|

हेटौँडा : प्रतिनिधिसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल र सांसद विरोध खतिवडाले आफू निर्वाचित क्षेत्रको लागि विकासका योजना सार्वजनिक गरेका छन्।

बिहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका सभापति दाहाल र सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली, २०७५ बमोजिम मकवानपुरको क्षेत्र नम्बर १ का सांसद दाहाल र क्षेत्र नम्बर २ का सांसद खतिवडाले आफूहरूलाई प्राप्त चार/चार करोड रुपैयाँको २०/२० वटा योजना सार्वजनिक गरेका हुन्।

समितिका सभापति दाहाल निर्वाचित क्षेत्रमा चारवटा स्थानीय तहको लागि २० योजनासहित चार करोड विनियोजन गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै दाहालले आफू निर्वाचित बाग्मती गाउँपालिकामा एक करोड, बकैया गाउँपालिकामा एक करोड , गढी गाउँपालिकामा ५० लाख र हेटौँडा उपमहानगरपालिकामा डेढ करोडका योजना अघि सारिएको जानकारि दिए। उनले आफ्ना २० वटा योजनामध्ये १५ वटा योजना सडकको र बाँकी पाँचवटा योजना खानेपानी, शैक्षिक संस्था, पर्यटन, जलमार्ग र सिँचाइको लागि भएको बताए।

यस्तै सांसद खतिवडा निर्वाचित आठ स्थानीय तहका लागि चार करोडको योजना अघि सारिएको छ। जसमा हेटौँडा उपमहानगरपालिकाको लागि २० लाखको, थाहा नगरपालिकाको लागि ७० लाखको, कैलाश गाउपालिकाको लागि ८० लाखको, मकवानपुर गढी गाउँपालिकाको लागि ३५ लाखको र ईन्द्रसरोवर गाउपालिकाको लागि ३५ लाख रुपैयाँको योजना अघि सारिएको छ। त्यस्तै मनहरि गाउँपालिकाको लागि ५५ लाख, राक्सिराङ गाउँपालिकाको लागि ५० लाखको र भीमफेदी गाउँपालिकाको लागि ५५ लाखको विकासको योजना बनाइएको सांसद खतिवडाले पत्रकार सम्मेलनमा जानकारि दिए। उनले आफूले १० वटा सडक, ६ वटा खानेपानी, एउटा मन्दिर, एउटा स्वास्थ्य चौकी, एउटा बसपार्क र एउटा सभाहल गरी २० वटा विकासका योजना सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै समितिका सभापति दाहाल र सांसद खतिवडाले विनियोजित बजेटबाट ०.५० प्रतिशत प्रशासनीक खर्च कट्टा हुने पनि जानकारी दिए। उनीहरूले छिट्टै आफ्ना यी योजनाहरूलाई कार्यान्वयनतर्फ लैजाने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.