|

कञ्चनपुर  : खानेपानी मन्त्री विना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग र कलुवापुर बेलौरी राजमार्ग निर्माणको कार्य छिटो अघि बढाउन निर्देशन दिएकी छन्। बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनोटका लागि गृहजिल्ला आएकी मन्त्री मगरले  हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम द्रूत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्।

‘हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनानो बढ्दै भएको छ। सडक निर्माण युद्धस्तरमा गर्नुहोस’ उनले भनिन्। मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौताअनुसार नियमित ढंगबाट निर्माण गर्नसमेत निर्देशन दिइन। 'जनताको चाहनाअनुसार सडकको काम गर्नुहोस्' मन्त्री मगरले भनिन् ‘सडक निर्माणमा गुणस्तरीय नभए सजायको भागी बन्नु पर्ला।'

बेलौरी–कलुवापुर सडकखण्ड पनि द्रूत गतिमा अघि बढाउन निर्देशन दिँदै मन्त्री मगरले काम नगर्ने निर्माण कम्पनीका विषयमा सम्बन्धित कार्यालयले कारवाही प्रकृया अघि बढाउनसमेत निर्देशन दिइन। जनताको काममा रतिभर पनि ढिलासुस्ती र लापरवाही नगर्नसमेत मन्त्री मगरले सम्बन्धित निकायलाई सचेत गराइन्।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको दैजीदेखि बेल्डाँडी –बेलौरी–पुनर्वास –डोकेबजार हुँदै कैलाली सदरमुकाम धनगढी जोड्ने ६२ किलोमिटर कच्ची सडक कालोपत्रेका लागि  बाबाहंस र शर्मा जेभी निर्माण कम्पनीले सडक कालोपत्रेका ठेक्का पाएका हुन्। दुवै निर्माण कम्पनीले ३० महिनाको अवधिमा निर्माणको काम सक्ने गरी ठेक्काको जिम्मा पाएका हुन्।

कुल १ अर्ब १७ करोड रुपैयाँको लागतमा सडकको सात मिटर चौडाई कालोपत्रे गरिने छ। ३० महिनामा कालोपत्रे सक्ने जिम्मा पाएको भएता पनि झण्डै २० महिना सक्दिन लाग्दा पनि सडकको फाउण्टेशनसमेत अहिलेसम्म निर्माण हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.