काठमाडौं : कार्तिक महिनाको अन्त्यसँगै हामीले वर्ष २०७५ को सात महिना पार गरिसकेका छौँ। सात महिना पार गर्दै गर्दा हलमा ५४ वटा फिल्म रिलिज भइसकेका छन्। उच्च व्यापार हुने समय दशैँ, तिहार पनि सकिइसकेको छ।
०७५ सालको सात महिना पार गर्दा केही फिल्मले मात्र लगानी बचाउन सफल छन् भने सीमित फिल्मले मात्र मुनाफा कमाएका छन्। यसै वर्ष प्रदर्शनमा आएको 'छक्का पञ्जा ३' सर्वाधिक कमाइ गर्ने फिल्म घोषित पनि भएको छ तर केही औँलामा गन्न सकिने फिल्मबाहेक अरू फिल्मको लगानी भने बालुवामा पानी जस्तै भएको छ।
सात महिनाभित्र कुनकुन फिल्म रिलिज भए र ती फिल्मले के कस्तो व्यापार गर्न सफल भए?
बैशाखका महिना : लगानी बचाउन नसकेका ९ फिल्म
२०७४ चैत ३० गते प्रदीप खड्का स्टारर फिल्म 'लिलिबिली' र दयाहाङ राई स्टारर फिल्म 'नेप्टे' प्रदर्शनमा आएका थिए। नयाँ वर्षको छेको पारेर रिलिज भएका यी दुई फिल्ममा 'लिलिबिली'ले केही हदसम्म राम्रो व्यापार गरेको थियो भने 'नेप्टे'ले दर्शकलाई हलसम्म तान्न सकेको थिएन।
नयाँ वर्ष लागेपछि रिलिज भएको पहिलो फिल्म थियो, 'स्वर्ग मेरो गाउँ।' बैशाख ७ मा प्रदर्शनमा आएको उक्त फिल्मले हलमा पानी पनि माग्न पाएन। फिल्म फ्लप भइदियो। वर्षको सुरुवात नै फ्लप फिल्मबाट भयो।
बैशाख १४ गते तीन फिल्म एक साथ रिलिज भए। 'कोहलपुर एक्सप्रेस', 'ह्याप्पी डेज' र 'पसिना।' केकी अधिकारीले निर्माण गरेको फिल्म 'कोहलपुर एक्सप्रेस'ले एक करोड रुपैयाँ व्यापार गरेको भनेर केकसमेत काट्यो तर फिल्मको व्यापार काहलीलाग्दो थियो। धेरैले उक्त केक काटेको कुराको मजाक उडाए। कोहलपुर एक्सप्रेसले हिन्दी फिल्म 'मुम्बई एक्सप्रेस'को चोरी गरेको आरोप पनि खेप्नुपरेको थियो। यस फिल्मले आफ्नो लगानी पनि बचाउन सकेको थिएन।
मिलन चाम्सले निर्देशन गरेको फिल्म 'ह्याप्पी डेज'को हालत पनि उही भयो। फिल्म रिलिज भयो तर दर्शक हलसम्म पुगेर फिल्म हेरेनन्। दयाहाङ राई, प्रियंका कार्की जस्ता स्टार कलाकार अभिनित ह्याप्पी डेजले पनि आफ्नो लगानी बचाउन सकेन।
बैशाख १४ मै रिलिज भएको फिल्म 'पसिना' त दर्शकले कहिले आयो र कहिले हलबाट बाहिरियो नै पत्तो पाएनन्।
बैशाख २१ मा दुई फिल्म रिलिज भए। निकै आश गरिएको फिल्म 'डम्मरुको डन्डिबियो' र झोला निर्देशकको फिल्म 'भोर' उक्त मितिमा रिलिज भएका थिए। खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको डम्मरुको डन्डिबियो समीक्षात्मक रूपमा पनि असफल ठहरियो। व्यापारिक रूपमा पनि उक्त फिल्म पछि पर्यो।
त्यस्तै, सामाजिक कथावस्तुलाई उठान गरेको फिल्म 'भोर' हेर्नलाई पनि दर्शक हलसम्म पुगेनन्। यस फिल्मले पनि लगानी बचाउनमा चुक्यो।
त्यस्तै, बैशाख अन्तिममा अर्थात् बैशाख २८ मा 'लम्फु', 'हिरोज' र 'मनाङ्गे नानी' रिलिज भए। तीनवटै फिल्मले पानी भन्न सकेनन्। तीनवटै फिल्मको लगानी बालुवामा पानी भनेजस्तै भयो।
जेठ महिनामा ६ फ्लप फिल्म
जेठ महिनामा छवटा फिल्म रिलिज भए तर कुनै पनि फिल्मले आफ्नो लगानी बचाउन सकेनन्। यसको मतलब जेठ महिना रिलिज भएका छवटै फिल्म फ्लप भए।
जेठ ४ गते विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको 'हैरान' रिलिज भएको थियो तर यस फिल्मले हलमा दर्शकको साथ पाएन। विश्व रेकर्डले पत्याएको निर्देशकलाई दर्शकले पत्याएनन्। फिल्म फ्लपको सूचीमा छ।
ऋचा शर्माको निर्माणमा तयार भएको फिल्म 'सुनकेसरी' जेठ ११ मा प्रदर्शनमा आयो। हरर जनरमा निर्माण भएको यो फिल्म हेर्न जान दर्शक तर्सिए। निर्माण युनिटले सुनकेसरीले एक करोड रुपैयाँ बढी कमाइ गरेको बताउँदै केक काट्न भ्याएका थिए तर वास्तविकता केलाउने हो भने यस फिल्मले लगानी बचाउन सकेको थिएन।
त्यस्तै, जेठ १८ मा तीन फिल्म रिलिज भए तर रिलिज भएका 'बेबी आइ लभ यू', 'अमेरिकन बोइज' र 'हरि' कुनैले पनि आफ्नो लगानी बचाउन सकेनन्।
असारका ६ फिल्म, एक मात्र सफल
वर्षको सुरुवातदेखि नै सबै फिल्म फ्लप हुँदै आएका छन्। त्यस्तैमा पर्यो असार ८ मा रिलिज भएको 'तिमी हुन्छौ जहाँजहाँ'। यस फिल्मले पनि हलमा दर्शक पाएन। लगानी बचाउन नसक्ने फिल्ममा यो पनि पर्न गयो। असार १५ मा रिलिज भएको फिल्म 'ए सोल्टिनी'को हाल पनि उस्तै भयो।
असार २९ गते एक साथ चार फिल्म रिलिज भए। रिलिज भएका 'वीराङ्गना', 'बाबु कान्छा' र 'यो पागल मन'को हालत दोहोरियो। तर यही मितिमा रिलिज भएको फिल्म 'बेबी'ले भने आफ्नो लगानी बचाउन सफल भयो। सुरुवाती दिनमा कमजोर व्यापार गरेको यस फिल्मको 'वर्ड अफ माउथ' राम्रो भएका कारण फिल्मले 'पिक अप' लियो। रियल स्टोरीमा बनेको यस फिल्ममा रियल जोडीको अभिनय रहेको थियो।
साउनमा आउन नसकेको दर्शकको भेल
साउनको सुरुवात ४ गते रिलिज भएका तीन फिल्म 'भैरे', 'चक्कर' र 'पण्डित बाजेको लौरी'ले गरे। तर साउनको सुरुवात पनि राम्रो हुन सकेन। तीन फिल्ममा पण्डित बाजेको लौरी समीक्षात्मक रूपमा राम्रो ठहरिँदा दर्शकबाट साथ भने पाएन। ४ गते रिलिज भएका तीनवटै फिल्म सफल हुन सकेनन्।
साउन ११ लाई आशातीत मितिका रूपमा हेरिएको थियो। उक्त मितिमा डाइङ क्यान्डल निर्देशक नरेशकुमार केसी निर्देशित फिल्म 'रोमियो एण्ड मुना' रिलिज हुँदै थियो। तर यस फिल्मले पनि दर्शकलाई निराश बनाइदियो। यस फिल्मले पनि राम्रो व्यापार गर्न सकेन।
यसै मितिमा 'ची मुसी ची' पनि रिलिज भएको थियो तर उक्त फिल्मले हलमा पानी पनि भन्न पाएन।
साउन १८ मा आर्यन सिग्देलको निर्माण तथा अभिनय रहेको फिल्म 'कायरा' रिलिज भयो। यस फिल्मलाई पनि प्रतीक्षित फिल्मका रूपमा हेरिएको थियो किनभने यस फिल्ममा चकलेटी नायक आर्यनले अहिलेकी डिमान्डेड नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहसँग जोडी बाँधेका थिए। तर यस फिल्मले पनि आशातीत व्यापार गर्न सकेन। यस फिल्मले हलमा औसत व्यापार गर्यो।
साउन १८ मा नै अर्को फिल्म 'झमकबहादुर' रिलिज भएको थियो तर यस फिल्मले गतिलो स्थान पाउन सकेन।
साउनको अन्त्य 'कहीँ कतै', 'टिन एज' र 'पिरिम पर्या छन' ले गरे। साउन २५ मा रिलिज भएका तीनवटै फिल्मले हलमा पानीसमेत भन्न पाएनन्।
भदौ महिनामा ९ फिल्म : नाफामा पुगेको नाइँ नभन्नू ल ५
भदौ १ गते तीन फिल्म 'मिस्टर भर्जिन', 'जय शम्भु' र 'ब्ल्याक' रिलिज भए तर तीनवटै फिल्मको व्यापारिक रिपोर्ट हेर्न लायक भएन। तीनवटै फिल्म असफल भए।
भदौको दोस्रो सातामा प्रतीक्षित फिल्म 'नाइँ नभन्नू ल ५' र सँगै 'रेनी' प्रदर्शनमा आए। रेनी कहिले रिलिज भयो दर्शकले पत्तो पाएनन् तर नाइँ नभन्नू ल ५ ले हलमा तहल्का पिट्यो। नाइँ नभन्नू ल ५ लाई दर्शकको राम्रो साथ मिल्यो।
हिट सिरिजको फिल्म भएका कारण पनि यो फिल्म हेर्ने दर्शकको ओइरो लाग्यो। नाइँ नभन्नू ल ५ ले लगानी मात्र बचाएन, यस फिल्मले मुनाफा पनि कमायो। वर्ष २०७५ को नाफा कमाउने पहिलो फिल्म बन्यो- नाइँ नभन्नू ल ५।
हलमा नाइँ नभन्नू ल ५ ले वर्चश्व जमाइरहँदा भदौ १५ मा 'मेरी मामु' रिलिज भयो तर यस फिल्मले पनि हलमा दर्शक पाएन। मेरी मामु फ्लप फिल्मको सूचीमा छ।
भदौ २२ गतेलाई वर्षकै ठूलो भिडन्तको रूपमा हेरिएको थियो। यस मितिमा प्रेम गीत जोडी प्रदीप खड्का र पूजा शर्माको फिल्म एकसाथ रिलिज हुँदै थिए। प्रदीप अभिनित 'रोज' र पूजा अभिनित 'रामकहानी' यस मितिमा रिलिज भए। तर रोजको व्यापार निकै कमजोर बन्यो भने रामकहानीले सन्तोषजनक व्यापार गर्न सफल भयो।
भदौको अन्त्यमा २९ गते रिलिज भएको फिल्म 'साली कसको भेनाको'ले हलमा पानी भन्न पाएन।
सर्वाधिक कमाइ गर्ने महिना असोज
असोजमा फिल्मले सन्तोषजनक सुरुवात गर्यो। असोज ५ गते रिलिज भएका तीन फिल्ममा 'बाँध मायाले' र 'धुम ३'को व्यापार हेर्न लायक भएन।
तर यसै मितिमा रिलिज भएको फिल्म 'इन्टु मिन्टु लण्डनमा'ले भने दर्शकको राम्रो साथ पायो। फिल्मको मेकिङ, प्रस्तुति र कथावस्तुलाई दर्शककले रुचाए। फिल्ममा साम्राज्ञी र धीरज मगरको मुख्य भूमिका रहेको थियो। उनीहरूको स्टारडमका कारण पनि फिल्मले इनिसियल व्यापार राम्रो गरेको थियो।
'अनुराग', 'कथा काठमाडौं', 'छिरिङ' असोज १२ गतेबाट प्रदर्शनमा आए। तर तीनवटै फिल्मको व्यापार काहालीलाग्दो छ। असोज १९ गते रिलिज भएको फिल्म 'निर्जला'को हालत त झनै खराब थियो।
तर दशैँको छेको पारेर घटस्थापनाको दिन अर्थात् असोज २४ गते फिल्म 'छक्का पञ्जा ३' रिलिज भयो। यस फिल्मले हलमा तहल्का नै पिटिदियो। फिल्म हेर्न जनसागर उर्लियो। नेपाली फिल्म हेर्ने दर्शक छैनन् भनेहरूका लागि गतिलो झापट बन्यो- 'छक्का पञ्जा ३।'
हिट सिरिज भएका कारण पनि फिल्मको इनिसियल व्यापार नै उच्च थियो। उक्त व्यापारलाई कायम गर्दै छक्का पञ्जा ३ नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्म सावित भयो। यस फिल्मले १७ दिनमा १५ करोड रुपैयाँमाथिको व्यापार गरेको थियो।
हलमा छक्का पञ्जा ३ को दवदबा रहिरहँदा असोज ३० गते अर्को प्रतीक्षित फिल्म 'जय भोले' रिलिज भयो। फूलपातीको दिनबाट रिलिज भएको यस फिल्मले पनि दर्शकको राम्रो साथ पायो। नाफा कमाउने फिल्मको सूचीमा अर्को नाम थपियो- 'जय भोले।'
कालो कार्तिक महिना
हलमा असोज महिनामै रिलिज भएका दुई फिल्म छक्का पञ्जा ३ र जय भोले हावी बनिरहेका थिए। त्यसैले दुई सातापछि मात्र कार्तिक १६ गते फिल्म 'मालिका' र 'चङ्गा चेट' रिलिज भए। रेखा थापा स्टारर मालिकाको हालत खराब छ भने मल्टिस्टारर फिल्म चङ्गा चेटले पनि सन्तोषजनक व्यापार गर्न सफल छैन। हलमा प्रदर्शनरत फिल्म चङ्गा चेटलाई पनि लगानी सुरक्षित गर्न हम्मेहम्मे परिरहेको छ।
यस्तैमा, कार्तिक ३० गते तीन फिल्म रिलिज हुँदै छन्, 'गुन गुन', 'दैलो' र 'अनुग्रह।' तर तीनवटै फिल्मको प्रचार एकदमै कमजोर छ। फिल्मको हाइप पनि निकै कमजोर छ। त्यसैले तीनवटै फिल्मले हलमा राम्रो दर्शक पाउँछन् भन्न सकिने अवस्था छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।