तपाईंलगायत केही गैरआवासीय नेपाली व्यवसायीलाई अपवाद मानेर भन्ने हो भने अपेक्षाकृत रूपमा नेपालमा लगानी आएको छैन। एक तहमा एनआरएनहरू धेरै बोल्छन्, काम कम गर्छन्, लगानी ल्याउँदैनन् भन्‍ने परेको छ नि होइन?

यसमा मैले पटक पटक भन्दै आएको छु। सुरुका दिनहरूमा हामी पनि अलिकति बढी उत्साहित भयौँ। हाम्रो मूल देश हो, हाम्रो जन्मभूमि हो, हाम्रो जरा यहीँ गाडिएको छ, हामीले केही गर्नुपर्छ भन्ने उत्साहका कारणले गर्दा आफ्नो क्षमता बिर्सिएर बोल्यौँ कि जस्तो लाग्छ।

 केही साथीहरूले बोल्नु पनि भएको हो। अर्को कुरा हाम्रो जुन क्षमता छ, त्यो क्षमताभन्दा बढी अपेक्षा गरिएको छ। खासमा २०४६ को परिवर्तनपछि ठूलो संख्यामा नेपालीहरू बाहिर गएका हुन्। हामीले विदेशमा पुँजी लगेको होइन, त्यही आफूले सिकेको र काम गरेको अनुभवको आधारमा केही गर्नलाई र स्थापित हुन प्रयास गरेको समुदाय हो। यो पहिलो पुस्ता भएको कारणले गर्दा पनि हामी त्यहाँ बसे पनि सपना नेपालको देखेका छौँ र देख्ने पनि हो।

हाम्रो मूल देशबाट अलग भएर बस्न सक्दैनौँ हामी। नेपालमा लामो समयसम्म द्वन्द्व भयो। त्यसपछि संक्रमणकाल भयो। यस्तो अवस्थामा हामीले पनि आफ्नो क्षमताअनुसार जन्मभूमिलाई केही गर्नुपर्छ भनेर होस्टेमा हैँसे गर्ने प्रयास गरेको समुदायको रूपमा मात्रै एनआरएनलाई बझ्नुपर्छ। एनआरएन अर्थात् विदेशमा बस्ने नेपालीहरूको समुदाय विकासको कुरामा गर्ने हो भने धेरै ठूलोमा कायापलट गर्ने गरेर विकास गर्ने क्षमता राख्दैनन्। तर हरेक नागरिकले देशको विकासका लागि आफ्नो क्षेत्रबाट केही गर्नुपर्छ। हामी अहिले बाहिर भए पनि हाम्रो क्षमताअनुसार देशको विकासमा अर्थात् आफू जन्मेको ठाउँगाउँमा केही गर्‍यौँ भने राम्रो हुन्छ।

 एनआरएन मुभमेन्टको सुरुवात पनि यही कारणले भएको हो। हामी एक्लैले धेरै ठूलो केही गर्न सक्दैनौँ तर संख्यात्मक रूपमा केही गर्न सक्छौँ।

भर्खर २५-२६ वर्ष भएको छ। अनुभव लिएर गएको होइन, पढ्न भनेर पनि गएको छ। कोही काम गर्ने भनेर गएको हो। तर पनि पछिल्लो समयमा नेपालीहरू विदेशमा सफलताका कथा आशालाग्दो रूपमा देखेको छु।

पछिल्लो समय गुणात्‍मक रूपमा पनि नेपाली समुदाय विदेशमा भएका कारणले गर्दा त्यसलाई एउटै नेटवर्कमा लिएर एकीकृत रूपमा काम गर्न सकियो भने लगानी र सामाजिक परोपकारका काम गर्न सकिन्छ र भएको पनि छ। 

हामी पहिलो पुस्ताका व्यक्तिहरू हौँ। भारतीय समुदायको कुरा गर्ने हो भने व्रिटिस राजाको बेलादेखि गएका हुन्। हामी स्थापित भएको त भर्खर २५-२६ वर्ष भएको छ। अनुभव लिएर गएको होइन, पढ्न भनेर पनि गएको छ। कोही काम गर्ने भनेर गएको हो। तर पनि पछिल्लो समय नेपालीहरू विदेशमा सफलताका कथा आशालाग्दो रूपमा देखेको छु। व्यवसायको सिलसिलामा धेरै देशहरूमा गए। नेपाली समुदाय पछिल्लो समयमा आफैँ केही गर्नुपर्छ, उद्यमशीलता धेरै विकास भएको देखियो। त्यसले गर्दा यसरी इमर्जिङ भएर आएको रिजल्ट हेर्न अझै पाँच-सात वर्ष कुर्नुपर्ला।

म चार वर्षअघि मात्रै पोर्चुगल जाँदा नेपालीहरूका चार-पाँचवटा रेष्टुरेन्टहरू देखेको थिएँ तर गत वर्ष जाँदा नेपाली आफैँले अोनरसीप लिएर चलाएका रेष्टुरेन्टहरू करिब ५०० पुगेका रहेछन्। केही वर्षको अवधिमा यति बढी परिवर्तन भएको छ कि आफैँ केही गर्नुपर्छ भनेर नेपाली जुर्मुराएका छन्। 

विदेशमा रहेका नेपालीहरू म्यानेजमेन्ट वा विजनेश अथवा बौद्धिक सर्कलमा पनि एक उचाइ हासिल गरेका छन्। त्यसलाई नेपालसँग गाँस्न नसकिएको हो कि

हामीले एउटा विश्‍वव्यापी नेटवर्क बनाएका छौँ। यो प्रकिया हो। आजको भोलि रिजल्ट आउने होइन। विस्तारै विस्तारै हुने कुरा भएको छ। केही भएको छ। लगानीको कुरा गर्ने हो भने ठूलाठूला बुहुराष्ट्रिय कम्पनीहरू हामीसँग चिनजान भएका कम्पनीहरू आउन सुरु भएको छ। ठूलो लगानी आउन नसके पनि त्यो प्रक्रिया सुरु भएको छ। बौद्धिक वर्ग पनि आफ्नो क्षमताअनुसार केही गर्नुपर्छ भनेर आइरहनुभएको छ, लागिरहनु भएको छ। यसको रिजल्ट केही समयपछि असाध्यै राम्रो आउला भनेर संभावना देखेको छु।

हामीले नेपालमा धेरै लगानी तान्न सक्छौँ भनेर भनिरहेको अवस्था छ। कतिपय नीतिगत समस्या भन्यौँ, कतिपय अस्थिरता कुरा गर्‍यौँ र लगानी आउन सकेन भन्यौँ। अहिले त यी समस्या कम भएजस्तो लाग्छ तर लगानी आउन सकेको देखिँदैन नि?

सुरुका दिनहरूमा हामीले विदेशमा बस्नेहरूको लगानीलाई पनि वैदेशिक लगानी सरहको मान्यता दिनुपर्छ भनेर उठाएका थियौँ। त्यसमा निकै सकारात्मक भएर नेपाल सरकारले २०६४ सालमा गैरआवसीय नेपालीसम्बन्धी बनेको ऐनमा सम्बोधन गरेको छ। गैरआवसीय नेपालीको लागानीलाई पनि नेपालमा वैदेशिक लगानी सरहको मान्यता दिने त्यो भनेको विभिन्न च्यानल प्रयोग गरेर नेपालमा लगानी गरेको छ भने भविष्यमा त्यसको पुँजी र आर्जन गरेको पैसा फिर्ता गरेर लैजान पाउनेछन्। यसले गर्दा कानुनी रूपमा निकै सजिलो भएको छ।

जहाँसम्म अस्थिर सरकारका कुराहरू अर्थात् सरकार फेरिइरहने समस्या थियो, गत वर्षदेखि स्थायी सरकार आएको छ, त्यसलाई हामीले निकै सकारात्मक रूपमा लिएका छौँ। नीतिगत रूपमा र सरकारको तर्फबाट खासै गुनासो गर्ने ठाउँ छैन। मैले हाम्रा साथीहरूलाई भन्ने गरेको छु- हामीले १०-१२ वर्षसम्म हाम्रा माग उठायौँ। हाम्रा मुद्दाहरूलाई सरकारले सधैँ सकरात्मक भएर हरेको छ। अब भने केही गर्ने पालो हाम्रो हो।

राज्यको निकायलाई हाम्रो विकासका लागि वैदेशिक लगानी अपरिहार्य भनेर महसुस गरेको लामो समय भएको छ। प्रतिबद्धता आउँदा अत्यन्तै ठूलो आउने लगानी आउँदा निकै कम आउने स्थिति छ, यसको पछाडि के देख्नुहुन्छ

अहिलेसम्म हामीले देखेको राजनीतिक अस्थिरता, सरकारको अस्थिरतालगायतका कारण हो। कानुनी रूपमा त्यति धेरै समस्या छ, जस्तो लाग्दैन। वर्ल्ड बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पनि सार्क राष्ट्र विजनेस गर्न नेपाल राम्रो भनेर मानिएको छ। हाम्रो नियम कानुनका हिसाबले सार्कका राष्ट्रमा नेपाल थर्ड पोजिसनमा छ, त्यसलाई नराम्रो मान्न सक्दैन। अहिले हाइड्रो पावर ठूलाठूला सिमेन्टलगायतमा धेरै ठूला ग्रुपहरूले लगानीका लागि अध्ययन गरिरहेको पाएको छु।

सरकारले उद्योगी व्यवसायीलाई पर्ने समस्या समधान गर्न लगानी ल्याउनका लागि आवश्‍यक सुधारका काम पहिल्याउन संवाद परिषद् पनि गठन गरेको छ, यसको पदेन सदस्य तपाईं पनि रहनुभएको छ, यो परिषद्लाई कसरी लिनुभएको छ?

संवाद परिषद्लाई मैले निकै पोजेटिभ रूपमा लिएको छु। संवाद परिषद् गठन भएपछि बुझ्दा सरकारका अधिकारीहरूले प्राइभेट सेक्टरका विभिन्न पंक्तिका व्यक्तिहरूलाई समेटेको छ। प्राइभेट सेक्टरका मुद्दाहरू के हुन्? कस्तो खालको वातावरणमा लगानी ल्याउन र व्यवसायको डिमान्ड गर्न सक्छ? यस विषयमा छलफल गर्‍यो भने यसले हरेक क्षेत्रमा समस्याहरू सम्बोधन गर्न सजिलो हुन्छ भनेर गठन गरेको हो। एनआरएनको कुरा गर्ने हो भने गैरआवसीय नेपालीहरूका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो र मलाई पनि पदेन सदस्य बनाएको छ। ३० जनाको कमिटी बनेको छ। त्यसले साँच्चिकै छलफलको थलो बनाएको छ।

अब देश आर्थिक रूपमा अघि बढाउनुपर्ने हो। तपाईं हामीले भनेजस्तै नेपालसँग पर्याप्त युवा शक्ति रहेको छ। सरकारले प्रत्येक वर्ष पाँच लाख युवालाई रोजगारी दिने लक्ष्य पनि लिएको छ नेपालको श्रम शक्ति र यसको उचित प्रयोगका लागि के गर्नुपर्ला जस्तो लाग्छ?

सरकारले यो लक्ष्य राख्नु आफैँमा निकै राम्रो रहेको छ। अहिलेको तुरुन्तै पाँच लाखको लक्ष्य राख्यौँ भने कमै भए पनि सहज हो। मलाई के लाग्छ भने अहिले पछिल्लो समयमा जसले जे चिज छ, त्यही चिज बेच्ने हो। हामीले चाहेर वा नचाहेर उपलब्ध स्रोत भनेको जनशक्ति हो। त्यसलाई केही समय निर्यात गर्नुपर्ने हुन्छ। बंगलादेश पाकिस्तान, युरोपका केही देशका साथै संसारभर नै श्रमशक्ति निर्यात गर्ने चलन छ। यसलाई अदक्ष कामदारलाई दक्ष बनाएर पठाउन भने सक्नुपर्छ। 

एनआरएनएको अहिलेको नेतृत्वलाई के सुझाव दिन चाहनुहुन्छ र एनआरएनहरूलाई के भन्न चाहनुहुन्छ?

संस्थाका स्थापना जुन उद्देश्‍यले गरिएको हो त्यसैमा केन्द्रित हुनुपर्छ। त्यहीअनुसार चल्ने हो। हामीले उठाएका धेरै कुरा छन्। हाम्रा धेरै मागहरू पूरा भएका छन्। सामाजिक क्षेत्रमा सक्दो काम गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.