|

इलाम : सरकारले प्रदेश १ को पर्यटकीय गन्तव्य घोषणा गरेको इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ। समुन्द्र सतहदेखि तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा जाडो याम सुरु भएसँगै भारतको दार्जिलिङ र नेपालको इलाम सदरमुकाम भएर देश तथा विदेशका सयौँ पर्यटक दैनिक रुपमा  पुग्ने गरेका छन्। 

दर्जनौँ हिमालका दृश्य, हिमाली जीवनशैली, चराहरूको चिरबिर आवाज र सूर्योदय तथा सूर्यास्तको उत्कृष्ट दृश्यावलोकले गर्दा सन्दकपुरमा वर्षमा ६० हजारभन्दा बढी पर्यटकले भ्रमण गर्दै आएका छन्। नेपालतर्फ भौतिक पूर्वाधारको विकास कम भएका कारण भारततिरको दार्जिलिङ भएर धेरैजसो पर्यटक जाने गरेको छन्।

पर्यटकीय सिजन सुरु भएसँगै अहिले मानेभञ्ज्याङ सन्दकपुर पर्यटकीय क्षेत्रका होटलहरू खचाखच भएका छन्। पर्यटकको संख्या बढेपछि होटल व्यवसायीले आफू सुत्ने कोठासँगै होटलबाहिर टेन्ट राखेर सेवा दिँदै आएको कालपोखरीका पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताए। 

भौतिक पूर्वाधार नहुँदा समस्या

भारत र तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि भएसँगै सन्दकपुर डाँडामा पुग्ने नेपाली पर्यटकले भने बास बस्नै समस्या छ। तीन महिनाअघि नै होटल बुक गरेर पर्यटक आउने गरेकाले बुकिङ गरेकाबाहेकका पर्यटकलाई बास दिन नै समस्या भएको सन्दकपुरमा रहेको शेर्पा च्यालेट होटलका प्रोपाइटर पेमाडन्डु शेर्पाले बताए।

‘अहिले सन्दकुपुर डाँडामा दैनिक ४०० भन्दा बढी बाह्य पर्यटक आइरहेका छन्', शेर्पाले भने, ‘सबै होटलमा तीन महिनाअघि नै होटल बुक गरेका पर्यटकले भरिएकाले आन्तरिक पर्यटकलाई राख्ने ठाउँ नहुँदा नेपाली गाउँतिर पठाउने गरेका छौँ।’ 

तेस्राे मुलुकको पर्यटकको लावा लस्कर

नेपाल र भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रको मानेभञ्ज्याङ-फालौट ४२ किलोमिटर पर्यटकीय पदमार्गमा अहिले पर्यटकको लावालस्करै देखिन थालेको छ। नेपालका पाँचथर, इलाम तथा भारतको पश्चिम बंगालको सिमानामा रहेको समुन्द्र सतहबाट तीन हजार ६३६ मिटर अग्लो सन्दकपुर पूर्वी नेपालको प्रसिद्ध माई(कन्काई) नदीको मुहान भएकाले अहिले धार्मिक पर्यटकको संख्या पनि बढ्दै गएको होटल व्यवसायी रिञ्जी शेर्पाले बताए।

यो सिजन सूर्योदयको दृश्यावलोकन गर्ने भएकाले सूर्योदयसँगै सेल्फी खिच्ने पर्यटकको घुइँचो सन्दकपुर डाँडामा थामी नसक्नु छ।

कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथासँगै जोडिएको उत्तरी हिमशृंखला र दक्षिणी पहाडी र तराईका फाँटको दृश्यले यहाँ पुग्नेलाई स्वर्ग पुगेझैं लाग्नु स्वाभाविक हो। 
माई नदीको शिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो पनि उत्तिकै छ अचेल। कात्तिक-पुस महिना र चैत-वैशाख महिना सन्दकपुर जाने उत्तम सिजन मानिन्छ।

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ र ४ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रबाट सगरमाथा, कञ्चनजंगा, कुम्भकर्णका साथै भारतको पान्डिम र भुटानको कुलाकाङगी नाङगा खुला आँखाले सहज रुपमा नियाल्न सकिन्छ। नेपालतर्फबाट सुबिधा सम्पन्न सडक नभएकाले अधिकांश पर्यटक भारतीय बाटो हुँदै सन्दकपुर पुग्ने गरेका छन्। 

सन्दकपुरमा करिब ६० प्रतिशत भारतीय पर्यटक आउने गरेका छन् भने तेस्रो मुलुकका पर्यटक र नेपाली पर्यटक कम मात्रामा पुग्ने गरेको सन्दकपुरका होटल व्यवसायी छिरिङ शेर्पाले बताए। माने भञ्ज्याङ–सन्दकपुर पर्यटकीय क्षेत्रको अधिकांश भूभाग नेपालतर्फ परे पनि भौतिक संरचना निर्माण नहुँदा नेपाली पर्यटकले पनि भारतीय बाटो पयोग गर्नुपर्ने बाध्यता रहेको छ। भारतीय पक्षबाट यहाँ सीमा सुरक्षा बल, निकुञ्जको कार्यालय, प्रशासन कार्यालय रहेको यस पर्यटकीय क्षेत्रमा अहिले नेपालको कालपोखरीमा मात्र नेपाल प्रहरीको अस्थायी चौकी स्थापना गरिएको छ।  

सन्दकपुरमा १५ वटा होटल रहे पनि नेपालीका तीन वटा मात्र होटल रहेको होटल सनराइजका सञ्चालक छिरिङ दोर्जे शेर्पाले बताए। यहाँ रहेका धेरैजसो होटलहरू भारतको सरकारी निकायले निर्माण गरेका छन्। नेपाली क्षेत्रमा रहेका होटलहरूमा २०० को हाराहारीमा पर्यटक अटाउने गरेका छन् भने बाँकी पर्यटक भारतीय होटलमा बस्दै आएका छन्।

यसरी पुग्ने सन्दकपुर

दोस्रो विश्व युद्धताका बनेका ल्याण्डरोबर गाडीले सन्दकपुरसम्मको पर्यटकहरूको यात्रालाई सहज बनाइरहेको छ यहाँ। नेपालको पशुपतिनगरबाट मानेभन्ज्याङ हुँदै कालपोखरी, सन्दकपुरसम्म जाने भारतले सानो मोटर बाटो नै जोडेको छ। झन्डै ५० किलोमिटर बाटो प्रयोग गर्दै पर्यटकहरु सन्दकपुरसम्म पुग्ने गर्छन्। जुन सीमा क्षेत्रमा रहेका नेपाली नागरिकले पनि उपभोग गर्ने सडक हो।

इलाम सदरमुकामबाट माइपोखरी, माइमझुवा हुँदै जाने सडकबाट झन्डै ४५ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। यस्तै, अर्को रुट इलाम सदरमुकामबाट सुम्बेक, सुलुबुङ, माबु हुँदै जाने बाटोबाट ४० किलोमिटरको यात्रापछि सन्दकपुर पुग्न सकिन्छ। सन्दकपुर पुग्न नसक्ने अवस्था आएमा दोबाटे क्षेत्रमा सामुदायिक होमस्टे समेत संचालनमा छन्। जसमा घरको जस्तो माहोल पाउन सकिन्छ।

दुईवटा सडक भए पनि सीमाका नेपालीहरूका लागि यी सडक त्यति धेरै प्रयोगमा आउँदैनन्। ‘हिउँद लागेपछि नेपालबाट फाट्टिफुट्ट गाडी आए पनि वर्षभर भारतीय गाडी र बाटोकै भर पर्नु हाम्रो बाध्यता हो,’ कालपोखरीका दावा शेर्पा भन्छन्, ‘अहिले त पर्यटकहरू पनि असाध्यै आउँछन्। यिनीहरूलाई खुवाउन र हामीले उपभोग गर्ने दैनिक उपभोग्य सामग्री किन्न मानेभन्ज्याङ नै जानुपर्छ।’ 

नेपालको बाटो भएर झन्डै ४५ किलोमिटरमा सन्दकपुरको चुली चुम्न सकिन्छ। ‘भौगोलिक विकट क्षेत्र भएकाले सदरमुकामको बजारभन्दा सन्दकपुर क्षेत्र महँगो पर्न पर्दछ। तर तिर्न नसक्ने गरी चाहिँ हाेइन,’ स्थानीय होटल व्यवसायी पेमाडन्डु शेर्पाले भन्छन्। नेपाली पर्यटकलाई प्याकेजको रुपमा दैनिक दुई हजार नेपाली रुपैयाँ लिने गरेका होटल व्यवसायीले भारतीय र तेस्राे मुलुकका पर्यटकबाट भारतीय दुई हजार लिने गरेका छन्। सन्दकपुर क्षेत्रमा सादा खाना खाना साढे ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यसमा मासु थप गर्दा अतिरिक्त १८० रुपैयाँ पर्न जान्छ।

नेपालतर्फको बाटो ठाउँठाउँमा बिग्रिएका कारण पर्यटकहरू भारतीय बाटो प्रयोग गर्दै आएको स्थानीय सिद्धि गुरुङले बताए। उनले भने, ‘सन्दकपुर गाउँपालिकाको बिखे भञ्ज्याङ क्षेत्रमा बाटो बिग्रिएका कारण भारतको बाटो प्रयोग गर्नुपरेको हो। अहिले निर्माण कार्य भइरहेकाले केही दिनपछि भारतीय गाडीहरू समेत यही बाटो सहज रुपमा पुग्न सक्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.