|

दमक, झापा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांग्रेसको नेतृत्वका लागि विकल्पको खाँचो रहेको बताएका छन्। वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने भन्दै उनले कांग्रेसलाई अब बलियो बनाउन सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पाका नेताहरूले नेतृत्व गर्न नहुने पनि बताएका हुन्।

नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले बिहीबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता रिजालले कांग्रेसमा देखिएको स्थायी गुटले पार्टीलाई कमजोर बनाउने बताए। उनले महाधिवेशनमा पार्टीभित्र विभिन्न गुट सृजना देखिए पनि त्यसले स्थायी आकार पाउनु राम्रो नभएको धारणा राखेका थिए।  गएको तीनै तहको निर्वाचनमा पार्टी खुम्चिनु लोकतन्त्रमा स्वाभाविक भएको भन्दै उनले यही परिणाम सधैँ एकैनास नहुने भएकाले कांग्रेसका हरेक कार्यकर्ताहरूमा जिम्मेवारी वोध हुनुपर्ने औँल्याए।

उनले कांग्रेसको घोषित महासमिति बैठक पार्टीहितका लागि भएको भन्दै त्यो कुनै हालतमा नसर्ने बताए। 'महासमिति बैठक सर्देन, यसले पार्टीमा नयाँ ऊर्जा दिन्छ' उनले भने।

फरक एक प्रसङ्गमा वर्तमान सरकारबाट जनताको अपेक्षा पूरा नहुने उनको आरोप थियो। नेकपाका स्वयम् नेताहरूले वर्तमान सरकारले गति लिन नसकेको भनाई सार्वजनिक भइरहेको चर्चा गर्दे डा. रिजालले भने, ‘नालायक सरकारलाई जनताको कठघरामा कांग्रसले उभ्याउने छ।’ वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको र यो नालायक भएको तुलना गर्दे उनले अगाडि भने, ‘यो सरकारलाई संविधान र जनताप्रति जवाफदेही बनाउन कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने छ।’

युनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङका प्रदेश सांसद शिवनारायण सिंह, रतुवा माई नगरपालिकाका प्रमुख रवीन राईसहित पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.