|

कञ्चनपुर : बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीय किशाेरी निर्मला पन्तको न्यायको माग गर्दै धर्ना बसेका उनका आमाबुवाको स्वास्थ्यमा समस्या देखिएको छ। पाँच दिनअघि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धनार्मा बसेका निर्मलाका बुवा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्यावस्था नाजुक बन्दै गएको हो।

कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो र रुखाखोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ। दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ। उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशाेर बोहराले धर्नामा बसेका दुवै जनाको चिसोका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको बताए।

निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ। यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले धर्नामा बसेका पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। धर्नामा बसेका यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म ज्यान गए पनि धर्ना जारी रहने बताए।

साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो। हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.