सौर्य ऊर्जाको अध्ययनका लागि चीनको टोली मुस्ताङ जाने

|

पोखरा : गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच शुक्रबार (भोलि) मितेरी साइनो गाँसिने भएको छ। गत असोज ९ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन भ्रमण गर्दै चिनियाँ टोलीलाई पोखरामा आउन निम्तो दिएका थिए। बिहीबार बसेको गण्डकी प्रदेशको २९औँ मन्त्रिपरिषदको बैठकले भगिनीसम्बन्ध गाँस्दा गरिने हस्ताक्षर पत्रसमेत स्वीकृत गरेको भौतिक पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

‘आज मन्त्रिपरिषदको २९औँ बैठकमा तीनवटा एजेण्डामा छलफल भयो,’ मन्त्रिपरिषदको बैठकपछि निर्णय सार्वजनिक गर्दै बस्नेतले भने, ‘गण्डकी प्रदेश र मित्रराष्ट्र चीनको हाइनान प्रान्तबीच भगिनी सम्बन्ध राख्न संलग्न एमओयू स्वीकृत गरी उक्त एमओयूमा प्रदेश सरकारको तर्फबाट हस्ताक्षर गर्ने अधिकारी तोक्ने निर्णय भयो।’ एमओयू पत्रमा गण्डकी सरकारको तर्फबाट सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तका तर्फबाट उक्त प्रदेशका दोस्रो व्यक्ति छु जुनले हस्ताक्षर गर्नेछन्। छु जुनकै नेतृत्वमा १५ सदस्यीय चिनियाँहरूको टोली भोलि पोखरा आँइपुग्नेछ। दिउँदो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खुल्ला कार्यक्रम नै गरेर हस्ताक्षर गरिने बस्नेतले जानकारी दिए। एमओयू पत्र नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको छ।

‘एमओयू पत्रमा प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य र सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने विषय उल्लेख गरिएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव लालमणि ओझाले भने, ‘मुख्यमन्त्रीको चीन भ्रमणपछि यसखाले सम्बन्ध कायम हुन लागेको हो। त्यस्तै भोलि नै त्यस्तै पोखरा महानगरपालिका र हाइनान सिटीबीच पनि औपचारिक रूपमा भगिनीसम्बन्ध कायम हुनेछ।’

हाइनान प्रान्तबाट आउने १५ सदस्यीय टोलीमध्ये केही शुक्रबार नै मुस्ताङ जाने कार्यक्रम छ। ‘उनीहरूको विभिन्न शीर्षकमा आफ्नो आफ्नो काम लिएर आएका छन तीमध्ये ऊर्जाको टोली भोलि नै मुस्ताङ जाने कार्यक्रम छ,’ बस्नेतले भने, ‘उनीहरूले त्यहाँ सौर्य ऊर्जाको विषयमा प्रारम्भीक अध्ययन गर्नेछन्।’

बिहीबारको बैठले नोभेम्बर २० देखि २९ गतेसम्म भारतको नयाँ दिल्लीमा मुख्य न्यायाधीवक्ताहरूको भ्रमणका लागि महान्यायधिकवक्ताको कार्यालयले गण्डकी प्रदेशको मुख्य न्यायाधिवत्ता छनोट गरेकोले भ्रमण स्वीकृत गरेको छ। त्यस्तै नोभेम्बर २१ देखि २३ सम्म श्रृलंकाको कोलम्बोमा हुने दक्षिण एशियाको जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुनको विकास कार्यशाला गोष्ठीमा भाग लिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठलाई पठाउने निर्णय गरेको छ। बिहीबारको क्याबिनेट चीनको हाइनान प्रान्तसँगको भगिनीसम्बन्ध विशेष भएको बस्नेतको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.